आइतबार, असोज ६ गते २०८१    
images
images

जनकपुरमा व्यापारमा मन्दी : सयभन्दा बढी पसल बन्द, लिलाम सकार्नेसमेत भेटिँदैनन्

images
बुधबार, भदौ २० २०८०
images
images
जनकपुरमा व्यापारमा मन्दी : सयभन्दा बढी पसल बन्द, लिलाम सकार्नेसमेत भेटिँदैनन्

कोरोना महामारी, अन्तर्राष्ट्रिय प्रभाव, आर्थिक शिथिलता, कारोबारमा आएको मन्दीलगायत कारण सिंगो देशले समस्या भोगिरहेको छ। मधेस प्रदेशमा पनि व्यापार व्यवसाय ओरालो लागिरहेको छ। यहाँका बजार सुनसान छन्।

images
images

जनकपुरधाम- जनकपुरका पवन ठाकुरले विगत ४० वर्षदेखि सुनचाँदीको व्यापार गर्दै आएका छन्। कुनै बेला उनको न्यू महालक्ष्मी ज्वेलर्समा ग्राहक भिड थामी नसक्नु हुन्थ्यो। दैनिक १०/१२ लाख रूपैयाँसम्मको व्यापार गर्न कुनै पर्व वा विवाह महोत्सव पर्खिनु पर्दैनथ्यो। अहिले ग्राहक पाउनै मुस्किल भएको ठाकुर बताउँछन्। डेढ दुई लाखको व्यापार गर्न पनि ‘विशेष समय कहिले आउला’ भनेर पर्खिनुपर्ने अवस्था आएको उनको भनाइ थियो।

images
images
images

जनकपुरमा ४५ वर्षदेखि कपडा व्यापार गर्दै आएका रामबाबु गुप्ताले पहिले पाँच/सात जनालाई रोजगारी दिएका थिए। केही वर्षयता व्यापार खस्किँदो अवस्थामा रहेकाले आधा कर्मचारी कटौती गरेर व्यापार चलिरहेको गुप्ताले बताए। पहिलेको जस्तो व्यापार नहुने, सजिलै ऋण नपाइनेलगायत कारणले व्यापारीहरु मर्कामा परेको उनले बताए।

जनकपुरधाम उपमहानगरपालिका-४ स्थित रामपरी स्टोरका सञ्चालक शेखर साहको पनि यस्तै गुनासो छ। विगत १८ वर्षदेखि खाद्यान्न व्यापार गर्दै आएका उनले दैनिक उपभोग्य वस्तुको व्यापारमा समस्या होला भनेर सोचेका थिएनन्। अहिले व्यापारमा ७५ प्रतिशतले कमि आएको साहको भनाइ थियो।

'पहिले सामान लिन पालो पर्खिनुपथ्र्यो तर अहिले ग्राहक नै आउँदैनन्', उनले भने, 'पछिल्लो समय २५ प्रतिशतमा व्यापार झरेको छ। खै केको मन्दी भएर हो वा अरूको व्यापार बढेर हो रु बुझ्नै सकिरहेको छैन।'

images

'ठाकुर, गुप्ता र साहको मात्रै होइन जनकपुरका अधिकांश व्यवसायीको समस्या यस्तै छ', जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले भने। विलासिताका वस्तुको व्यापार गर्नेहरु मात्र नभई दैनिक उपभोग्य सामान बेच्ने पनि समस्यामा पर्नु गम्भीर चिन्ताको विषय भएको उनले बताए।

महासेठका अनुसार जनकपुर बजार क्षेत्रमा व्यापार व्यवसाय निरन्तर ओरालो लागेपछि हालसम्म एक सयभन्दा बढी व्यापारीले सटर बन्द गरिसकेका छन् भने यो संख्या निरन्तर बढ्दो क्रममा छ। आधा दर्जनभन्दा बढी ठूला व्यापारी बैंक तथा साहुको ब्याज तिर्न नसकेर जायजेथा छाडेर भागिसकेका उनले जानकारी दिए।

'जनकपुरधाममा कुनै बेला व्यापार गर्नका लागि सटर नै पाउँदैनथे। अहिले मुख्य बजारमै एक सयभन्दा बढी सटर बन्द अवस्थामा छन्। सटर खोल्नेहरुको व्यापार पनि निराशाजनक छ', महासेठले भने, 'यसको कारण र परिणामका विषयमा न राज्यका निकाय न त राजनीतिक नेतृत्व गम्भीर छन्। अर्थतन्त्र झनझन् जटिल अवस्थातर्फ धकेलिँदैछ।'

‘लिलाम गर्दा पनि सकार्ने भेटिँदैनन्’

व्यापारमा सुधार नहुँदा पसलहरु बन्द हुने मात्रै होइन यहाँ बैंकको ऋण तिर्न नसक्दा असुल उपरका लागि बैंकले लिलामको सूचना गर्दा लिलाम सकार्ने (बोलकबोल गर्ने) मान्छेसमेत भेटिँदैनन्। आफ्नो पसल अगाडि वर्षौँदेखि फार्मेसी सञ्चालन गर्दै आएका व्यापारीको घर लिलाम हुने अवस्था आएपछि वाणिज्य संघको नेतृत्वमा रहेका पदाधिकारीले सस्तो मूल्यमा घर खरिद गरिदिएको चेम्बर अफ कमर्स मधेस प्रदेशका अध्यक्षसमेत रहेका सुनचाँदी व्यवसायी ठाकुरले बताए।

'वर्षौँदेखि फार्मेसी पसल सञ्चालन गर्दै आएका व्यवसायी रातारात पलायन भएका छन्। बैंकको ब्याज तथा अन्य साहुमहाजनबाट लिएको ऋण तिर्न नसकेपछि उहाँ तनावमा हुनुहुन्थ्यो', उनले भने, 'संघका एक पदाधिकारीले आफूलाई तिनुपर्ने ऋण कटाएर बाँकी केही रकम थपेर घर लिएको सुन्नमा आयो। त्यसैगरी अरू धेरै व्यापारी पलायन हुँदैछन्।' 

विगत केही महिनामा १०/१२ लिलामी सूचना प्रकाशित भएको भन्दै लिलाम सकार्ने मान्छे नभेट्दा संघको रोहवरमा समस्या समाधान गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष महासेठले जानकारी दिए। 'व्यापारीले ऋण तिर्न नसक्ने र लिलाम गर्दा किन्ने मान्छे नभेटिने अवस्थाले यहाँको विकराल अवस्थालाई प्रष्ट्याउँछ', उनले भने, 'अब व्यापार/व्यवसाय सुरु गर्नुभन्दा पहिला सबैले सोच्ने बेला आएको छ।'

संघका वरिष्ठ उपाध्यक्ष मनिषरमण साहले यहाँको अर्थतन्त्र र व्यापार व्यवसाय ‘स्लिपिङ मोड’ मा रहेको धारणा राखे। तत्काल समाधानको उचित उपाय ननिस्किए समस्या झन् भयावह हुँदै जाने उनको भनाइ थियो। 

यसरी निम्तियो संकट

कोरोना महामारी, अन्तर्राष्ट्रिय प्रभाव, बैंकिङ क्षेत्रमा देखिएको तरलता अभाव, आर्थिक शिथिलता, कारोबारमा आएको मन्दीलगायत कारण सिंगो देशले समस्या भोगिरहेको छ।

मधेस प्रदेश तथा राजधानी जनकपुरमा कोरोना महामारी, अन्तर्राष्ट्रिय प्रभाव, बैंकिङ क्षेत्रमा देखिएको तरलतालगायत अरू कारणले पनि अर्थतन्त्रमा समस्या थपिँदै गएको यहाँका व्यवसायीको बुझाइ छ। मधेस जनविद्रोह, भूकम्प, स्थानीय सरकार आएपछि बाटो विस्तारका क्रममा भएका अवरोध, कोरोना महामारीपछिको लकडाउनले पारेको नकारात्मक प्रभावलगायत कारणले यहाँको व्यवसाय थिलथिलो भएको व्यवसायी जीवनाथ चौधरीले बताए। एकपछि अर्को समस्या थपिएपछि व्यवसायीले टाउको उठाउनै नसक्ने गरी समस्यामा परेका उनले गुनासो गरे।

'यहाँको मुख्य आधार भनेको धार्मिक पर्यटन हो। केही वर्षसम्म पर्यटकीय गतिविधि भएका छैनन्', चौधरीले भने, 'आन्दोलन, हडताल, बन्दाबन्दीले लामो समयसम्म सटर बन्द गर्नुपर्‍यो। खर्च गर्न सक्नेहरु यहाँबाट पलायनको अवस्थामा पुगे। आम्दानी नै नभएपछि खर्च कसरी हुन्छ? सोही कारणले यहाँ व्यापारले गति लिन सकेन।'

संघका अध्यक्ष महासेठले पछिल्लो आठ/दश वर्षको अवधिमा दुई/तीन वर्ष व्यापार बन्द गर्नुपरेकाले समस्या झन् बढेको बताए 'मधेस आन्दोलन, भूकम्पको प्रभाव त छँदै थियो। विसं २०७४/७५ मा जनकपुरमा सडक विस्तारका साथै ढल निर्माणका बेला करिब छ/सात महिना व्यापार ठप्प भयो', उनले भने, 'लगत्तै कोरोना महामारीका समयमा भएको बन्दाबन्दीले व्यवसायलाई थप संकटग्रस्त बनायो। पटकपटक व्यापार बन्द हुने, घरभाडा र बैंकको ब्याज निरन्तर बढ्ने भएकाले पनि यस्तो अवस्था आयो।' 

समस्याबाटै सुधारको सुरुवात हुने हुँदा भएकाले राज्यले औद्योगिक क्रान्तिको जग बसाल्ने, आन्तरिक उत्पादन र उपभोक्ताको आम्दानी बढाउनेतर्फ ध्यान दिनुपर्नेमा व्यापारीले जोड दिएका छन्। 

'उत्पादनमूलक उद्योग छैनन्। घरजग्गामा लगानी गर्ने परिपाटी निरन्तर बढ्दो छ। यसले दीर्घकालमा अर्थतन्त्र धराशायी हुने देखिन्छ', संघका उपाध्यक्ष साहले भने, 'राज्यले अनुत्पादक क्षेत्रमा लगानी गर्ने कर्जा नीतिलाई निरुत्साहित गर्दै उत्पादनमूलक उद्योगमा सहुलियतमा कर्जाको व्यवस्था गर्नुपर्छ।'

यहाँका व्यापारीको मनोबल उचो बनाउन र तत्काल समस्या समाधानका लागि रणनीतिक पहलकदमी लिनुपर्नेमा उनले जोड दिए। अहिलेकै अवस्थामा यहाँका व्यापारी व्यापार/व्यवसाय छोडेर पलायन हुनुपर्ने भन्दै समस्या समाधानका लागि राज्यका साथै सरोकारवाला निकायले रणनीतिक पहलकदमी लिनुपर्ने उनीहरुको भनाइ थियो।


प्रकाशित : बुधबार, भदौ २० २०८००७:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend