आइतबार, असोज ६ गते २०८१    
images
images

अमेरिका, बेलायतसम्म पुग्छ महेन्द्रको भोजपुरे खुकुरी, वार्षिक १० लाखसम्म हुन्छ आम्दानी

images
बुधबार, भदौ २७ २०८०
images
images
अमेरिका, बेलायतसम्म पुग्छ महेन्द्रको भोजपुरे खुकुरी, वार्षिक १० लाखसम्म हुन्छ आम्दानी

आफ्ना पितापुर्खाले बनाएको भोजपुरे खुकुरीको बजारमा छुट्टै पहिचान रहेकाले यसलाई बचाइराख्न आफूले पनि यो पेसालाई निरन्तरता दिएको उनी बताउँछन्। पछिल्लो समय कालिगड पेसासँगै भोजपुरे खुकुरी लोप हुने अवस्थामा पुगेको उनले बताए।

images
images

भोजपुर- भोजपुरे खुकुरी बनाउने कालिगड व्यवसाय सञ्चालन गरेर भोजपुरका महेन्द्रकुमार विश्वकर्माले मनग्य आम्दानी गर्दै आएका छन्। लोप हुने अवस्थामा रहेको कालिगड पेसालाई अँगालेर उनले वार्षिक ८ लाख रूपैयाँदेखि १० लाख रूपैयाँसम्म आम्दानी गर्दै आएका छन्।

images
images
images

भोजपुर नगरपालिका-५ बोखिमका विश्वकर्माले बाउबाजेले गर्दै आएको कामलाई निरन्तरता दिँदै ४० वर्षदेखि यो पेसा गर्दै आएको बताए। आफ्ना पितापुर्खाले बनाएको भोजपुरे खुकुरीको बजारमा छुट्टै पहिचान रहेकाले यसलाई बचाइराख्न आफूले पनि यो पेसालाई निरन्तरता दिएको उनको भनाइ छ।

'पछिल्लो समयमा कालिगड पेसासँगै भोजपुरे खुकुरी लोप हुने अवस्थामा छ', विश्वकर्माले भने, 'भोजपुरे खुकुरी बनाउने हाम्रो पुर्ख्यौली पेसा हो। भोजपुरे खुकुरीको मौलिकतालाई बचाउँदै पेसालाई नयाँ पुस्तासम्म पुर्याउन जुटेको छु। यही पेसाबाट राम्रै आम्दानी पनि गरिरहेको छु।'

जिजुबाजे गोपे विश्वकर्मा, बाजे जंगबहादुर विश्वकर्मा र बुवा सिंहबहादुर विश्वकर्माले यही पेसा गरेर नै जीवन बिताएको उनले बताए। तत्कालीन राजा महेन्द्र शाहको सवारी हुँदा आफ्ना बुवाले मेरो सीपले बनाएको भोजपुरे खुकुरी भनेर २०१३ सालमा चढाएपछि भोजपुरे खुकुरीको पहिचान अझ चुलिएको उनको भनाइ छ। त्यो समयमा खुकुरी चढाएबापत एक हजार चार सय रूपैयाँ राजाबाट बक्सिससमेत पाएको विश्वकर्माले सुनाए।

images

'भोजपुरे खुकुरी बनाउनेमा धेरै वर्षदेखि हाम्रा बाउबाजेको छुट्टै पहिचान छ', उनले भने, 'मैले त्यही पेसालाई निरन्तरता दिँदै भोजपुरे खुकुरी बनाउँदै आएको छु। विगतमा पाएको ख्यातिमा आँच आउन नदिन परम्परागत औजार उपकरणको प्रयोग गरेर नै खुकुरी बनाउँछु। बजारमा पुरानोशैलीबाट बनाइएका खुकुरी पाउन मुस्किल छ।'

‘महेन्द्र खुकुरी उद्योग’ दर्ता गरेर कालिगड पेसागर्दै आएका विश्वकर्माले आफुले बनाएको खुकुरी एक हजार पाँच सयदेखि ३० हजार रूपैयाँसम्ममा बिक्री गर्दै आएको बताए। यहाँ निर्माण भएका खुकुरी स्थानीय बजारसँगै जापान, अमेरिका, बेलायतलगायत देशमा उपहारको रुपमा जाने गरेको बताए। आफुले सिरुपाते, कोथीमोडा, बाँसपाते, बुदुना र तीनपाटा आकारका भोजपुरे खुकुरीसँगै मागका आधारमा तरवार, कट्टीलगायत सामग्री निर्माण गर्ने गरेको उनले जानकारी दिए।

१८ वर्ष नेपाली सेनामा जागिर खाएर आएपछि विश्वकर्माले पुनः छोराहरुसहित यो पेसालाई निरन्तरता दिएको बताइ। 'भोजपुरको पहिचान झल्कने विभिन्न आकारका खुकुरी निर्माण गर्दै आएको छु', उनले भने, 'गुणस्तरका कारण बाहिर पसलमा पाउनेभन्दा मैले बनाएका खुकुरी महँगा छन्। अन्य बजारमा पाइने खुकुरीको तुलनामा गुणस्तर फरक हुन्छ। पहिलो पटक किन्ने मान्छेलाई पहिचान गर्न समय लाग्छ।'

कालिगड विश्वकर्माका दुई छोराले पनि यही पेसा गर्दै आएका छन्। बजारको अझ राम्रो व्यवस्थापन हुनसके वार्षिक २० लाख रूपैयाँसम्म आम्दानी लिन सकिने छोरा ज्ञानेन्द्रले बताए। गाउँमा रहेको उद्योगबाट सिधै बाह्य बजारमा पठाउन सक्ने वातावरण भए राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ। पुर्ख्यौली कामलाई निरन्तरता दिँदै भावी पुस्तासम्म पुर्‍याउने लक्ष्यले स्नातक तह पढेर पनि कालिगड पेसा गर्दै आएको ज्ञानेन्द्रको भनाइ छ।

मेहनत गरेर लाग्न सके विदेशमा हुने कमाइ यही गर्न सकिने उनी बताउँछन्। 'यो पेसामा युवापुस्ताको रुचि कम हुँदै गएको अवस्था छ', उनले भने, 'हाम्रो गाउँमा विगतमा १० परिवार कालिगड रहेकामा अहिले हामीले मात्र गर्दै आएका छौँ। यसलाई बचाउनुपर्छ भन्ने लागेर नै अन्य काममा नलागेर कालिगड पेसा गर्दै आएको छु। यसबाट आम्दानी पनि राम्रै छ।'

खुकुरीले ख्याति कमाएको जिल्लामा दक्ष कालिगड पाउन समस्या छ। खुकुरी बनाउने पेसालाई अपहेलनाका रूपमा हेरिने गरिएका कारण पनि यो पेसा संकटमा पर्ने अवस्था छ। व्यवसाय सञ्चालनका लागि कच्चा पदार्थसँगै गुणस्तरीय फलामको अभाव छ। राज्यले यस्ता उद्योगको सहज सञ्चालनका लागि आवश्यक सहयोग गर्नुपर्ने उनको भनाइ छ।

'यो व्यवसाय सञ्चालन गर्न धेरै नै समस्या छन्', विश्वकर्माले भने, 'दैनिक कामकाजका लागि कोइला, बिँड र दापका लागि चाहिने काठसँगै गुणस्तरीय फलाम पाउन मुस्किल पर्छ। बनाएको खुकुरी बिक्रीका लागि उपयुक्त बजार छैन। बिचौलियाको मारमा हामी उत्पादक परेको अवस्था छ। सरकारले बजारीकरणका साथै आवश्यक सहयोग दिए सहज हुने थियो।'

बजारको राम्रो व्यवस्था नहुँदा मेहनतअनुसारको आम्दानी लिन कठिनाइ हुने गरेको विश्वकर्माको उनको भनाइ छ। एउटा सादा खुकुरी बनाउन दुई जनालाई एक दिन र ठूलो तथा बुट्टा भएको खुकुरी र दाप बनाउन चारदेखि पाँच दिनसम्म लाग्ने गरेको छ। आफूले बनाएको खुकुरीमा बाउबाजेले जस्तै घरेलु औजार उपकरणको सहायताले पुरानो शैलीबाट सान लगाएर पाइनसँगै धार लगाउने भएकाले आकर्षकसँगै लामो समयसम्म टिकाउ हुने उनको भनाइ छ।

पछिल्लो समय गुणस्तरभन्दा पनि सजिलोको बाहनामा पुरानो शैलीमा भोजपुरे खुकुरी बनाउने चलन हराउँदै गएको छ। गुणस्तरीय ढंगले पाइन नलगाएको खण्डमा हेर्दा राम्रो देखिए पनि खुकुरी केही समयमा बिग्रने विश्वकर्मा बताउँछन्। सस्तोका नाममा बाहिरबाट आउने खुकुरीले भोजपुरे खुकुरीको पहिचान हराउने अवस्था आएको उनले बताए।

'भोजपुरे खुकुरी भन्नेबित्तिकै बनावट र आकार नै विषेश प्रकारको हुन्छ', विश्वकर्माले भने, 'घरेलु औजारको प्रयोग गर्दै हातको सहायताले निर्माण गरिने भएकाले यो खुकुरी गुणस्तरीयसँगै आकर्षक देखिन्छ। तर उपभोक्ताले सस्तो खोज्ने चलन छ। बजारमा पाउने खुकुरी र हामीले बनाएको भोजपुरे खुकुरीमा फरक छ।'

खुकुरी बनाउने पराम्परागत शैलीलाई यथावत् राख्दै पेसालाई जोगाउन राज्यले समस्याको पहिचान गरी आवश्यक सहयोगसँगै प्रोत्साहनका कार्यक्रम सञ्चालन गरे यसलाई बचाइराख्न टेवा पुग्ने कालिगड विश्वकर्मा बताउँछन्। रासस


प्रकाशित : बुधबार, भदौ २७ २०८००६:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend