आइतबार, असोज ६ गते २०८१    
images
images

चिमखोला-घ्यासीखर्क सडक साढे दुई महिनापछि सञ्चालनमा

images
आइतबार, भदौ १७ २०८०
images
images
चिमखोला-घ्यासीखर्क सडक साढे दुई महिनापछि सञ्चालनमा

सडक अवरुद्ध हुँदा कुइनेमंगलेका स्थानीय सडक सञ्जालको सम्पर्कबाट बिच्छेद भएका थिए भने स्थानीयस्तरमा उत्पादन भएको आलुको बजारीकरण र जलविद्युत् आयोजनाका निर्माण सामग्री ढुवानीमा समस्या भएको थियो।

images
images

बेनी- म्याग्दीको रघुगंगा गाउँपालिका-७ चिमखोलाबाट वडा नं ८ कुइनेमंगले जोड्ने सडक करिब साढे दुई महिनापछि सञ्चालन भएको छ। कुइनेमंगलेलाई सडक सञ्जालले जोड्ने एकमात्रै चिमखोला-घ्यासीखर्क सडकखण्डअन्तर्गत चिमखोलाको मालाङमा गएको पहिराले सडक अवरुद्ध भएको थियो।

images
images
images

पहिरो ठूलो भएकाले बर्सात नरोकिँदा सडक सञ्चालन हुनसकेको थिएन। वर्षा कम हुँदै गएपछि अवरुद्ध भएको सडकलाई यस क्षेत्रमा निर्माणाधीन तीनवटा जलविद्युत् आयोजनाबाट डोजर परिचालन गरी मर्मत गरेर अस्थायीरूपमा सवारीसाधन आवतजावत गर्न थालेको रघुगंगा गाउँपालिका-७ चिमखोलाका वडाध्यक्ष थकबहादुर पाइजाले जानकारी दिए।

पहिरोमा सडकको ‘ट्रयाक’ बनाइएकाले बर्सात हुँदा पहिरो र ढुंगा खस्ने जोखिम रहेकाले यात्रु, सर्वसाधारण र सवारी चालकलाई सावधानी अपनाउन उनले आग्रह गरे। चिमखोला र कुइनेमंगले क्षेत्रमा निर्माणाधीन तुदी पावर लिमिटेड प्रवर्द्धक रहेको राहुघाट मंगले, अपर राहुघाट र संयुक्त ऊर्जा प्रालिको ठूलोखोला जलविद्युत् आयोजनाले लगातार पाँच दिनसम्म चिमखोला र गौडामुनीतर्फबाट दुईवटा डोजर परिचालन गरेर पहिरो हटाएर सडक सञ्चालन गराएका हुन्।

लामो समयदेखि सडक अवरुद्ध हुँदा कुइनेमंगले क्षेत्रमा बोलेरो, जिप, ट्रयाक्टर, ट्रकलगायतका सवारीसाधन रोकिएका थिए। सडक अवरुद्ध हुँदा कुइनेमंगलेका स्थानीय सडक सञ्जालको सम्पर्कबाट बिच्छेद भएका थिए भने स्थानीयस्तरमा उत्पादन भएको आलुको बजारीकरण र जलविद्युत् आयोजनाका निर्माण सामग्री ढुवानीमा समस्या भएको थियो। रासस

images


प्रकाशित : आइतबार, भदौ १७ २०८००४:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend