काठमाडौं- बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम भएपनि बैंक तथा वित्तीय संस्थाले ब्याजदर नघटाउने संकेत दिएका छन्। ३ खर्ब ६० अर्ब रुपैयाँ हाराहारीमा लगानीयोग्य रकम भएको समयमा समेत बैंक तथा वित्तीय संस्थाहरूले विकास ऋणपत्रमा ७ प्रतिशत ब्याजदरमा लगानी गरेका छन् भने ६ देखि ६.५ प्रतिशतको भारित औषत ब्याजदरमा ट्रेजरी बिल नवीकरण गरेका छन्।
राष्ट्र बैंकले विकास ऋणपत्र ७ प्रतिशतभन्दा कम ब्याजदरमा बिक्री गर्न मेहेनत गरेपनि बैंकहरू ७ प्रतिशतको मनोवैज्ञानिक बिन्दुबाट तल झरेनन्। फलस्वरुप राष्ट्र बैंक ७ प्रतिशतको ब्याजदरमा रहेर विकास ऋणपत्र बेच्न बाध्य भयो। यसले बैंकहरू तत्काल ब्याजदर घटाउन तयार नरहेको संकेत गरेको छ। असोज महिनामा अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राख्ने सम्भावना भएपनि यसले कर्जाको ब्याजदर अपेक्षितरुपमा घट्ने देखिँदैन।
अघिल्लो महिना निक्षेपको ब्याजदर बढाएका बैंकहरूको असोजमा 'कष्ट अफ फण्ड' बढ्ने र यसले आधार दर पनि बढाउने हुँदा कर्जाको ब्याजदर पनि बढ्ने देखिन्छ। यद्यपी मर्जको अन्तिम समयमा रहेका बैंकहरूले निक्षेप र कर्जाको अन्तर (स्प्रेडदर) राष्ट्र बैंकले तोकेको ४ प्रतिशतको सीमाभित्र ल्याएमा त्यसले कर्जाको ब्याजदर धेरै माथि जानबाट रोक्ने देखिन्छ।
नबिल, ग्लोबल आईएमई लगायतका बैंकहरूको असोज महिनामा अन्य बैंककै हाराहारी औषतमा १२.५ प्रतिशतभित्रै कर्जाको ब्याजदर कायम गर्ने देखिन्छ। गत असार मसान्तसम्ममा बैंकहरूको औषत ब्याजदर १२.३० प्रतिशत कायम भएको छ।
अर्कोतर्फ बैंकहरू मुद्रास्फीति दरभन्दा सस्तो दरमा र आधारदरमा धेरै घाटा खाएर आन्तरिक ऋणमा लगानी गर्न तयार देखिँदैनन्। अर्थतन्त्र चलायमान हुनासाथ उच्च ब्याजदरमा लगानी गर्ने अवसर रहने र यसले बैंकको नाफा बढाउन मद्दत गर्ने भन्दै बैंकका प्रमुख कार्यकारी अधिकृतहरूले राष्ट्र बैंकसँग मनोवैज्ञानिकरुपमा सौदाबाजी गरेका छन्। नाफा बढ्नासाथ बैंकको कार्यसम्पादन राम्रो हुने र यसले लगानीकर्तालाई बढी प्रतिफल बाँड्ने क्षमता निर्माण भएमा आफ्नो छबि बढ्ने सोचका साथ बैंकका सीईओहरू प्रस्तुत भएकाले प्रणालीमा पर्याप्त लगानीयोग्य रकम भएपनि विकास ऋणपत्रको अपेक्षितरुपमा ब्याजदर घट्न सकेन।
विकास ऋणपत्रको ब्याजदर राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत तय गरेको नीतिगत दरभन्दा बढी पुगेको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नीतिगत दर ५० आधार बिन्दुले घटाउँदै ६.५० प्रतिशत कायम गरेको थियो। तर राष्ट्र बैंकले पछिल्ला तीनवटा विकास ऋणपत्र ७ प्रतिशत ब्याजदरमा उठाएको छ। १ ऋणपत्रको ब्याजदर मात्रै ६.५ प्रतिशत कायम भएको छ। औषतरुपमा विकास ऋणपत्रको ब्याजदर ६.९३ प्रतिशत कायम भएको छ।
अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो महिनाबाटै आन्तरिक ऋण उठाउने कार्यतालिका सार्वजनिक गरेपछि राष्ट्र बैंकले धमाधम विकास ऋणपत्र निष्कासन गरिरहेको छ। भाका पुगेका ट्रेजरी बिलहरू नवीकरण भइरहेको छन्। गत असार २५ गते भएको एक्सनको तुलनामा ट्रेजरी बिलको ब्याजदर बढ्दो प्रवृत्तिमा छ।
चालु आर्थिक वर्ष शोधनान्तर बचतमा भएको लाभ लिन सरकारले साउनबाटै आन्तरिक ऋण उठाउन थालेको छ। वाह्य क्षेत्रमा भएको सुधारले हाल बैंकिङ प्रणालीमा करिब सवा ४ खर्ब लगानीयोग्य रकम रहेको छ। यस त्रैमासमा आर्थिक गतिविधि कम हुँदा सरकारको राजस्व असुली कम हुन्छ। तर यसबेला सरकार तलब भत्ता, स्थानीय तहको वित्तीय समानीकरण अनुदानको पहिलो किस्ता हस्तान्तरण र अन्य अनिवार्य दायित्व भुक्तानी गर्नुपर्ने हुँदा स्रोत व्यवस्थापनको दबाबमा हुन्छ।
आर्थिक वर्षको सुरुवातबाटै आन्तरिक ऋण उठाएमा सरकारमाथिको दबाब पनि कम हुने र यसले अर्थतन्त्रलाई गतिशिल बनाउने बुझाइका कारण अर्थ मन्त्रालय र राष्ट्र बैंकले संयुक्त निर्णय गरी वर्षको सुरुबाटै आन्तरिक ऋण उठाउने पराम्पराको थालनी गरेका हुन्।
आर्थिक वर्षको सुरुवातबाटै आन्तरिक ऋण उठाउँदा तेस्रो र चौथो त्रैमासमा तरलतामा हुने दबाब कम गर्न सहयोग पुग्ने र ब्याजदर स्थायित्वका लागि नैतिक बल पुग्ने सरकारको बुझाइ देखिन्छ।
यस्तै गत आर्थिक वर्षको पुसमा ट्रेजरी बिलको ब्याजदर करिब १० देखि १२ प्रतिशतको सर्वाधिक उचाइमा पुगेर घट्न सुरु गरेको थियो। गत असारमा ट्रेजरी बिलको ब्याजदर घटेर ३ देखि ६ प्रतिशतको हाराहारीमा पुगेको थियो।
पछिल्लो समय बैंकहरू ब्याजदरमा प्रतिस्पर्धामा उत्रिएकाले पुन: ट्रेजरी बिलको ब्याजदर बढ्न थालेको छ। यस्तै विकास ऋणपत्रको ब्याजदर पनि गत पुसमा १०.९३ प्रतिशतमा पुगेकोमा गएको असारमा ६.३९ प्रतिशतमा झरेको थियो। साउनपछि भने विकास ऋणपत्रको ब्याजदर पुन: ब्याजदर बढ्ने क्रममा छ। साउनमा विकास ऋणपत्रको ब्याजदर ६.५ कायम भएकोमा भदौमा आइपुग्दा बढेर औषत ६.९३ प्रतिशत पुगेको छ।
ब्याजदर घट्ने र तरलता सहज हुने भन्दै गत आइतबार अर्थ मन्त्रालयले स्थानीय तहको सञ्चिति कोषमा रहेको ६० प्रतिशत अर्थात करिब ६६ अर्ब रुपैयाँ निक्षेप गणनाका लागि स्वीकृति दिएको छ।
गत साउनमा अर्थ मन्त्रालयले यसअघिको ८० प्रतिशत स्थानीय सञ्चिति कोषको रकम निक्षेप गणनामा प्रयोग गर्न दिने सुविधा फिर्ता लिएको थियो। बैंक तथा वित्तीय संस्थाको तीब्र दबाबपछि बैंकहरूलाई स्थानीय सञ्चिति कोषको रकम सीडी गणनाका लागि प्रयोग गर्न दिएको छ।
यद्यपी स्थानीय सञ्चिति कोषको रकम निक्षेपमा गणना भएपछि ट्रेजरी बिल तथा विकास ऋणपत्र खरिद बिक्री भएको छैन।
हाल बैंकहरूको औषत सीडी अनुपात ८३.६९ प्रतिशत रहेको छ। यस आधारमा हेर्दा बैंकिङ प्रणालीमा करिब ३ खर्ब ६० अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको छ। तर बैंक तथा वित्तीय संस्थाले आन्तरिक ऋणको ब्याजदर बढाइरहेका छन्। सरकारले सीडी गणनाका लागि नि:शुल्क रकम उपलब्ध गराउनुपर्ने तर बैंक तथा वित्तीय संस्थाले आन्तरिक ऋणमा उच्च ब्याजदर तोकेका छन्।
राष्ट्र बैंकका अधिकारीहरू भने हाल कायम रहेको आन्तरिक ऋणको ब्याजदर निश्चित सीमाभित्रै रहेको बताउँछन्। गत आर्थिक वर्षको तुलनामा विकास ऋणपत्र तथा ट्रेजरी बिलको ब्याजदर ४ देखि ५ प्रतिशत बिन्दुले घट्नु समान्य विषय नभएको उनीहरू बताउँछन्। अर्थतन्त्रमा मुद्रास्फीति नै ७ प्रतिशतभन्दा माथि रहेकाले ट्रेजरी बिलको ब्याजदर ७ प्रतिशत हुनु अनुचित मान्न नसकिने राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ बताउँछन्।
‘गत आर्थिक वर्षको तुलनामा ट्रेजरी बिल तथा विकास ऋणपत्रको ब्याजदर ३ देखि ५ प्रतिशत बिन्दुले घटेको छ। अघिल्लो महिनाको तुलनामा थोरै वृद्धि भएपनि यसलाई स्वभाविक नै मान्नुपर्छ। अहिले मुद्रास्फीति नै ७ प्रतिशतभन्दा माथि भएको समयमा सरकारी विकास ऋणपत्र तथा ट्रेजरी बिलको ब्याजदर ६ देखि ७ प्रतिशतको सीमाभित्र कायम हुनुलाई अनुचित मान्नु हुँदैन’, डा. श्रेष्ठले भने।
ब्याजदर अझै घटोस् भन्ने किन चाहान्छन् अर्थमन्त्री महत?
आन्तरिक ऋणको ब्याजदर अहिलेको दरभन्दा तल जाने अवस्था भएमा आयात बढ्ने र यसले शोधनान्तर स्थिति दबाबमा पर्ने उनको भनाइ छ। खुला बजार कारोबारमार्फत आन्तरिक ऋणको ब्याजदर राष्ट्र बैंकले तोकेको नीतिगत दरभन्दा घटीबढी हुनुलाई स्वभाविक मान्नुपर्ने उनी बताउँछन्।
अहिले बैंकहरूको आधार दर नै १० प्रतिशतभन्दा माथि रहेकाले आन्तरिक ऋणको ब्याजदरमा बैंकहरू उक्त दरभन्दा तल आउने अवस्था नभएको एक बैंकरले बताए। ‘अहिले बैंकको आधारदर नै १० प्रतिशतभन्दा माथि छ। बैंकहरूले आफ्नो कष्ट अफ फण्डभन्दा कम दरमा आन्तरिक ऋणमा लगानी गर्ने सम्भावना कम छ’, ती बैंकरले बताए।
सरकारले चालु आर्थिक वर्ष २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ। राष्ट्र बैंकले पहिलो र दोस्रो त्रैमास गरी ६ महिनामा ५५ अर्ब रुपैयाँका दरले १ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेको छ। जसमध्ये पहिलो त्रैमासमा १ वर्षे ट्रेजरी बिलमार्फत ५ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखिएको छ।
यस्तै दोस्रो त्रैमासमा ९१ दिने ट्रेजरी बिलमार्फत ३ अर्ब र १८२ दिने ट्रेजरी बिलमार्फत ७ अर्ब संकलन गर्ने लक्ष्य राखिएको छ। पहिलो त्रैमासमा विकास ऋणपत्रमार्फत ५० अर्ब र दोस्रो त्रैमास ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने कार्यतालिका रहेको छ।
तेस्रो त्रैमासमा २८ दिने ट्रेजरी बिलमार्फत ५ अर्ब र ९१ दिने ट्रेजरी बिलमार्फत १० अर्ब गरी १५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भनिएको छ।
चौथो त्रैमासमा २८ दिने ट्रेजरी बिलमार्फत ५ अर्ब, ९१ दिने र १८२ दिने ट्रेजरी बिलमार्फत १०/१० अर्ब गरी कुल २५ अर्ब रुपैयाँ उठाउने लक्ष्य राखिएको छ। यस्तै विकास ऋणपत्रमार्फत तेस्रो त्रैमासमा ३५ अर्ब र चौथो त्रैमासमा ४९ अर्ब लक्ष्य राखिएको छ।
चालु आर्थिक वर्ष विकास ऋणपत्रमार्फत कुल १ खर्ब ७९ अर्ब रुपैयाँ, ट्रेजरी बिलमार्फत ५५ अर्ब रुपैयाँ, नागरिक बचतपत्रमार्फत ५ अर्ब र वैदेशिक रोजगार पत्रमार्फत १ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने कार्यतालिका सार्वजनिक भएको छ।
विकास ऋणपत्रमार्फत उठ्यो २७.८६ अर्ब ऋण,औषत ब्याजदर ६.९३ प्रतिशत
साउन र भदौ महिनामात्रै राष्ट्र बैंकले २७ अर्ब ८६ करोड रुपैयाँ विकास ऋणपत्रमार्फत आन्तरिक ऋण उठाएको छ। जसमध्ये ४ अर्ब १६ करोडको ब्याजदर ६.५ प्रतिशत रहेको छ। बाँकी २३ अर्ब ७० करोड रुपैयाँ ७ प्रतिशत ब्याजदरमा विकास ऋणपत्र जारी भएको छ।
साउन १९ गते बाँडफाँट भएको ४ अर्ब १६ करोड रुपैयाँको विकास ऋणपत्र २०८६ 'छ' को ब्याजदर ६.५० प्रतिशत कायम भएको छ। राष्ट्र बैंकले १० अर्ब रुपैयाँ उक्त विकास ऋणपत्रमा लगानी गर्न बोलकबोल आह्वान गरेको थियो तर ४ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको रकममा महँगो ब्याजदर राखेर बैंक तथा वित्तीय संस्थाले लगानी गर्न इच्छुक देखिएपछि राष्ट्र बैंकले ५ अर्ब ८४ करोड रुपैयाँ बराबरको माग रद्द गरेको थियो।
राष्ट्र बैंकले साउन १९ गते रद्द गरेको ५ अर्ब ८४ करोड रुपैयाँ बराबरको ऋणपत्र पुन: साउन ३२ गते विकास ऋणपत्र २०८६ 'ट' नाम दिएर निष्कासन गरेको थियो। तर ब्याजदर महँगो भएकै कारण राष्ट्र बैंकले उक्त ऋणपत्र निष्कासनलाई स्थगन गरेको थियो।
यस्तै साउन २८ गते आएर राष्ट्र बैंकले ८ वर्षे १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८८ 'ख' निष्कासन गरेको थियो। राष्ट्र बैंकले यस ऋणपत्रमार्फत पनि ६ अर्ब ९० करोड रुपैयाँ मात्रै विकास ऋणपत्र खरिद गरेको थियो। उक्त ६ अर्ब ९० करोड रुपैयाँ ७ प्रतिशत ब्याजदरमा उठाइएको थियो।
यस ऋणपत्रको बाँकी रकम ३ अर्ब १० करोड रुपैयाँमा बैंकहरूले ७ प्रतिशतभन्दा बढी ब्याजदर तोकेर लगानीका लागि आवेदन दिएकाले राष्ट्र बैंकले खारेज गरेको थियो।
यस्तै भदौ ५ गते राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८६ (ज) जारी गरेकोमा ६ अर्ब ८० करोड रुपैयाँमात्रै बाँडफाँट गरेको थियो। यस आवेदनमार्फत पनि ७ प्रतिशत ब्याजदर तोकेर आएको ६ अर्ब ८० करोड मात्रै लगानी स्वीकृत भएको थियो भने ७ प्रतिशतभन्दा बढी ब्याजदर तोकिएको लगानी राष्ट्र बैंकले अस्वीकृत गरेको थियो।
साउन २४ गते जारी भएको १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८६ 'ज' भने सबै ७ प्रतिशतमा बिक्री भएको राष्ट्र बैंकले जनाएको छ। हालसम्म राष्ट्र बैंकले उठाएको विकास ऋणपत्रको औषत ब्याजदर ६.९३ प्रतिशत कायम भएको छ। आर्थिक वर्ष २०७९/८० मा सरकारले विकास ऋणपत्रमार्फत १ खर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको थियो। जसको औषत ब्याजदर ८.६४ प्रतिशत कायम भएको थियो।
गत आर्थिक वर्षको मंसिर १४ गते राष्ट्र बैंकले ८ अर्ब रुपैयाँ १०.६४ प्रतिशत र मंसिर ९ गते २ अर्ब रुपैयाँ १० प्रतिशत ब्याजदरमा विकास ऋणपत्र राष्ट्र बिक्री गरेको थियो। यस्तै गत आर्थिक वर्षको पुस ६ गते राष्ट्र बैंकले हालसम्मै उच्च ब्याजदर १०.९३ प्रतिशतमा ५ अर्ब रुपैयाँ विकास ऋणपत्र उठाएको थियो। उक्त ऋणपत्र २०८३ ६ गते मात्रै परिपक्व हुनेछ।
गत आर्थि वर्षको माघ महिनादेखि भने विकास ऋणपत्रको ब्याजदर घट्दै गएको देखिन्छ। २०७९ माघ १८ गते राष्ट्र बैंकले ८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र ९.५ प्रतिशत ब्याजदरमा बिक्री गरेकोमा असारमा आइपुग्दा ब्याजदर घटेर ६.९३ प्रतिशत कायम भएको छ। उक्त ब्याजदर २०७८ फागुन ९ गते जारी भएको विकास ऋणपत्र बारबरको ब्याजदर हो।
गत असार ६ गते राष्ट्र बैंकले १० अर्ब रुपैयाँको ६ वर्ष विकास ऋणपत्र राष्ट्र बैंकले ६.९३ प्रतिशतमा बिक्री गरेको थियो। असार २२ गते जारी भएको ६ वर्ष अवधिको १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्रको ब्याजदर सबैभन्दा २०७८ फागुन ४ गतेयताकै सबैभन्दा सस्तो ब्याजदर हो। राष्ट्र बैंकले उक्त विकास ऋणपत्र ६.३५ प्रतिशतमा बिक्री गरेको थियो।
आर्थिक वर्ष २०७८/७९ मा विकास ऋणपत्रको औषत ब्याजदर ७.७४ प्रतिशत कायम भएको थियो। उक्त आर्थिक वर्ष १ खर्ब २४ अर्ब ५० करोड रुपैयाँ विकास ऋणपत्र उठाएको थियो।
आर्थिक वर्ष २०७७/७८ मा विकास ऋणपत्रको औषत ब्याजदर ४.३३ प्रतिशत कायम भएको थियो। यस आर्थिक वर्ष राष्ट्र बैंकले विकास ऋणपत्र मार्फत १ खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको थियो।
आर्थिक वर्ष २०७६/७७ मा १ खर्ब रुपैयाँ विकास ऋणपत्र मार्फत ऋण संकलन गरिएको थियो। उक्त आर्थिक वर्ष विकास ऋणपत्रको औषत ब्याजदर ६.७७ प्रतिशत कायम भएको थियो। आर्थिक वर्ष २०७५/७६ मा करिब ७० अर्ब रुपैयाँ औषत ब्याजदर ६.३४ प्रतिशतमा विकास ऋणपत्र बिक्री गरिएको थियो। आर्थिक वर्ष २०७४/७५ मा ७२ अर्ब रुपैयाँ विकास ऋणपत्र मार्फत आन्तरिक ऋण उठाइएको यसको औषत ब्याजदर ५.१६ प्रतिशत कायम भएको थियो।
यस्तै आर्थिक वर्ष २०७०/७१ मा ३ अर्ब रुपैयाँ मात्रै विकास ऋणपत्र मार्फत आन्तरिक ऋण सरकारले उठाएको थियो। उक्त ऋणपत्रको ब्याजदर ३.२५ प्रतिशत रहेको थियो। आर्थिक वर्ष २०७१/७२ मा सरकारले ३० अर्ब रुपैयाँ आन्तरिक ऋण विकास ऋणपत्र मार्फत उठाएकोमा यस औषत ब्याजदर ३.१९ प्रतिशत रहेको थियो। २०७२/७३ मा आएर सरकारले ६२ अर्ब रुपैयाँ विकास ऋणपत्र मार्फत औषत ब्याजदर ४.६१ प्रतिशतमा आन्तरिक ऋण उठाएको थियो।
आर्थिक वर्ष २०७३/७४ मा आएर सरकारले ५५ अर्ब रुपैयाँ अघिल्लो आर्थिक वर्षको तुलनामा यस्तो ब्याजदरमा विकास ऋणपत्र बिक्री गरेको थियो। उक्त वर्ष विकास ऋणपत्रको औषत ब्याजदर ३.७४ प्रतिशत कायम भएको थियो।
ट्रेजरी बिलको भारित औषत ब्याजदर पुन: बढ्दै
चालु आर्थिक वर्षको असार मसान्तको तुलनामा ट्रेजरी बिलको ब्याजदर पनि क्रमश: बढ्दो क्रममा छ। राष्ट्र बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने नयाँ ट्रेजरी बिल निष्कासन तथा नवीकरणमार्फत आन्तरिक ऋण उठाउने गर्छ। भदौ २६ मा राष्ट्र बैंकले ९१ दिने ट्रेजरी बिल नवीकरण गर्दै नयाँ ब्याजदर सार्वजनिक गरेको छ।
उक्त ब्याजदनुसार २८ दिने ट्रेजरी बिलको भारित औषत ब्याजदर (न्यूनतम ब्याजदर जोड अधिकतम ब्याजदर भाग २) ६.१२३१ प्रतिशत कायम भएको छ। गत पुसमा यस्तो ट्रजरी बिलको भारित औषत ब्याजदर ९.५८१२ प्रतिशत कायम भएको थियो। गत असार २५ गते २८ दिने ट्रेजरी बिलको भारित औषत ब्याजदर विगत २ वर्षयताकै सस्तो ३.०२३० प्रतिशत कायम भएको थियो।
राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार ९१ दिने ट्रेजरी बिलको औषत भारित ब्याजदर ६.१६३५ प्रतिशत कायम भएको छ। गत साउन १ गते यस्तो ट्रेजरी बिलको भारित औषत ब्याजदर ५.१८५६ प्रतिशत कायम भएको थियो। जुन गत पुसयताकै सबैभन्दा सस्तो ब्याजदर हो। २०७९ पुस १९ गते यस्तो ट्रेजरी बिलको भारित औषत ब्याजदर ११.६५६० प्रतिशत कायम भएको थियो।
भदौ १८ गते भएको ट्रजरी बिल वोलकबोल तथा खरिद प्रकृया मार्फत यस्तो १८२ दिने ट्रेजरी बिलको भारित औषत ब्याजदर ६.४०९४ प्रतिशत कायम भएको छ। गत असार २५ गते भएको बोलकबोलमार्फत यस ट्रेजरी बिलको ब्याजदर ५.६२१५ प्रतिशत कायम भएको थियो। अघिल्लो आर्थिक वर्षको पुस ४ गते यस्तो ट्रेजरी बिलको भारित औषत ब्याजदर अधिकतम ११.६७४९ प्रतिशत ब्याजदर कायम थियो।
यस्तै भदौ १८ गते कायम भएको ब्याजदर अनुसार ३६४ दिने ट्रेजरी बिलको भारित औषत ब्याजदर ६.४३३१ प्रतिशत पुगेको छ। गत असार २५ गते यस्तो ट्रेजरी बिलको ब्याजदर ६.३४७८ प्रतिशत कायम भएको छ। गत आर्थिक वर्षको पुस १८ गते यस्तो ट्रेजरी बिलको ब्याजदर हालसम्मकै अधिकतम ११.९३९६ प्रतिशत पुगेको थियो।