काठमाडौं- पूर्वपश्चिम राजमार्गजस्तै उत्तर-दक्षिण जोड्न सरकारले विभिन्न नदी किनारमा करिडोर निमार्ण गरिरहेको छ। त्यस्तै करिडोर हो- कोशी करिडोर। आर्थिक वर्ष २०६५/६६ बाट कोशी करिडोर निर्माण सुरु भएको थियो।
कोशी प्रदेशअन्तर्गत नेपाल र भारतको सीमा जोगबनीदेखि चीनको किमाथांका जोड्ने त्रिदेशीय व्यापारिक मार्गको उद्देश्यका साथ कोशी राजमार्गको अवधारण सुरु भएको हो। मोरङको रानी हुँदै विराटनगर, हिले, लेगुवा भएर संखुवासभाको किमाथांकासम्म यस आयोजनाको कुल लम्बाई ३ सय ४५ किलोमिटर रहेको छ।
उत्तर-दक्षिण कोशी करिडोर सडक आयोजना कार्यालयअन्तर्गत संखुवासभाको सदरमुकाम खाँदबारीदेखि किमाथांकासम्मको सडक खण्डमा सडक निर्माण तथा स्तरोन्नतीको काम भइरहेको सडक विभागले जनाएको छ।
खाँदबारीदेखि किमाथांका सीमासम्मको १ सय ६२ किलोमिटर मध्ये १ सय ४८ किलोमिटर सडकको नयाँ ट्र्याक खोलिसकिएको छ भने बाँकी रहेको १४ किलोमिटरमा नेपाली सेनाले नयाँ ट्र्याक खोल्ने काम गरिरहेको छ। उक्त खण्डको १०.५ किलोमिटर रहेको र हालसम्म ७ किलोमिटरको ट्र्याक खोल्ने काम सकिएको सडक विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख छ।
खाँदबारीबाट किमाथांकसम्म कुल १ सय ६२ किलोमिटर लम्बाई कायम हुनेगरि सडक निर्माण तथा स्तरोन्नती भइरहेको छ। उत्तर दक्षिण कोशी सडक योजना खाँदबारी किमाथांकाको सुरुवात आव २०६५/६६ मा भएको थियो। पछिल्लो पटक यो आयोजनाको सम्पन्न हुने अवधि संशोधन गरेर आव २०८३/८४ कायम गरिएको छ।
खाँदबारी किमाथांकासम्मको १ सय ६२ किलोमिटर लम्बाईको यो सडक आयोजनाको कुल लागत ११ अर्ब ९३ करोड रुपैयाँ अनुमान गरिएको छ। आयोजना सुरु गर्दाको लक्ष्यअनुसार यो आयोजना आव २०७९/८० मा निर्माण सम्पन्न हुनुपर्ने थियो।
यो आयोजना निर्माणका लागि हालसम्म ७ अर्ब १५ करोड ४२ लाख रुपैयाँको ठेक्का लागि सकेको छ भने खर्च रकम ५ अर्ब ६ करोड रुपैयाँमात्र भएको छ। आव २०७९/८० सम्म आयोजनाको भौतिक तथा वित्तीय प्रगति समान ४२ प्रतिशत रहेको आयोजनाले जनाएको छ।
आयोजनाको मुख्य समस्या
- अत्याधिक वषाए र हिमपालते गर्दा निर्माण कार्य अवधि कम हुनाले ठेक्काहरु समयमै सम्पन्न गर्न नसकिएको
- प्रतिकुल मौसमका कारणले निर्माण सामाग्री ढुवानीमा समस्या भएको
- बरुण खोला पारी सडक स्तरोन्नती तथा विभिन्न खोलाहरुमा पक्की पुल निर्माण नहुँदा निर्माण सामाग्री तथा खाध्य सामाग्री ढुवानीमा समस्या भएको।
आयोजनाले समस्या समाधानका लागि चालेका कदमहरु
- बरुण खोलामा अस्थायी ह्युम पाइप राखि निर्माण सामाग्री ढुवानी गरिएको
- निर्माण स्थलमा उत्पन्न भएका समस्यालाई तत्काल समाधान गरिएको
- स्थानीय निकायसँग छलफल गरि निर्माण व्यवसायीलाई काम गर्न अभिप्रेरित गरिएको आयोजनाले जनाएको छ।