आइतबार, असोज ६ गते २०८१    
images
images

अछामका किसानलाई मकैबाली जोगाउन मुस्किल, दिनभर बाँदर र रातभर बँदेलले पार्छन् हैरान

images
बुधबार, भदौ २७ २०८०
images
images
अछामका किसानलाई मकैबाली जोगाउन मुस्किल, दिनभर बाँदर र रातभर बँदेलले पार्छन् हैरान

बिहानदेखि बेलुकासम्म मकैबारीमा बस्दा पनि अन्नबाली जोगाउन नसकिएको कृषकहरूको गुनासो छ।

images
images

अछाम- यहाँका कृषक मकै बाली जोगाउन रातभर जाग्राम बस्ने गरेका छन्। पाक्नै लागेको मकै बाली जंगली जनावरले खान थालेपछि किसान मकै बारीभित्रै पाल हालेर रातभर जाग्राम बस्दै आइरहेका छन्।  

images
images
images

'मकै बाली दिनभर बाँदरले, रातभर बँदेलले खाएर हैरान पार्छन्, सुत्नसमेत पाइँदैन', मंगलसेन नगरपालिका-७ का कृषक दुर्गाप्रसाद ढुंगानाले भने। किसानले मकै जोगाउन बारीभरि मान्छेका जस्तै पुत्ला बनाएर खडा गरेका छन् भने रातभर बाजागाजा बजाउँदै, होहल्ला गर्दै बस्ने गरेका छन्।

दिनभरि बाँदर र रातभरि बँदेल आतंकले बारीका मकै सखाप हुन थालेको कृषक प्रेम भण्डारीले बताए। 'रातभरि जाग्राम बस्नुपर्छ, रातिमा कतिबेला कहाँबाट बँदेल आउँछ थाहा हुँदैन', भण्डारीले भने। वर्षभरि खाने खेतीमा बाँदर र बँदेलको आतंक नियन्त्रण गर्न नसकिएको उनी बताउँछन्।

बँदेल र बाँदर नियन्त्रण गर्नका लागि स्थानीय सरकारले योजना बढाएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ। बाँदर र बँदेलले मकैबारी सखाप बनाउन थालेपछि कृषक चिन्तित बनेका छन्।

images

जिल्लाका विभिन्न गाउँमा बाँदरले मकैलगायतका अन्नबाली सखाप पार्न थालेका छन्। बिहानदेखि बेलुकासम्म मकैबारीमा बस्दा पनि अन्नबाली जोगाउन नसकिएको कृषकहरूको गुनासो छ। साउनयता हालसम्म जिल्लामा जंगली जनावरको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। मृतकका परिवारलाई १० लाख रूपैयाँ राहत रकम र घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने डिभिजन वन कार्यालयका वन अधिकृत विमल चन्दले बताए।

त्यस्तै उनका अनुसार जिल्लाका किसानको अन्नबाली जंगली जनावरले नोक्सान पुर्‍याएको भन्दै एक सय १८ कृषकको राहतका लागि सिफारिस आएको र उनीहरुलाई डिभिजन वन कार्यालयको मूल्यांकन समितिले क्षतिको मापन गरी कम्तीमा १० हजार रूपैयाँ आर्थिक राहत उपलब्ध गराउनेछ। जिल्लामा जंगली जनावर बाघ तथा चितुवाको आक्रमणबाट १६ किसानका २९ पशु चौपायाको मृत्युु भएको र किसानलाई राहतस्वरुप प्रतिबाख्रा तथा खसीको १० हजार रूपैयाँ एवं गाई, गोरु र भैँसीको ६० हजार रूपैयाँ रकम सहयोग गरिने डिभिजन वन कार्यालयले जनाएको छ।

किसानहरुको अन्नबाली जंगली जनावरले सखाप पार्न थालेपछि पुर्खौँदेखि गर्दै आएको कृषि पेसा छाड्नुपर्ने अवस्था सिर्जना भएको कृषक बताउँछन्। साथै कसानहरुले यसको वैकल्पिक उपाय पनि खोज्न थालेका छन्। रासस


प्रकाशित : बुधबार, भदौ २७ २०८००७:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend