सोमबार, असोज ७ गते २०८१    
images
images

पर्यटकको पर्खाइमा सौराहा

images
आइतबार, असोज ७ २०८०
images
images
पर्यटकको पर्खाइमा सौराहा

चितवन राष्ट्रिय निकुञ्जभित्र वर्षामा सफारी बन्द गरिन्छ। अब पानी नपरेमा असोज १० गतेदेखि निकुञ्ज खुल्ला गरिने छ।

images
images

चितवन- सौराहाका पर्यटन व्यवसायीका लागि असोज ‘सिजन’को महिना हो। अर्थात् पर्यटकको चहलपहल र आर्थिक गतिविधि बढ्ने समय हो। विगतका वर्षमा पर्यटकलाई सेवा दिन भ्याइनभ्याइ हुने यहाँका पर्यटन व्यवसायीहरु यस वर्ष भने असोज लागेदेखि पर्यटकको पर्खाइमा छन्।

images
images
images

पर्यटकीय गन्तव्य सौराहासम्म आइपुग्ने सडक मार्ग सहज नहुनु तथा हवाई भाडा महँगो भएकाले पर्यटकको संख्यामा यस वर्ष कमी आएको व्यवसायीहरुको भनाइ छ। लामो समयदेखि नारायणगढ-मुग्लिन, मुग्लिन-नौबिसे र नारायणगढ-बुटवल सडक खण्डमा मर्मत तथा विस्तारले यातायात असहज बनेको छ। पोखराबाट आउनेका लागि मुग्लिन-पोखरा खण्ड पनि विस्तारले अवरुद्ध भइरहेको छ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष गंगा गिरीका अनुसार सौराहाका होटलमा यतिबेला जम्मा पाँच प्रतिशत हाराहारी बुकिङ छ। जबकी विगतका वर्षमा यतिबेला ३५ प्रतिशतभन्दा बढी बुकिङ हुने गरेको थियो। सडकको दयनीय अवस्था, महँगो हवाई भाडालगायतले पर्यटकको संख्या कम भएको उनको बुझाइ छ।

उनका अनुसार एउटा विदेशी पर्यटक काठमाडौंबाट भरतपुर आउँदा एक सय ३५ डलर हवाई भाडा लाग्छ। आवतजावत भाडा मात्रै दुई सय ७० डलर खर्च हुन्छ। निकुञ्जमा जीप तथा हात्ती सफारी, पैदल यात्रा गर्दा खर्च स्वभाविक रुपमा बढ्छ। विदेशका लागि निकुञ्ज प्रवेशमा दुई हजार रूपैयाँ खर्च हुन्छ भने हात्ती सफारीका लागि दुई हजार पाँच सय, जीप सफारीका लागि दुई हजार रूपैयाँ खर्च लाग्छ।

images

संघका निवर्तमान अध्यक्ष दीपक भट्टराईले पर्यटक आकर्षित गर्नका लागि संघले चितवन पर्यटन महोत्सव गर्ने तयारी गरिरहेको बताए। विगतका वर्षमा हुने हात्ती महोत्सवलाई पर्यटन महोत्सवका रुपमा गर्न लागिएको उनको भनाइ छ।

संघका पूर्वअध्यक्ष सुमन घिमिरे पर्यटकीय मौसम पछाडि सरेको बताउँछन्। विगतका वर्षमा सेप्टेम्बरको मध्य अर्थात् असोज पहिलो साताबाटै पर्यटक आगमन हुने भएपनि यसवर्ष अझै पर्यटक नआएको बताउँछन्।

युनाइटेड हात्ती सहकारी संस्था लिमेटेडका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार यसपटक हात्ती सफारीका बुकिङ खासै नभएको बताउँछन्। उनको सहकारीमा हाल ३० वटा हात्तीले दैनिक एउटा ‘ट्रिप’ समेत पाउन नसकेको अवस्था छ। 'दैनिक १२ देखि १५ वटा मात्रै ट्रिप आउने गरेको छ, चाडपर्व सुरु भएपछि ट्रिप बढ्नेमा विश्वास छ', उनले भने।

चितवन राष्ट्रिय निकुञ्जभित्र वर्षामा सफारी बन्द गरिन्छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा पुनका अनुसार अब पानी नपरेमा असोज १० गतेदेखि निकुञ्ज खुल्ला गरिने छ। बाटो र पुलहरु धेरै बिग्रिएका ठाउँ बाहेक अन्यत्र खुल्ला गर्न लागिएको उनको भनाइ छ। रासस


प्रकाशित : आइतबार, असोज ७ २०८००८:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend