आइतबार, असोज ६ गते २०८१    
images
images

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन श्रम आप्रवासन र कूटनीतिक नियोगको भूमिकाबारे छलफल गर्दै प्रधानमन्त्री

images
सोमबार, भदौ २५ २०८०
images
images
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन श्रम आप्रवासन र कूटनीतिक नियोगको भूमिकाबारे छलफल गर्दै प्रधानमन्त्री

श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्न राजदूत र नियोग प्रमुखलाई प्रधानमन्त्रीले काठमाडौं बोलाएका हुन्।

images
images

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन गन्तव्य मुलुकस्थित नेपाली राजदूतसँग बृहत् छलफल गर्दैछन्।  

images
images
images

प्रधानमन्त्री दाहालको अग्रसरतामा सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार र मंगलबार हुने छलफलका लागि गन्तव्य देशका राजदूत र नियोग प्रमुख काठमाडौं आइसकेका छन्।

प्रधानमन्त्री दाहालले श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्न नेपालका श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखलाई काठमाडौं बोलाएका हुन्।

प्रधानमन्त्री दाहालको अध्यक्षतामा हुने सो छलफल श्रम आप्रवासनका सवाल र कूटनीतिक नियोगको भूमिकाका विषयमा केन्द्रित हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

images

वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृति लिँदादेखि कार्यस्थलसम्म भोगेका समस्या, त्यसको समाधानको उपाय निकाल्ने र निष्कर्षलाई निर्णयमा बदल्ने काम बैठकले गर्नेछ। बैठकमा विभिन्न माध्यम र रूपमा भइरहेको मानव तस्करीलाई कसरी रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्नेमा छलफल केन्द्रित हुनेछ।

कानूनी प्रावधान, नीतिगत व्यवस्थालगायत विषयमा छलफल गरी रणनीति र योजना बनाएर कार्यान्वयनमा लैजाने सरकारको तयारी छ। वैदेशिक रोजगारका क्रममा गन्तव्य मुलुकमा नेपाली श्रमिकले भोग्दै आएका समस्या फरकफरक छन्। वैदेशिक रोजगारीका क्रममा हुने ठगीका घटना बढ्दै गएका छन्। ठगी नियन्त्रण गर्न विशेष योजना बनाउनुपर्नेमा आवाज उठ्दै आएको छ।

छलफलमा श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयको सहभागितासमेत रहेको छ। बैठकले सुरक्षित श्रम गन्तव्यका लागि आवश्यक कानूनी र संरचनात्मक सुधारको बाटो पहिल्याउने छ। यसप्रकारको बैठक नेपालमा प्रधानमन्त्रीको पहलमा पहिलो पटक हुँदैछ।

यही भदौ ७ गते सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्री, सरोकारवाला मन्त्रालय र विभागका प्रमुखसहितको बैठकले श्रम गन्तव्य मुलुकमा रहेका नेपाली राजदूत र नियोग प्रमुखसँग श्रम आप्रवासनका विषयमा छलफल गर्ने निर्णय गरेको थियो। वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या समाधानका गन्तव्य मुलुकमा रहेका नेपाली दूतावासबाट आवश्यक तथ्यांक लिन मुख्यसचिवको नेतृत्वमा सरोकारवाला मन्त्रालयका सचिव सम्मिलित कार्यदल बनाइएको थियो। रासस


प्रकाशित : सोमबार, भदौ २५ २०८००४:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend