आइतबार, असोज ६ गते २०८१    
images
images

पर्यटकीय नगरी पोखरामै छैन व्यवस्थित बसपार्क

images
सोमबार, भदौ १८ २०८०
images
images
पर्यटकीय नगरी पोखरामै छैन व्यवस्थित बसपार्क

न व्यवस्थित टिकट काउन्टर छ न त बस राख्ने ट्र्याक नै राम्रो छ। किनारामा थन्काइएका थोत्रा बसले बसपार्कको बेहाल स्थितिलाई दर्साइरहेको छ।

images
images

गण्डकी- पर्यटकीय नगरी पोखरामा बसपार्कको समस्या भएको धेरै भयो। पोखरामहानगरपालिका-९ पृथ्वीचोकस्थित हालको बसपार्कको दूरावस्थाले पर्यटकीय सहर पोखरालाई नै गिज्याएझैँ लाग्छ। 

images
images
images

पोखराको बसपार्क ४८ वर्षयता उसैगरी सञ्चालन भइरहेको छ। बसपार्कका लागि विसं २०३२ मा अधिग्रहण गरिएको जग्गा अतिक्रमणमा परेर खुम्चिँदै गएको छ। अव्यवस्थित घरटहरा, फोहरको दुर्गन्ध, बिजुलीका जीर्ण पोल, लत्रिएका तार, हिलाम्मे सडक पानी जमेका खाल्डाखुल्डीले बसपार्कलाई कुरुप बनाएका छन्। न व्यवस्थित टिकट काउन्टर छ न त बस राख्ने ट्र्याक नै राम्रो छ। किनारामा थन्काइएका थोत्रा बसले बसपार्कको बेहाल र लाजमर्दो स्थितिलाई दर्साइरहेको छ।

झन्डै आधा शताब्दी बित्न लाग्दासमेत बसपार्क बन्ने कुनै टुंगो छैन। पोखरा उपत्यका नगर विकास समितिले उहिल्यै देखेको सुविधासम्पन्न बसपार्कको सपना अझै अधुरै छ। जीर्ण र काम चलाउ बसपार्कबाट पोखराले कहिले मुक्ति पाउँछ? चित्तबुझ्दो जवाफ कसैसँग छैन। पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र केसीले बसपार्कले पर्यटनको राजधानी सहर पोखराकै बदनाम गरेको बताउँछन्।

'नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने पोखरामा स्तरीय बसपार्क बन्न नसक्नु दुर्भाग्य हो, बसपार्कको बेहाल देख्दा हामीलाई पनि पीडा हुन्छ', उनले दुःखेसो पोखे, 'राजनीतिको दुश्चक्रमा बसपार्क फस्यो, राज्यका निकायले पनि बसपार्क बनाउन इच्छाशक्ति देखाएनन्।'

images

अध्यक्ष केसीका अनुसार सो बसपार्क भएर दैनिक झन्डै तीन सय सवारी साधन देशका विभिन्न गन्तव्यमा गुड्छन्। गण्डकी प्रदेशको राजधानी पोखरासँग ६३ जिल्लाको यातायात सञ्जाल जोडिएको छ।

'पोखरा एकातिर प्रदेशको राजधानी सहर हो, अर्कातिर पर्यटनको केन्द्र', अध्यक्ष केसीले भने, 'बसपार्कसहित यहाँका सहरी पूर्वाधारले प्रदेशकै चिनारी दिइरहेको हुन्छ, अब पनि बसपार्क नबनाउने हो भने पोखराबाट राम्रो सन्देश जाँदैन।'

उनले बसपार्कमा ढलान, पार्किङ ट्र्याक, यात्रु विश्राम कक्ष निर्माण, शौचालय, खानेपानीलगायत पूर्वाधारको खाँचो रहेको बताए।यातायात व्यवसायीले पटकपटक बसपार्क स्तरोन्नतिको माग गर्दै आए पनि पोखरा महानगर र प्रदेश सरकारबाट कुनै सुनुवाइ नभएको अध्यक्ष केसीले गुनासो गरे। बसपार्क अस्तव्यस्त भएपछि गाडीले राजमार्ग छेउछाउबाटै यात्रु चढाउने र ओराल्ने गर्छन्। टिकट काउन्टर पनि बाहिरी सडकमा छन्।

पोखरा महानगरले पृथ्वीचोकदेखि चाइना पुलसम्म पार्किङ निषेध गरेपछि पछिल्लो समय बसपार्कबाटै गाडी छुट्न थालेको ट्राफिक प्रहरी कार्यालय, कास्कीका प्रहरी वरिष्ठ नायब निरीक्षक शिवप्रसाद पाठकले बताए। हिलाम्मे बाटो र भित्र उभिने ठाउँ पनि नभएकाले यात्रुहरु बसपार्क छिर्नै नचाहने गरेको उनको भनाइ छ।

'जहीँतहीँ हिलो र खाल्डाखुल्डी छन्, भित्र गएर उभिने ठाउँ पनि छैन, अझैपनि बाहिरबाटै यात्रु चढाउनुपर्ने बाध्यता गाडीलाई छ', पाठकले भने, 'पहिले सडकछेउमै बस रोक्ने, यात्रु चढाउने, झार्ने गर्दा पृथ्वीचोक क्षेत्र अस्तव्यस्त देखिने गर्थ्यो, अहिले केही कम भएको छ, बसपार्क बन्यो ट्राफिक व्यवस्थापन धेरै सहज हुन्छ।'

अहिलेसम्म बसपार्कलाई चाहिने कुनै पनि पूर्वाधार नबनेको उनले उल्लेख गरे। तीव्र सहरीकरण र सवारीसाधनको चापलाई दृष्टिगत गरेर पोखरामा आधुनिक सुविधायुक्त बसपार्क बनाउनुपर्ने उनको भनाइ छ।

स्थानीय व्यवसायी कमल कुँवरले बसपार्क नबन्दा हिउँदमा धुलो र बर्खामा हिलोको सास्ती खेप्नुपरिरहेको बताए। 'गत वर्ष नाला बनाएर छाडेको छ, अरु केही काम भएको छैन, निर्माण अलपत्र पर्दा बसपार्क झन् लथालिंग बनेको छ', उनले भने, 'दशकौँदेखि बसपार्क बेहाल अवस्थामा छ, चुनाव आउँदा नेताहरुले बसपार्कको मुद्दा उठाउँछन्, अघिपछि कुरा सेलाउँछ, महानगरले पनि खासै चासो लिएको देखिन्न।'

पोखरा महानगरको यातायात व्यवस्था समितिका उपाध्यक्ष एवं वडा नं १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले बसपार्क सुधार र व्यवस्थापनको काम थालिएको बताए। 'आधुनिक बसपार्कका लागि जग्गाको समस्या छ, भएको जग्गामा तत्काललाई सामान्य पूर्वाधार र मर्मतसुधारको काम गर्दैछौँ', उनले भने, 'बसपार्क जाने सडक ढलान हुँदैछ, यात्रु प्रतीक्षालय पनि बन्दैछ।' ग्राभेल बिच्छाएर हिलो र खाल्डाखुल्डी पुरिने वडाध्यक्ष तिमिल्सिनाले बताए।

बसपार्क क्षेत्रमा अव्यवस्थितरुपमा सञ्चालित ग्यारेज र टिकट काउन्टर पनि हटाउन थालिएको उनको भनाइ छ। 'छोटो र लामो दुरीका बसका लागि अलग-अलग ब्लक बनाउने तयारीमा छौँ, यात्रुका लागि पदैलमार्ग पनि बन्छ', वडाध्यक्ष तिमिल्सिनाले भने, 'अहिलेको तुलनामा बसपार्क केही व्यवस्थित बन्दैछ।'

सुरुमा दुई सय पाँच रोपनी जग्गा अधिग्रहण गरिएकामा अहिले बसपार्कका लागि करिब ६० रोपनी मात्र जग्गा बाँकी रहेको महानगरले जनाएको छ। बसपार्क बनाउने भनिएको जग्गामा स्थानीयवासी, पुरानो विमानस्थल बनाउँदा सारिएका र सुकुम्बासी परिवारको बसोबास छ। पोखरा महानगर अन्तर्गत पोखरा उपत्यका नगर विकास समितिका नाममा रहेको उक्त जग्गा पटकपटक अतिक्रमणमा पर्दै आएको छ। कति जग्गा घडेरीका रुपमा बिक्री भयो, कति अतिक्रमणमा पर्‍यो भन्ने यकिन तथ्यांक कुनै निकायसँग छैन। दुई सय पाँच रोपनीमध्ये केही जग्गा पृथ्वी राजमार्गमा पर्दा पछि बसपार्कका नाममा एक सय ८७ रोपनी कायम भएको थियो। उक्त जग्गा पनि अहिले घट्दै ६० रोपनीभन्दा पनि कममा झरेको छ। 

जग्गाकै कारण पृथ्वीचोकमा ठूलो बसपार्क बन्ने सम्भावना नरहेको भन्दै महानगरले ‘सिटी’ बसपार्कको योजना अघि सारेको छ। पोखरा-३२ लामेआहालमा प्रादेशिक बसपार्क बनाउने गण्डकी प्रदेश सरकारको प्रस्ताव पनि अलपत्र परेको छ। दुई सय ७३ रोपनी क्षेत्रफलमा बनाउने भनिएको उक्त बसपार्कका लागि लगानीको स्रोत जुट्न नसकेको प्रदेश सरकारले जनाएको छ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बसपार्क निर्माणमा महानगरसँग समन्वय गरेर अघि बढ्ने बताए। 'प्रदेश राजधानीमा सुविधासम्पन्न बसपार्क नहुनु हामी सबैको बिडम्वना हो, बसपार्क बनाउने विषयमा महानगरसँग मिलेर पहल थाल्छौँ', उनले भने। रासस


प्रकाशित : सोमबार, भदौ १८ २०८०१०:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend