कञ्चनपुर- चारैतिर हरियो वन, चराको चिरविरको मधुर आवाज, पहाडको गल्छीबाट बग्दै गरेको कलकल कञ्चनपानीको दृश्य नियाल्न आन्तरिक पर्यटक शुक्लाफाँटा नगरपालिका- ८ चुरे पर्वत श्रृंखलामा रहेको बतासे झरना पुग्न थालेका छन्।
बाह्य कोलाहलबाट दिक्क भएका पर्यटक यो झरनामा पुग्दा आनन्दित हुन्छन्। कैलालीको गोदावरी नगरपालिकाबाट आइपुगेकी सविता चौधरी भन्छिन्, 'झरनाको दृश्य अलौकिक छ, यसले सबैलाई मोहित बनाउँछ।'
झन्डै दुई सय फिट माथिबाट खस्ने झरनाबाट चिसो हावा बहने भएकाले यसलाई बतासे झरना भन्ने गरिएको हो। दुईतर्फ कडा चट्टान भएको साघुँरो ठाउँबाट झरना झर्ने गरेको छ। नगरपालिकामा जनप्रतिनिधि आएपछि यस गन्तव्यको खोजी तथा प्रचारप्रसार गरिएको हो।
स्थानीय धारापानी गाउँका सीता गौतम विगतमा यस स्थानमा साथीसंगीसँग घाँस काटन जाने र नुहाएर फर्कने गरेको बताउँछन्। 'गाउँको घाँस काट्ने क्षेत्रमा रहेको झरनाले यतिको महत्व पाउला भनेर सोचेकै थिएनौँ। हाल झरनाको अवलोकन गर्न, तस्बिर लिन, भिडियो बनाउन र नुहाउनका लागि आउने आन्तरिक पर्यटकको संख्या दैनिक दुई सय हाराहारीसम्म पुग्ने गरेको छ', गौतम भन्छन्, 'धारापानी कुन क्षेत्रमा पर्दछ भनेर पहिला चिनाउनुपर्थ्यो, हाल झरनाले गर्दा गाउँ पनि चिनिएको छ, व्यापार व्यवसाय हुन थालेको छ र यसले गर्दा आयस्तर पनि बृद्धि भएको छ।'
झरना हेर्नका लागि कैलाली, कञ्चनपुरसँगै सीमावर्ती भारतीय क्षेत्रका पर्यटक पनि यहाँ आइपुग्ने गरेको स्थानीय बासिन्दाको भनाइ छ। 'पहाडको माथिबाट झर्दै गरेको कञ्चन झरना देखेर मन्त्रमुग्ध नहुने कोही छैन', उक्त नगरपालिकाका पूर्वप्रमुख दिलबहादुर ऐर भन्छन्, 'मेरै पालामा नगरपालिकाभित्रका पर्यटकीय क्षेत्र पहिचान गर्ने क्रममा झरनाको खोजी गरेका हौँ, नगरपालिकाबाट प्रकासित हुने क्यालेण्डर, पुस्तक, वार्षिक कार्यक्रम पुस्तिकामा पनि प्रचारका लागि यसको तस्बिर राख्ने कार्यसँगै सडकको ट्र्याक खोल्ने, होर्डिङबोर्ड राख्ने कार्य गर्यौँ।' त्यसपछि यस क्षेत्रले महत्व पाएको उनको भनाइ छ।
झरना भएको क्षेत्रको जैविक विविधतामा खलल पुग्न नदिनका लागि सजग हुनुपर्नेमा पूर्वप्रमुख ऐर जोड दिन्छन्। झरनासँगै नगरपालिकाभित्रका पर्यटकीय क्षेत्रको संरक्षण र सम्बर्द्धनसँगै आवश्यक भौतिक पूर्वाधार निर्माणमा जोड दिनसके रोजगारीका अवसर सिर्जना भई युवाले विदेशिनु नपर्नेमा उनको ठम्याइ छ।
वडाध्यक्ष बहादुर सिंह महरा भर्जिन पर्यटकीय गन्तव्य बतासे झरनाको खोजी भएपछि मिडियाले ओझेलमा रहेको यस क्षेत्रलाई प्रचारमा ल्याईदिँदा पर्यटक बढ्न थालेको बताउँछन्। 'छ, सात वर्षदेखि यस क्षेत्रसम्म पुग्ने सडक निर्माणका लागि कार्य अगाडि बढाउँदै आएका छौँ', उनी भन्छन्, 'प्रत्येक वर्ष पहिरोले सडक भासिने, भत्कने र बग्ने गरेकाले हैरान छौँं।'
कमजोर प्रकृतिको चुना अत्यधिक रहेको पहाड छ, थोरै वर्षा हुँदा पनि पहिरो निरन्तर गैरहन्छ, त्यसैले बनाएका सडकका संरचना जोगाउन कठिन रहेको वडाध्यक्ष महरा गुनासो गर्छन्। 'सडकलगायत संरचना निर्माणका लागि हालसम्म ३० लाख रूपैयाँको हाराहारीमा खर्च भइसकेको छ तर पहिरोका कारण प्रगति शून्य देखिने गरको छ', उनले भने।
गत वर्ष मात्रै प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ६ लाख ५० हजार रूपैयाँको लागतमा झन्डै एक किलोमिटर क्षेत्रमा बनाइएको पदमार्गको ८० प्रतिशत भाग पहिरोले लगेको छ। सडकमै पहिरो जाँदा झरनाभन्दा तीन किलोमिटर वर नै सवारीसाधन राखेर पैदल हिँड्न पर्यटक बाध्य छन्। पुरै पदमार्ग पहिरोले लग्दा पनि जोखिम मोल्दै पर्यटक झरना अवलोकनका लागि पुग्ने क्रम भने रोकिएको छैन।
झरनामा पुग्न नसक्ने पर्यटकले झरना हुँदै बग्ने धारापानी खोलाको चिसो पानीमा नुहाएर चित्त बुझाउने गरेका छन्। धारापानी खोलाकै डिलमै वडा कार्यालयले पिकनिक स्पट र चौतारा निर्माण गरेको गरेकाले पिकनिकका लागि आउनेको पनि घुइँचो लाग्ने गरेको छ। पूर्व-पश्चिम राजमार्गको झलारीदेखि धारापानी गाउँभन्दा दुई किलोमिटर वरसम्म मोटरसाइकललगायत सवारी साधनमा चढेर सहजै त्यहाँ पुग्न सकिन्छ। रासस