आइतबार, असोज ६ गते २०८१    
images
images

यातायात कार्यालयलाई फाइल र ढड्डामुक्त बनाउँदै गण्डकी

images
बुधबार, भदौ २७ २०८०
images
images
यातायात कार्यालयलाई फाइल र ढड्डामुक्त बनाउँदै गण्डकी
images
images

म्याग्दी- गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनको विवरण र अभिलेख ‘डिजिटलाइजेसन’ (विद्युतीय अभिलेखीकरण) गर्न थालिएको छ। सवारी साधन दर्ता, नवीकरणसम्बन्धी सेवालाई छिटो, झन्झटमुक्त र अभिलेखलाई व्यवस्थित बनाउन यातायात कार्यालयलाई फाइल तथा ढड्डामुक्त बनाउने काम अघि बढाइएको हो।   

images
images
images

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले यातायात कार्यालय कास्कीमा दर्ता भएका सवारी साधनको विद्युतीय अभिलेख राख्ने काम सकिएको बताए।

'कास्कीको यातायात कार्यालयका सबै सवारी साधनको फाइल तथा ढड्डालाई ‘स्क्यान’ गरेर सफ्टवेयरमा राखेपछि सेवा प्रवाह सुधारका लागि प्रभावकारी बनेको पाइयो', उनले भने, 'यस वर्ष बागलुङ र नवलपुरको यातायात कार्यालयमा दर्ता भएका सवारी साधनको फाइल र ढड्डालाई डिजिटलाइजेसन गर्न लागेका छौँ।'

कास्कीको यातायात कार्यालयमा सफ्टवेयरको विकास गरेर नमूना र परीक्षणका लागि देशमै पहिलो पटक सवारी साधनको विद्युतीय अभिलेख राखिएको थियो। चालु आर्थिक वर्षमा बागलुङ र नवलपुरको यातायात कार्यालयमा दर्ता भएका सवारी साधनको अभिलेख डिजिटलाइजेसन गर्न दश/दश लाख रूपैयाँ बजेट विनियोजन गरिएको मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले बताए। 'बागलुङमा तीस हजार र नवरपुरमा १५ हजार सवारी साधन दर्ता भएका छन्', उनले भने, 'यस वर्ष दुुवै कार्यालयलाई सवारी साधनको ढड्डा र फाइलमुक्त बनाउने तयारीमा छौँ, डुम्रेमा दर्ता भएका सवारी साधनको संख्या कम भएकाले कार्यालयकै जनशक्तिमार्फत डिजिटलाइजेसन हुन्छ।'

images

प्रवक्ता पौडेलका अनुसार कास्कीमा सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित फाइल र ढड्डालाई पनि डिजिटलाइजेसन गर्न चालुु आर्थिक वर्षमा दश लाख रूपैयाँ विनियोजन गरिएको छ। तीन लाख सवारी साधनको ७३ लाख चित्रलाई स्यान गरेर ‘ट्रान्सपोर्ट म्यानेजमेन्ट’ सफ्टवेयरमा राखेको यातायात कार्यालय कास्की (सवारी) का प्रमुख डिल्लीराम रिज्यालले बताए।

'फाइल र ढड्डा खोज्दा धेरै समय लाग्ने भएकाले सेवाग्राहीलाई मर्का परेको थियो', उनले भने, 'अहिले सबै विवरण सफ्टवेयरमा हेर्न पाउने भएपछि सेवाग्राही घण्टौँ लाइन बस्नुपर्ने समस्या हटेको छ।' फाइल र ढड्डा खोज्दा हुने समयको बचत, जनशक्तिलाई कामको भार कम पर्ने र कार्यालय व्यवस्थित बनेको छ। पुराना फाइल सम्बन्धित सवारी धनीलाई फिर्ता गर्न थालिएको छ।

सफ्टवेयरमा सवारी साधनको नम्बर, कम्पनी, रङ, बीमा, सवारी धनीको नाम, ठेगाना, सम्पर्क नम्बरलगायतका विवरण राखिएको छ। सफ्टवेयरमा कर निर्धारण गर्ने विधा थप गर्न र क्षमता विस्तारको तयारी गरिएको मन्त्रालयले जनाएको छ।

गण्डकीमा सबैभन्दा बढी पोखराको यातायात कार्यालयमा सवारी साधन दर्ता हुने गरेका छन्। आव २०७९/८० मा ११ हजार, २०७८/८० मा १९ हजार र २०७७/७८ मा ३४ हजार सवारी साधन दर्ता भएका थिए। सो कार्यालयले गत आवमा दुई अर्ब पाँच करोड साठी लाख ४८ हजार दुई सय ६४ राजस्व संकलन गरेको थियो। रासस


प्रकाशित : बुधबार, भदौ २७ २०८००६:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend