आइतबार, असोज ६ गते २०८१    
images
images

श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्न राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन

images
मंगलबार, भदौ २६ २०८०
images
images
श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्न राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई प्रदान गरिने सबै प्रकारका कन्सुलर सेवालाई सूचना प्रविधिमा आधारित बनाउँदै सहज र प्रभावकारी रूपमा सेवा प्रवाह गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिए।

images
images

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशस्थित नेपाली दूतावासका राजदूतलाई नेपाली श्रमिक तथा कामदारको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन्।

images
images
images

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित श्रम आप्रवासनसम्बन्धी समस्या र तिनको समाधानसम्बन्धी अन्तरक्रियामा उनले विदेशमा रहेका नेपाली कामदारले अनेकन समस्या झेल्नुपरेकामा ध्यानाकर्षण गराउँदै उक्त निर्देशन दिएका हुन्।

सरकारले पहिलोपटक विदेशस्थित नेपाली राजदूतलाई बोलाएर नेपाली श्रमिक तथा कामदारले भोग्नुपरेका समस्या र कठिनाइबारे छलफल गरेको हो। कार्यक्रममा राजदूतहरूले आफ्नो रिपोर्टका साथै आगामी कार्ययोजना प्रस्तुत गरेका थिए।

प्रधानमन्त्री दाहालले अन्तरक्रियामा राजदूतले उठाएका विषय सम्बोधन गर्दै निर्देशित गरेका छन्। सम्बोधनमा उनले अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध, नेपालको पर्यटन प्रवर्द्धन र विदेशमा कार्यरत नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्न जोड दिएका हुन्। 'नेपाली श्रमिक तथा कामदारको सुरक्षित र मर्यादित आप्रवासनमा यस प्रकारको छलफलले महत्वपूर्ण योगदान गर्ने मैले विश्वास लिएको छु', प्रधानमन्त्री दाहालले भने।

images

पछिल्लो समय आन्तरिक रोजगारीमा देखापरेको अप्ठ्यारो अवस्थामा वैदेशिक रोजगारीले देशको युवा जनशक्तिलाई रोजगारी सिर्जनाको क्षेत्रमा सहयोग पुर्‍याएको उनको भनाइ छ। मुलुकको भुक्तानी सन्तुलनमा सहयोगलगायत पुँजी, सीप र प्रविधिले नेपालको विकासमा महत्वपूर्ण योगदान गर्नुका साथै नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र मित्रतामा समेत सहयोग पुगेको प्रधानमन्त्री दाहालले उल्लेख गरे।

'वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक ठगीमा पर्ने, मानव अधिकारको प्रत्याभूति र समयमै राहत उद्धार हुन नसक्नु र कार्यस्थलमा विभिन्न प्रकारका जोखिममा पर्नुलगायत समस्याको सामना गरिरहेका छन्, यसको सम्बोधन हाम्रो गम्भीर चासोको विषय रहेको छ', उनले भने।

नेपालीको हकहित संरक्षण हुने, न्यूनतम सेवा सुविधाको प्रत्याभूति हुने, सामाजिक सुरक्षाको सुनिश्चितता र गुनासो सुनुवाइको प्रभावकारी संयन्त्र विकास गर्दै श्रम आप्रवासनलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्न श्रम कूटनीतिलाई थप प्रभावकारी बनाउनुपर्ने प्रधानमन्त्री दाहालको भनाइ छ।

'कुनै पनि नेपाली नागरिक विदेशी भूमिमा समस्यामा परेको बेला कूटनीतिक नियोगले गुनासो सुनुवाइ गरेनन् भन्ने अवस्थाको अन्त्य गर्न यहाँको ध्यान जानेछ। म परराष्ट्र मन्त्रालय, राजदूत र श्रम प्रशासनसँग सम्बद्ध सबै निकायलाई नेपालीको हकहितका लागि गम्भीर भएर क्रियाशील हुन निर्देशित गर्दछु', उनले भने, 'हामीले एकातिर देशभित्रै आन्तरिक रोजगारीको अवसरमा वृद्धि गर्नुपर्नेछ भने अर्कोतर्फ वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्नुपर्नेछ।'

व्यापार घाटा नेपालको अर्थतन्त्रको ठूलो चुनौतीका रूपमा रहिआएको स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले देशगत तथा वस्तुगत व्यापार विविधिकरण गरी व्यापार सन्तुलनलाई मुलुकको पक्षमा कायम गर्नुपर्ने भएकाले त्यसमा सक्रिय भूमिका रहनुपर्नेमा जोड दिए। वैदेशिक रोजगारीमा जाने श्रमिकलाई प्रदान गरिने सबै प्रकारका कन्सुलर सेवालाई सूचना प्रविधिमा आधारित बनाउँदै सहज र प्रभावकारी रूपमा सेवा प्रवाह गर्न प्रधानमन्त्री दाहालले निर्देशन दिए।

'वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने कामको सुरूवात भइसकेको छ। यसलाई प्रभावकारी बनाउँदै गन्तव्य मुलुकमासमेत उपलब्ध सामाजिक सुरक्षाका योजनामा श्रमिक आबद्ध हुने व्यवस्था मिलाउन प्रभावकारी भूमिका खेल्नुपर्दछ', प्रधानमन्त्रीले भने, 'केही समयभित्रै विदेशमा रहेका सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने सरकारको लक्ष्य रहेकामा उक्त लक्ष्य हासिल गर्न क्रियाशील रहन सम्पूर्ण राजदूतलाई निर्देशित गर्दछु।'

दुईपक्षीय श्रम सम्झौता पुनरावलोकन र विस्तार, मागपत्रको प्रमाणीकरण, कानूनी प्रतिरक्षा, घरेलु कामदारसँग सम्बन्धित समस्याको सम्बोधन, सुरक्षित आवास, अभिलेख नभएका श्रमिकको अभिलेखीकरणलगायत विषयमा तत्काल कार्ययोजना बनाइ  काम सुरु गर्नसमेत प्रधानमन्त्री दाहालले आग्रह गरे। यस अन्तरक्रियाबाट विदेशमा रहेका नेपाली श्रमिकका समस्या समाधान गर्न, नेपालको कूटनीतिक क्षमतालाई सुदृढ र विस्तार गर्न, देशभित्र विदेशी लगानीको वातावरण सिर्जना गर्न एवं नेपालको बहुआयमिक विकासमा महत्वपूर्ण योगदान पुग्ने उनले विश्वास व्यक्त गरे। रासस


प्रकाशित : मंगलबार, भदौ २६ २०८००९:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend