धादिङ- धादिङको धुनिबेसी नगरपालिका-९ जुगेडीमा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ, धुलो र ध्वनि प्रदूषणका कारण स्थानीयवासी बिरामी पर्न थालेका छन्। शरीरभरि फोकाहरु आउने, चिलाउने, एलर्जी हुने, घाँटी सुक्नेजस्ता समस्याले स्थानीय नागरिक हैरान छन्। पछिल्लो समय एलर्जीको समस्या जटिल बनेको छ।
उद्योग सञ्चालन मापदण्ड पूरा नगरेर प्रदूषण बाहिरिएकै कारण मानव स्वास्थ्यमा त्यसको प्रत्यक्ष असर परेको हो।
उद्योग सञ्चालन हुन थालेको केही वर्षयता सामान्य रुघाखोकी र ज्वरोले मात्रै सताए पनि अहिले स्वास्थ्यमा दीर्घरोग देखिन थालेको छ। ‘उद्योगबाट निस्कने प्रदूषण बन्द भएन भने हामी अब यहाँ बस्न सक्ने अवस्था रहेन,' स्थानीय लक्ष्मी राई भन्छिन्, 'ज्यान बचाउनकै लागि हामीले थातथलो छोडेर भाग्नुपर्ने अवस्था आयो।’
सिमेन्ट उद्योगबाट निस्केको प्रदूषणका कारण जुगेडीका करिब दुई सय ३० मानिस प्रत्यक्ष मारमा छन्। स्थानीयहरुका अनुसार यहाँका करिब ५० जनाभन्दा बढीले अहिले घाँटी, छाला र आँखाको उपचार गराइरहेका छन्। धेरैले आफूखसी उपचार गराइरहेका छन् भने केहीले उद्योग व्यवस्थापन पक्षकै व्यक्तिहरुको रोहबरमा चेकजाँच गराएका छन्।
चेकजाँच गर्न अस्पताल पुग्दा उद्योग व्यवस्थापन पक्षका व्यक्तिहरुले स्वास्थ्यकर्मीलाई नै दबाबमा पार्ने गरेको पीडितहरुको भनाइ छ। चेकजाँच गरेपछि अस्पतालले दिएको रिपोर्टसमेत उद्योगका मानिसहरुले राखेर आफूहरुलाई हेर्न नदिएको उनीहरु बताउँछन्। रासस