आइतबार, असोज ६ गते २०८१    
images
images

दब्ल्याङको पहिरोले सास्ती

images
सोमबार, भदौ १८ २०८०
images
images
दब्ल्याङको पहिरोले सास्ती

पहिरो नियन्त्रण नहुँदा बागलुङ बजारमा आउने तरकारी, खाद्यान्न र दूध वितरणमा समस्या भएको किसानको गुनासो छ।

images
images

बागलुङ- असारयता राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर दर्जनौँ पटक ठप्प भयो। वर्षा हुनेबित्तिकै बागलुङ नगरपालिका-१० दब्ल्याङमा पहिरो झरिहाल्छ।

images
images
images

कोरिडोरको वैकल्पिक सडकका रुपमा रहेको बागलुङ-कुश्मिसेरा सडक खण्डमाथिपट्टीबाट खस्ने पहिरोले दुवै सडक ठप्प हुन्छन्। पानी पर्नेबित्तिकै सडक अवरुद्ध हुँदा नगरपालिकाले सयौँ पटक यहाँ डोजर पठाउँदा हैरानी भइसकेको छ भने यातायात चालक र स्थानीयले सास्ती खेपिरनुपरेको छ। दिनभर ठूलो वर्षा भयो भने तीन दिनसम्म सडक खुल्ने अवस्था रहन्न।

राति पानी परेका समयमा बिहान कहिल्यै पनि गाडी चल्न पाएका छैनन्। नियमित रुपमा गाडी नचल्दा दक्षिण बागलुङमा सामान ढुवानी गर्न र बिरामी अस्पतालसम्म ल्याउन निकै कठिन हुने गरेको छ। पहिरोले कोरिडोर र वैकल्पिक सडक अवरुद्ध बनाउँदा पैदलयात्रु पनि लामो बाटो प्रयोग गर्न विवश छन्। सडकको मध्य भागमै ठूलो पहिरो झरिराख्ने हुँदा यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य हुन्छन्। पटक-पटकको सडक अवरुद्धले गर्दा बजारदेखि दक्षिण क्षेत्रमा सामान ढ्वानी गर्न र दक्षिणबाट किसानले उत्पादन गरेका दूध तथा तरकारी बजार ल्याउन कठिन हुने गरेको स्थानीय पदमप्रसाद पौडेलले बताए।

उनले गाउँमा दैनिक दूध उत्पादन हुने भन्दै सडकका कारण बजारमा समयमै ल्याउन नपाउँदा ठूलो नोक्सानी हुने गरेको गुनासो पोखे। पैदल यात्रामार्फत दक्षिणबाट बागलुङ आउन कैयुको लामो झोलुंगे पुल तरेर कुश्मा हुँदै आउँदा झन्झटिलो र धेरै खर्चिलो हुने पौडेलको भनाइ छ। पहिरोले तीन वर्षदेखि दक्षिण क्षेत्रका हजारौँ नागरिकलाई सास्ती दिँदा स्थानीय, प्रदेश र केन्द्र सरकारले पहिरो रोकथामको काम गर्न नसकेको उनको गुनासो छ।

images

'पानी नपर्दाको दिन यो बाटो हिँड्दा माथिबाट पहिरो आएर पुरिन्छ कि भन्ने डर हुन्छ, बाध्यताले जोखिम मोलेर हिँड्न बाध्य छौँ, दुई÷तीन ठाउँमा निकै अप्ठ्यारो छ, गाडी फस्ने र माथिबाट पहिरो आउने हो भने केही भेटिँदैन', पौडेलले भने, 'यस्तो अवस्थामा सरकार मौन रहेको होकी काम गर्न नसकेको हो, हामीजस्ता किसानलाई त झन् निकै गाह्रो भएको छ, दिनदिनै बजार आउने जाने गर्नुपर्छ, कुश्मातिरबाट घुमेर जाँदा धेरै खर्च हुन्छ।'

नगर प्रमुख वसन्तकुमार श्रेष्ठले पहिरोको दीर्घकालीन समाधान नहुँदा नगरपालिकाको लाखौँ रकम नोक्सान भइरहेको बताए। उनले सडक अवरुद्ध हुनेबित्तिकै नगरपालिकाले कर्मचारी र मेसिन लगाउँदै आएको भन्दै सडक डिभिजनका काम भए पनि नगरपालिकाले जनताको सहजताका लागि लाखौँ खर्च गरेर सडक खुलाउँदै आएको बताए।

'पानी पर्नेबित्तिकै सडक अवरुद्ध भइहाल्छ, सडक अवरुद्ध हुनेबित्तिकै नगरपालिकाम फोन आउँछ, यात्रुलाई सडकमै राखेर हाम्रो जिम्मेवारी होइन भन्ने मिलेन, अहिलेसम्म धेरै पटक पहिरो खोल्न मेसिन लगायौँ,' नगर प्रमुख श्रेष्ठले भने, 'प्रायः एउटा मेसिन यही पहिरो हटाउनका लागि तमतयार राख्नुपर्छ, राखेका हुन्छौँ, दीगो समाधानका लागि प्रयास भएका छन्, प्रदेश सरकारसँग पनि माग गरेका छौँ, छलफल भइरहेको छ।'

चार महिना अघिदेखि पहिरो नियन्त्रणका लागि गण्डकी प्रदेशले प्रयास गरे पनि अहिलेसम्म कुनै पनि काम सुरु भएको छैन। पहिरो नियन्त्रण र निर्माणका लागि ‘एक्सप्लोरर जियोलोजिकल कन्सल्टेन्सी’ले अध्ययन गरेर पाँच करोड रूपैयाँ लागतमा सडक पुनःनिर्माण गर्न सुझाव दिएको थियो। प्रदेश सरकारबाट यो काम अगाडि बढेको छैन। पहिरो नियन्त्रण नहुँदा बागलुङ बजारमा आउने तरकारी, खाद्यान्न र दूध वितरणमा समस्या भएको किसानको गुनासो छ।

सात सय ५० मिटर लामो र एक सय ५० मिटर चौडा पहिरोले सयौँ रोपनी जमिन बगिसकेको छ भने दर्जन घर जोखिममा परेका छन्। यात्रा गदागर्दै पहिरोले सडक अवरुद्ध हुँदा कयौँ यात्रु सडकमै अलपत्रसमेत हुने गरेका छन्। रासस


प्रकाशित : सोमबार, भदौ १८ २०८००८:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend