काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले पुरानो कार्यालय भवन रहेको बबरमहलमा व्यावसायिक तथा कार्यालय प्रयोजनका लागि नयाँ भवन निर्माण गर्ने भएको छ।
प्राधिकरणको कार्यालय सिनामंगलमा सरेसँगै माइतीघर-बानेश्वर सडकखण्डमा रहेको जग्गामा व्यावसायिक तथा कार्यालय प्रयोजनका लागि भवन बनाउने प्रक्रिया सुरु गर्ने भएको छ। भवन निर्माण प्रक्रिया सुरु गर्नका लागि प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटमा १ करोड रुपैयाँ बजेट विनियोजनसमेत गरेको छ।
प्राधिकरणले भवन निर्माणको कागजी तथा अध्ययनका लागि रकम विनियोजन गरेको जनाएको छ। प्राधिकरणका अनुसार भवनको नक्सा पास तथा वातावरणीय प्रभाव मूल्यांकनको काममा लागि बजेट छुट्याएको हो। प्राधिकरणले अर्ध-व्यावसायिक भवन निर्माण गर्ने जनाएको छ। भवनको केही भागमा प्राधिकरणले आफ्नो अफिस राख्ने छ भने बाँकी भाग व्यावसायिक प्रयोजनमा दिने गरी भवन निर्माण गर्न लागेको हो।
चालु आवमा नै भवन निर्माण सुरु भने हुने छैन। भवन निर्माणका लागि कानूनी प्रक्रिया सुरु हुनेदेखि कस्तो भवन बनाउने र कति लागत लाग्ने भने विषयमा भने अध्ययन हुने प्राधिकरणले जनाएको छ। प्राधिकरणले देशभर रहेको जग्गा व्यावसायिक प्रयोजनका लगाउने योजनाअनुसार बहरमहको जग्गा पनि सदुपयोग गर्दै आयआर्जनका लागि भवन बनाउन लागेको जनाएको छ।
नयाँ कार्यालय प्रधानमन्त्रीले उद्घाटन गर्ने
प्राधिकरणले सवा १ अर्ब खर्चेर निर्माण गरेको सिनामंगलको नयाँ कार्यालय आज शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने भएका छन्।
प्राधिकरणले केही सयम अगाडिदेखि नै सोही भवनबाट सेवा सुरु गरिसकेको छ। केही निर्देशनालय भने बबरमहल अफिसमा नै राखिएको छ। नयाँ भवनमा परिसरमा ६६ वटा गाडी र ११५ वटा मोटरसाइकल/स्कुटर पार्किङ क्षमता रहेको छ।
चारवटा लिफ्ट राखिएको भवनमा पहिलो चरणमा ६४ करोड र दोस्रो चरणमा ४७ करोड गरी कुल १ अर्ब ११ करोड रुपैयाँ खर्च भइसकेको छ।
२०७२ बाट काम सुरु भएको यो भवन निर्माणबीचमा तीन वर्ष विभिन्न कारणले रोकिएको थियो। तुण्डी रसुवा जेभीले डेढ अर्ब रुपैयाँमा ठेक्का लिएको यो भवन चार रोपनी दुई आना क्षेत्रफलमा निर्माण गरिएको हो। संरचनाको डिजाइन गरेको एनोट आर्किटेक्चर एण्ड आर्किटेक्टले ११ तले नयाँ भवनमा पाँच सयभन्दा बढी कर्मचारीले काम गर्न सक्ने क्षमता रहने प्राधिकरणले जनाएको छ।