आइतबार, असोज ६ गते २०८१    
images
images

उद्योगी व्यवसायीमा घट्दै आत्मविश्वास, देखिएन लगानीमा उत्साह

चालु आवको सुरुमै आधाले घट्यो उद्योगमा लगानी प्रतिबद्धता

images
बुधबार, भदौ २० २०८०
images
images
उद्योगी व्यवसायीमा घट्दै आत्मविश्वास, देखिएन लगानीमा उत्साह

चालु आर्थिक वर्षको ५० दिनमा दर्ता भएका उद्योग र लगानी प्रतिबद्धतालाई हेर्ने हो भने पनि उद्योगी व्यवसायीमा आत्मविश्वास घट्दै गएको र लगानी उत्साह नभएको तथ्यांकले देखाउँछ। 

images
images

काठमाडौं- कमजोर आर्थिक गतिविधिको चौतर्फी असर देखिन थालेको छ। पछिल्लो १८ महिनादेखि बजारमा घटेको माग र त्यसैका कारणले समग्र अर्थत्त्रमा आएको शिथिलताको मार अर्थतन्त्रका प्राय: सबै क्षेत्रमा देखिन थालेको छ।

images
images
images

अर्थतन्त्रमा देखिएको मन्दी, उच्च मूल्यवृद्धि तथा महँगो पुँजीका कारण लगानीकर्तामा पनि उत्साह हराउँदै गएको हो। स्वदेशी तथा विदेशी लगानीकर्ताको आत्मविश्वास खस्कँदै गएको तथ्यांकले देखाएको छ। भएकै उद्योग व्यवसाय राम्रोसँग नचलिरहेको समयमा नयाँ उद्योग व्यवसायको योजना उद्योगी व्यवसायीले पर सारिरहेका छन्। यसको प्रभाव नयाँ उद्योग दर्ताको तथ्यांकमा देखिएको छ। 

चालु आर्थिक वर्ष २०८०/०८१ को सुरुवाती समयबाट नै नयाँ उद्योग दर्ता र लगानीमा ठूलो गिरावट देखिएको छ। गत आर्थिक वर्ष २०७९/०८० मा नै आर्थिक वर्ष २०७८/०७९ को तुलाना उद्योगमा सवा १ खर्बले लगानी प्रतिबद्धतामा कमी आएको थियो।

चालु आवको ५० दिनमा दर्ता भएका उद्योग र लगानी प्रतिबद्धतालाई हेर्ने हो भने पनि उद्योगी व्यवसायीमा आत्मविश्वास घट्दै गएको र लगानी उत्साह नभएको तथ्यांकले देखाउँछ। 

images

चालु आवको साउन १ गतेदेखि भदौ १८ गतेसम्म ४६ वटा उद्योग दर्ता भएका छन्। तर अर्ब माथिका ५ वटा मात्रै उद्योग दर्ता भएका छन्। त्यसमा पनि उत्पादनमूलक उद्योग छैनन्। २ वटा हाइड्रोपावरमा मात्रै पौने १८ अर्बको लगानी रहेको छ। यसैगरी २ वटा होटलमा ३ अर्ब र एउटा इन्भेष्टमेन्ट कम्पनीमा करिब ६ अर्बको लगानी प्रतिबद्धता रहेको छ। अन्य उद्योगमा २ करोड, ५ करोडदेखि १० करोड रूपैयाँ सम्ममा विदेशी लगानी रहेका रेष्टुराँ तथा होटलहरुको संख्या बढी छ।

४६ वटा उद्योगमा जम्मा २९ अर्बको लगानी प्रतिबद्धता रहेको उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। 

गत आर्थिक वर्षको सोही अविधमा ५० वटा उद्योगमा ६१ अर्बको लगानी प्रतिबद्धता आएको थियो। तर अहिले ५० दिनमै ३२ अर्बले लगानी प्रतिबद्धतामा कमी आएको हो। गत आर्थिक वर्ष चरम दबाबमा रहेको अर्थतन्त्रमा पछिल्लो समय केही क्षेत्रका उद्योगका उत्पादन बन्द गर्ने अवस्थामा पुगेका छन्। विशेषगरी निर्माण क्षेत्रसँग सम्बन्धित उद्योगले आफ्नो उत्पादन कि धेरै कटौती गरेका छन् कि निश्चित युनिट बन्द गरेका छन्। 

हरेक क्षेत्रमा बजारमा माग घट्दा त्यसको प्रभाव भएकै व्यवसाय सञ्चालनमा परेको छ। यस्तोमा नयाँ उद्योग व्यवसायको सुरुवात कठिन हुन्छ।  निर्माण, उत्पादनमूलक उद्योग, खानी तथा थोक र खुद्रा व्यापारको क्षेत्रमा मन्दी देखिन थालेको छ। 

आर्थिक मन्दीको असर समग्र लगानी तथा नयाँ उद्योग व्यवसायको सुरुवातमा पनि देखिएको छ। नयाँ उद्योग व्यवसायमा ऋण माग गर्दै बैंकमा पछिल्लो समय प्रस्ताव पुग्नै छाडेको बैंकहरूले उल्लेख गरेका छन्। भएकै ऋणको भुक्तानी कसरी तिर्ने भन्नेमै उद्योगी व्यवसायीको दबाब भएकाले नयाँमा खासै उत्साह देखिएको छैन। 

उत्पादनमूलक उद्योगमा छैन विदेशी लगानीकर्ताको चासो

धेरै रोजगारी सिर्जना गर्ने तथा व्यापार सन्तुलनमा सहयोगी हुने क्षेत्रमा विदेशी लगानीकर्ताको चासो न्यून देखिएको छ। नेपालमा दर्ता भएका उद्योग र पाएको लगानी स्वीकृतिको तथ्यांकअनुसार ऊर्जाबाहेकका अन्य ठूला परियोजनामा विदेशी लगानीकर्ताको चासो देखिएको छैन। थोरै रोजगारी सिर्जना र न्यून उत्पादन हुने यस्ता उद्योगमा विदेशी लगानी स्वीकृत भएको हो। उत्पादनमूलक उद्योगमा विदेशी लगानीको हिस्सा विगतमा धेरै भए पनि पछिल्लो समय भने पछाडि परेको छ।

उत्पादन लागत उच्च रहेको, नेपालबाट विदेश निर्यात गर्दा प्रतिस्पर्धी नहुनेलगायतका कारणले गर्दा उत्पादनमूलक उद्योगमा विदेशी लगानीकर्ताको चासो न्यून हुँदै गएको हो। स्वदेशी खनिजमा आधारित सिमेन्टलगायतका केही मेगा परियोजनामा विगतमा लगानी आए पनि पछिल्लो समय अन्य क्षेत्रमा भने खासै आएको छैन। 

पछिल्लो ५० दिनको तथ्यांक हेर्दा सबैभन्दा धेरै सेवा क्षेत्रमा विदेशी लगानीका उद्योग दर्ता भएका छन् तर यी सबै सानो स्केलका छन्। त्यसमा पनि रेष्टुराँ तथा होटलमा रहेका छन्। सेवा क्षेत्रमा आएको विदेशी लगानीमा होटलपछि कार्गोमा धेरै रहेको छ। व्यापार सहजीकरणमा सक्रिय हुने त्यस्ता कम्पनीमा विदेशीको चासो रहेको छ।

निर्माण सेवा तथा अन्य केही भए पनि बहुमत लगानी साना स्केलमा होटल/रेष्टुराँमा र कार्गोमै रहेको छ। कार्गोमा धेरै लगानी चिनियाँहरूको रहेको छ। न्यून रोजगारीमात्र होइन लगानी पनि धेरै नहुने यस्ता क्षेत्रमा विदेशीको आकर्षण बढेको छ। 


प्रकाशित : बुधबार, भदौ २० २०८००७:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend