आइतबार, असोज ६ गते २०८१    
images
images

बीस बिघामा लगाइएको धानबाली हात्तीका बथानले पारे सखाप, सुर्तामा किसान

images
शनिबार, भदौ २३ २०८०
images
images
बीस बिघामा लगाइएको धानबाली हात्तीका बथानले पारे सखाप, सुर्तामा किसान

स्थानीयका अनुसार पछिल्लो तीनदिनयता यसरी जंगली हात्ती गाउँ पस्न थालेका छन्। धान पूरै खाएर अघाएपछि उज्यालो हुनुअघिमात्रै हात्तीको बथान फर्कने गर्छन्। हात्तीले खाएर र खुट्टाले कुल्चेर धानबालीमा पूरै क्षति पुगेको छ।

images
images

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका-५ गर्जमुनी र खजुवाका २५ बढी परिवारको झन्डै २० बिघा क्षेत्रफलमा लगाइएको धानबाली जंगली हात्तीको बथानले नष्ट गरेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको बथानले करिब २० बिघामा लगाइएको धानबालीमा क्षति पुर्‍याएको हो।

images
images
images

स्थानीय राजबहादुर तमोली वर्षभरि खानका लागि खेतमा रोपेको धान पाक्नै लागेका बेला जंगली हात्तीको बथानले खाएर सखाप पारेपछि चिन्तित भएका छन्। एक बिघामा लगाएको धानबाली पूरै जंगली हात्तीले सखाप पारेको उनले बताए।

'बीउ, मलखाद, सिँचाइ, जोताइ र रोपाहा गरी ३० हजार रूपैयाँभन्दा बढी खर्च गरेर धान रोपेको थिए', तमोलीले भने, 'गए राति आएको हात्तीको बथानले एकैछिनमा पूरै धानबाली स्वाहा बनाएको छ। धानका बाला सबै खाएको छ, परालमात्रै बाँकी छ।' पछि खानका लागि धान खरिद गर्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ थियो।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट शुक्रबार साँझ ७ः०० बजे तिर हात्तीको बथान धानखेतमा छिरेका स्थानीय जया धामीले बताइन्। उनका अनुसार पछिल्लो तीनदिनयता यसरी जंगली हात्ती गाउँ पस्न थालेका छन्।

images

'धान पूरै खाएर अघाएपछि उज्यालो हुनुअघिमात्रै हात्तीको बथान फर्कने गरेका छन्', धामीले भने, 'खाएर र खुट्टाले कुल्चेर धानबालीमा पूरै क्षति पुगेको छ।'

हात्तीको बथान होहल्ला गरेर, टिन बजाएर, आगो बालेर र पटाका पड्काएर पनि नभाग्ने गरेको स्थानीय बताउँछन्। 'खेतमाा पसेको हात्तीको बथान भगाउन रातभरि खेतमै जाग्राम बस्दै आएका छौँ', जंगी साउदले भने, 'हात्तीको बथान कुनै पनि हालतमा भाग्दैन, पेट भरिएपछि आफै निकुञ्जतर्फ लाग्ने गरेका छन्।' 

वडाध्यक्ष चक्रबहादुर खड्काका अनुसार जंगली हात्तीले धानबालीमा क्षति पुर्‍याउन थालेपछि निकुञ्ज कार्यालयलाई नियन्त्रणका लागि आग्रह गरिएको बताए। 'हात्तीलगायतका जंगली जनावर नियन्त्रणका लागि धेरै पहिलादेखि नै विद्युतीय मेसवायर जडानको माग गर्दै आएका छौँ', उनले भने, 'त्यसको सुनवाइ हुनसकेको छैन।' नगरपालिकाबाट मेसवायर जडानका लागि बजेटको व्यवस्था हुन नसक्दा प्रदेश र संघ सरकारसँग माग गरिएको वडाध्यक्ष खड्काको भनाइ थियो।

यसैबीच आज बिहान सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी र प्रदेशसभा सदस्य ओमविक्रम भाटले छुट्टाछुट्टैरूपमा धानबालीमा जंगली हात्तीले क्षति पुर्‍याएको स्थानको अवलोकन गरेका छन्। मन्त्री धामीसमक्ष स्थानीय बासिन्दाले हात्ती नियन्त्रणका लागि भरपर्दो व्यवस्था मिलाउन माग गरेका छन्।

मन्त्री धामीले मन्त्रालयबाट बजेट विनियोजन गरी मेसवायर जडान हुन नसकेका क्षेत्रमा तत्काल कार्य अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे। निकुञ्ज नजिकैका गर्जमुनि र खजुवा क्षेत्रमा प्रत्येक वर्ष जंगली हात्तीले धान, गहुँ, तरकारी लगायतबालीमा क्षति पुर्‍याउँदै आएको छ। रासस


प्रकाशित : शनिबार, भदौ २३ २०८००६:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend