बिहीबार , माघ १० गते २०८१    
बिहीबार , माघ १० २०८१
images
images

पर्यटकीय गन्तव्य बन्दै भोजपुरको सुन्तले र बाघखोर

images
सोमबार, असोज ८ २०८०
images
images
पर्यटकीय गन्तव्य बन्दै भोजपुरको सुन्तले र बाघखोर

सडक सञ्जालको विस्तारसँगै पछिल्लो समय यहाँ चहलपहल बढ्न थालेको देखिन्छ।

images
images

भोजपुर- भोजपुर सदरमुकामबाट छोटो दुरीमा पर्ने पर्यटकीयस्थल सुन्तले र बाघखोर पर्यटकीय गन्तव्यको रुपमा स्थापित भएको छ। सदरमुकामबाट करिब दश किलोमिटर दुरीमा सुन्तले र बाह्र किलोमिटरको दुरीमा पर्ने बाघखोर मुख्य पर्यटकीय क्षेत्रको रुपमा स्थापित भएका हुन्।

images
images
images

स्थानीय परिकारको स्वाद लिँदै सगरमाथा, मकालु कञ्चनजंघा, गौरीशंकरलगायत हिम शृङ्खला, अरुण उपत्यका, अरुण नदी, साल्पासिलिछो चुचुरो, मैयुङ डाँडा, भोजपुर सदरमुकाम, टेम्केडाँडा र भोजपुर खोटाङको सिमानाको चखेवाभञ्याङको सुन्दर दृश्यावलोकन गर्न पर्यटक यहाँ पुग्ने गरेका छन्।

images

पर्यटकलाई लक्षित गरेर भ्यू टावरसँगै, वनभोज स्थलसमेत निर्माण गरिएको छ। यो स्थान समुद्री सतहदेखि करिब दुई हजार चार सय मिटरको उचाइमा अवस्थित छ। जहाँ दैनिक दर्जनौँको संख्यामा आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन्। लोकल कुखुरा र कोदोको ढिडो, तोङ्वा, सुकुटी स्थानीय आलु तथा अन्य स्थानीय परिकारको स्वाद लिन पर्यटक पुग्ने गरेका छन्।

images
images
images

भोजपुर सदरमुकाम र दिङ्ला सडक खण्डमा पर्ने यी स्थानमा पुग्नका लागि पर्यटकलाई सहजता छ। खास गरेर सहरी जीवनको व्यस्तताबाट थोरै समय लिएर घुम्न जानेको लागि सबैभन्दा उपयुक्त गन्तव्य बनेको छ। सडक सञ्जालको विस्तारसँगै पछिल्लो समय यहाँ चहलपहल पनि बढ्न थालेको देखिन्छ।

सुन्तले, बाघखोरमा राई, शेर्पा र तामाङ समुदायको बसोबास रहेको छ । स्थानीय परिकारले पनि पर्यटकलाई लोभ्याउने माध्यम बनको छ। घुम्न आउने पर्यटकको संख्यामा दिनानुदिन वृद्धि भइरहेको बाघखोरमा व्यवसाय गर्दै आएका गणेश तामाङले जानकारी दिए। यो क्षेत्रको अझ विकास गर्नसके पर्यटकको संख्या बढ्ने तामाङको भनाइ छ।

'सदरमुकामबाट छोटो दुरीमा पर्ने भएकाले यो ठाउँमा घुमघामको लागि धेरैको संख्यामा मानिस आउने गरेका छन्', उनले भने, 'यहाँको मनोरम दृश्य र स्थानीय परिकारको स्वाद लिन मानिस आउने गर्दछन्।' प्रायः भोजपुर आएका मानिस एक पटक सुन्तले बाघखोर आउने गरेको तामाङको भनाइ छ। पर्याप्त पूर्वाधार नभएको कारण धेरैको संख्यामा पर्यटको खण्डमा भने व्यवस्थापनामा कहिलेकाहीँ समस्या हुने गरेको तामाङको भनाइ छ।

नगरपालिकाको सहयोगमा बाघखोरमा बुद्धको मूर्ति, बाघको मूर्ति निर्माण भएको छ। यो पनि यहाँको आकर्षणको केन्द्रको रुपमा रहेको छ। असोज महिनापछि पर्यटकको आवगमन अझ बढी हुने व्यवसायी तामाङले बताए।

पर्यटकलाई लक्षित गरेर यहाँ धुपी, चाइनिज गुलाब, चाँप, लालीगुराँस लगायतका गरी एक हजार बिरुवा रोपिएको छ। त्यस्तै चिया खेती विस्तार गर्ने लक्ष्यसमेत रहेको तामाङको भनाइ छ। पुस, माघमा हुने हिमपातको मनोरम दृश्यावलोकन गर्न आन्तरिक पर्यटक पुग्ने गरेका छन्। सदरमुकामको नजिकको पर्यटकीय क्षेत्र तथा उत्तरको व्यापारिक केन्द्र दिङ्ला बजार जोड्ने सडक यही क्षेत्रबाट गएकाले पर्यटकलाई पुग्न सहज रहेको छ।

विगतमा पानी, विद्युत तथा सडकको समस्या भए पनि अहिले त्यस्तो समस्या नरहेको स्थानीय मचिन्द्र राईले बताए। बर्सातको समयमा भने कच्ची सडक भएको कारण आवतजावतमा केही समस्या हुने उनको भनाइ छ। सडकको स्तरोन्नोतिसँगै होमस्टे (घरबास) सञ्चालनमा सरकारले सहयोग गरे टेवा पुग्ने राईले बताए।

'विगतमा यहाँ धेरै समस्या थिए', राईले भने, 'अहिले, पानी, विद्युत्, इन्टरनेट केहीको समस्या छैन। सरकारले सामूहिक होमस्टे सञ्चालनमा सहयोग गरे आउने पर्यटकलाई अझ सहज हुने थियो। घुम्न तथा वनभोज खान धेरै मानिस आउने गर्दछन्।'

देशभित्रका आन्तरिक पर्यटकको संख्या बढे पनि बाह्य पर्यटकको आवगमनलाई बढाउन सडक विस्तारसँगै पूर्वाधारको विकासमा जोड दिनुपर्ने स्थानीय सूर्य गोलेले बताए। पर्यटकलाई लक्षित गरेर भोजपुर, सुन्तले, साल्पापोखरी हुँदै सोलुसम्म सडक तथा पदमार्ग निर्माण गर्नसके बाह्य पर्यटक ल्याउन सहज हुने तामाङको भनाइ छ।

'सुन्तले, बाघखोर पर्यटकको रोजाइमा पर्ने स्थान हुन्', उनले भने, 'भोजपुर आउने अधिकांश मानिस यहाँ पुगेर मात्र फर्केने गर्दछन् । सदरमुकाम नजिक रहेकाले मानिसलाई पुग्ने र फर्कन धेरै समयमा लाग्दैन।'

सुन्तलेमा २० र बाघखोरमा आठ घर स्थानीयको बसोबास रहेको छ। रासस


प्रकाशित : सोमबार, असोज ८ २०८००६:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend