सोमबार, असोज ७ गते २०८१    
images
images

धानबालीमा गबारोको समस्या बढ्दो, किसान चिन्तित

images
शनिबार, असोज ६ २०८०
images
images
धानबालीमा गबारोको समस्या बढ्दो, किसान चिन्तित

पर्सा जिल्लामा ५४ हजार सात सय ३२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४७ हजार एक सय ३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ।

images
images

वीरगञ्ज- धानबालीमा गबारो रोग किराको समस्या फैलिएपछि पर्साका किसान चिन्तित बनेका छन्। पर्साको जगरनाथपुर, धोबिनी, ठोरी, जिराभवानीलगायत विभिन्न स्थानमा गबारो किराको समस्या फैलिएपछि किसान चिन्तित बनेका हुन्।

images
images
images

गत भदौको दोस्रो साता यता धानबालीमा देखिएको गबारो किराको समस्याले धानबालीमा क्षति पुर्‍याइरहेको स्थानीय किसान बताएका छन्। गबारो किराले आफूहरुको करिब ५० प्रतिशतभन्दा बढी धानबालीमा क्षति पुर्‍याएको धोविनी गाउँपालिका-५ का स्थानीय शिवनाथ यादवले बताए। वर्षाको अभावमा धानबाली सुक्दै गएको बेला धानबालीमा देखिएको गबारोको समस्याले आफू थप समस्यामा परेको उनको भनाइ छ।

'गबारो किराले धानबालीको पात खाइदिने, उम्रिदै गएको धानको बोटमा क्षति पुर्‍याइरहेको छ', जगरनाथपुर गाउँपालिकाका किसान हरिशंकर कुर्मीले भने, 'सुरुमा वर्षा नभएर ठूलो रकम खर्चिएर वैकल्पिक सिँचाइबाट जेनतेन धान रोपाइँ गरे, अहिले आएर गबारो किराले बाली नै सखाप गर्न थालेपछि हामी चिन्तामा डुबेका छौँ।' धानबालीमा लागेको गबारोको रोकथाम र नियन्त्रणका लागि आवश्यक सहयोग गरिदिन स्थानीय, प्रदेश र संघीय सरकारसँग उनले आग्रह गरे।

धानबालीमा गबारो किराको प्रकोपले खेतमै धान सुक्न थालेको पीडित किसानको भनाइ छ। खेतमा असन्तुलन, गुणस्तरीय रासायनिक मलको अभाव तथा प्रतिकूल वातावरणका कारण धानबालीमा गबारो किराको प्रकोप बढेको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख मुनिलाल कुशवाहाले बताए।

images

पुतली जातको गबारो धानको ढाड नै काट्ने गर्दा सुक्ने गरेको पाइएको उनको भनाइ छ। खेतमा प्रयोग गरिने रसायनिक मल, डीपीए, युरिया, पोटासलगायतको मात्रा नमिल्दा पनि बालीको जरो कमजोर भइ किराको आक्रमण बढेको र यसको रोकथाम र नियन्त्रणका लागि सो क्षेत्रमा प्राविधिक खटाइएको प्रमुख कुशवाहाले बताए।

समयमा वर्षा पर्याप्त नभए पनि पानी तान्ने मोटर तथा अन्य वैकल्पिक सिँचाइको व्यवस्था मिलाएर भए पनि किसानले पर्सामा ९५ प्रतिशत जग्गामा धान रोपाइँ गरेको प्रमुख कुशवाहाको भनाइ छ। पर्सा जिल्लामा ५४ हजार सात सय ३२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४७ हजार एक सय ३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ।

यसवर्ष ९५ प्रतिशत अर्थात ४५ हजार चार सय ३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको प्रमुख कुशवाहाले जानकारी दिए। पर्सामा भदैया, चैते र वर्षे गरी तीन किसिमका धान उत्पादन हुँदै आएको छ।

'जिल्लाको दक्षिणी भेगका किसान गण्डक सिँचाइ आयोजनाको सिँचाइ प्रणालीबाट सिँचाइ गरेर धान रोपाइँ गरेका छन्', प्रमुख कुशवाहाले भने, 'अन्य भेगका किसान पानी तान्ने मोटर, पम्पसेट जडान गरेर धान रोपाइँ गरेका छन्।'

तुलनात्मक रुपमा अन्य ठाउँभन्दा पर्साको ठोरी, पर्सागढी, बहुदरमाई र जगरनाथपुर गाउँपालिका क्षेत्रमा बढी धान रोपाइँ भएको उनको भनाइ छ। रासस


प्रकाशित : शनिबार, असोज ६ २०८००६:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend