आइतबार, असोज ६ गते २०८१    
images
images

पाँच हजारबाट सुरु भएको व्यवसायमा लाखौँ पुग्यो लगानी, मासिक डेढ लाखसम्म आम्दानी

images
मंगलबार, भदौ २६ २०८०
images
images
पाँच हजारबाट सुरु भएको व्यवसायमा लाखौँ पुग्यो लगानी, मासिक डेढ लाखसम्म आम्दानी

हाल रिचाले मासिक १० लाख रूपैयाँको कारोबार गर्छिन्। जसबाट एक लाख ५० हजार रूपैयाँको हाराहारीमा नाफा हुने गरेको उनको भनाइ छ।

images
images

बाँके- 'अरुको काम गरेर पैसा कमाउनु र सानोतिनो भए पनि आफ्नै व्यवसायबाट पैसा कमाउनुमा धेरै फरक हुँदोरहेछ', यो अनुभव हो नेपालगञ्ज उपमहानगरपालिका-१८ कारकाँदो निवासी जेडी कलेक्सनकी सञ्चालक रिचा लुइँटेलको।

images
images
images

सानै भए पनि आफ्नै व्यवसाय सुरु गर्नुपर्छ भन्ने सोचले रिचाले गत वर्षको पुसदेखि सौन्दर्य सामग्रीको व्यापार सुरु गरिन्। तत्कालीन समयमा पाँच हजार रूपैयाँ लगानीमा व्यापार सुरु गर्दा एउटै सामान बिक्रीबाट दुई सयदेखि दुईसय ५० रूपैयाँसम्मको फाइदा हुने गरेको उनले बताइन्।

'सुरुमा सानो पुँजीमा पाँच वटा जति गहना किनेकी थिएँ। त्यो जम्मा पाँच हजारको थियो', उनले भनिन्, 'एउटा गहनाबाट त्यतिखेर दुई सय ५० सय रूपैयाँजतिको नाफा भएको थियो। त्यसमा पनि मैले जम्मा तीन वटा बिक्री गरेँ भने बाँकी दुई वटा साथीलाई उपहार दिएँ।'

विगत दुई वर्षदेखि निजी अस्पतालमा प्रशासनिक फाँटमा काम गर्ने उनको तलब मासिक ३५ हजार रूपैयाँ थियो। तर उनी त्यो कामबाट सन्तुष्ट भइनन्। आफ्नै लगानीमा र पहिचानमा केही गर्नुपर्छ भन्ने सोचले रिचाले घरबाटै ‘आर्टिफिसियल ज्वेलरी’को व्यापार गर्न सुरु गरिन्। जुन नेपालगञ्जमा एकदमै नयाँ थियो।

images

'अरुको भन्दा फरक केही गर्नुपर्छ भन्ने मनमा सधैँ लागिरहन्थ्यो। त्यो फरक मैले नेपालगञ्जमा आर्टिफिसियल गहनाको व्यापार नै देखेँ', उनले भनिन्, 'यो व्यवसायको बारेमा धेरै अध्ययन गरेर मात्रै लगानी गर्न सुरु गरेँ र आफ्नै घरबाट यसको सुरु गरेँ।' 

उनले व्यवसायको विज्ञापन फेसबुक र टिकटकलगायतका सामाजिक सञ्जालमार्फत गरिरहेकी छिन्। उनी टिकटकमा लाइभमार्फत सामानको विशेषता र मूल्य बताउँछिन्। रिचाका लागि टिकटक सामाजिक सञ्जालको एउटा निकै नै प्रभावकारी माध्यम बनेको छ। 'अहिले टिकटकको जमाना भएकाले मैले पनि यसैबाट व्यापारको प्रचारप्रसार गरिरहेकी छु', उनले भनिन्, 'टिकटकबाटै व्यवसायको प्रचार गर्न निकै नै सजिलो मात्रै भएको छैन, व्यापार पनि बढेको छ।'

हाल उनले मासिक १० लाख रूपैयाँको कारोबार गर्छिन्। जसबाट एक लाख ५० हजार रूपैयाँको हाराहारीमा नाफा हुने गरेको उनको भनाइ छ। 'घरबाटै व्यवसाय गरिरहेकाले भाडा तिर्नुपर्दैन, बिहानैदेखि रातिसम्म उनको घरमा सामान किन्न आउनेको घुइँचो हुने गरेको उनले सुनाइन्।

हिजोआज रिचालाई घरमै आएका ग्राहकलाई सामान बेच्नदेखि अनलाइन अर्डर गरेका सामान कुरियर गर्न भ्याइनभ्याइ हुने गरेको छ। महिला आर्थिक रुपमा आत्मनिर्भर हुन आवश्यक छ भन्ने मान्यता राख्ने रिचालाई गत वर्ष फागुनमा महिला उद्यमी संघ बाँकेको आयोजनामा सम्पन्न पाँचदिने मेलाले निकै सहयोग गरेको थियो।

व्यवसाय सुरु गरेको केही समयमै महिला उद्यमी संघको व्यापार मेलाले रिचाको आर्टिफिसियल गहनाको व्यापारलाई चिनाउन सहयोग पुर्‍यायो। उनका अनुसार उक्त मेलामा रिचाले ६५ हजार रूपैयाँको लगानीबाट एक लाख ३० हजारको आम्दानी गरेकी थिइन्। 'त्यतिबेला भखैरै व्यापार सुरु गरेकी थिएँ। त्यो मेला मेरा लागि एउटा सुनौलो अवसर थियो', उनले भनिन्, 'मैले तत्कालीन समयमा जोखिम लिए ६५ हजार रूपैयाँ लगानी गरेकी थिएँ तर नसोचेकै फाइदा भयो। मैले एक लाख ३० हजार रूपैयाँको आम्दानी गर्न सफल भएकी थिएँ।' रासस


प्रकाशित : मंगलबार, भदौ २६ २०८०११:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend