आइतबार, असोज ६ गते २०८१    
images
images

ढुंगा बिक्रीबाट ताराखोलाले गर्‍यो ३१ लाख आम्दानी

images
शनिबार, भदौ १६ २०८०
images
images
ढुंगा बिक्रीबाट ताराखोलाले गर्‍यो ३१ लाख आम्दानी
images
images

गलकोट- बागलुङको ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा ढुंगा बिक्रीबाट ३१ लाख रूपैयाँ आम्दानी गर्‍यो। गत आवमा पालिकाको कुल ७४ लाख रूपैयाँ आम्दानीमध्ये सबैभन्दा बढी ढुंगा उद्योगबाटै भएको थियो।

images
images
images

पालिकाले कार्यविधि निर्माण गरेर ढुंगा उद्योग दर्ता र सञ्चालनका लागि बाटो खोलेपछि पालिकाको आम्दानी बढ्न थालेको हो। अघिल्लो आवको तुलनामा गत आवमा पालिकाको आम्दानी १६ लाख रूपैयाँले वृद्धि भएको छ।

ढुंगा निर्यात गर्दै आइरहेको ताराखोला गाउँपालिकाभित्र एक सय युवाहरुले ढुंगा उद्योगबाट प्रत्यक्ष रोजगारी पाएको गाउँपालिकाको भनाइ छ। पछिल्लो समय नेपालमा आयातित टायल र मार्वलको विकल्प ताराखोलाको स्लेट ढुंगा बन्दै जाँदा यसबाट स्थानीय तहमा रोजगारी सृजना समेत भएको हो। पालिकामा अहिले १२ वटा ढुंगा उद्योग दर्ता भइसकेका छन् भने पाँच वटा उद्योगले नियमित ढुंगा निर्यात गरिरहेका छन्।

ताराखोला गाउँपालिका-५ मा पिके ढुंगा उद्योग सञ्चालन गरी २२ स्थानीयलाई प्रत्यक्ष रोजगारी दिएका पृथ्वी सुवेदीले यहाँ उत्पादित ढुंगाको माग उच्च रहेको बताउँदै काठमाडौं, पोखरा, बुटवललगायतका नेपालमा मुख्य सहर तथा स्थानमा निर्यात भएरहेको जानकारी दिए। यहाँका ढुंगा विभिन्न सहरमा खपत भइरहेको र मार्वलको विकल्प बनिरहेको उनको भनाइ छ। 

images

'केही आफ्नो जग्गा र केही भाडामा जग्गा लिएर उद्योग सुरु गरेको छु', उनले भने, 'यहाँ ढुंगा बोक्ने ट्याक्टर ड्राइभरले समेत अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन्, मुख्य बाटोमा पुर्‍याएपछि ट्रकमा लोड गरी विभिन्न स्थानमा ढुंगा पुर्‍याइन्छ।' यसका लागि विभिन्न स्थानमा डिपो समेत राखिएको उनको भनाइ छ।

ताराखोलाको स्लेट ढुंगा ब्राण्ड भइसकेको भन्दै उनले परम्परागत घर छाउन प्रयोग हुने ताराखोलाको स्लेट ढुंगा अहिले आधुनिक घरका भित्तामा टास्न र भुइँमा छाप्न प्रयोग हुन थालेको बताए। यस्तै ताराखोला गाउँपालिका-२ अर्गलका चरण घर्तीले जीसीजी ढुंगा उद्योगमार्फत १५ जनालाई प्रत्यक्ष रोजगारी दिएको जानकारी दिए।

उनले आफूले उत्पादन गरेको ढुंगा चितवन, पोखरा र दाङसम्म निर्यात हुने गरेको बताए। अन्य स्थानको ढुंगाभन्दा यहाँको ढुंगा बलियो र राम्रो भएको भन्दै उच्च माग भएकाले मागअनुसार ढुंगा पुर्‍याउन मुस्किल भइरहेको उनको भनाइ छ। ताराखोलाको ढुंगा विभिन्न साइजमा ग्राहकको माग अनुसार उत्पादन गरिँदै आइएको छ। पछिल्लो समय पदमार्ग, पार्किङ र बगैँचामा यहाँकोस्लेट ढुंगा प्रयोग हुन थालेको छ।

'अहिले आर्थिक मन्दीका कारण विकास निर्माण र घर निर्माणको काम कम हुँदा ढुंगाको बजार केही घटेको मात्रै देखिन्छ', घर्तीले भने, 'तर आकासे रंगको ढुंगा ताराखोलाको भन्ने ब्राण्ड देशभर भइसक्यो, ताराखोलामा ढुंगा उत्पादन गर्न सकेमा बजारको समस्या छैन।'

पालिकाको मुख्य आम्दानीको स्रोत ढुंगालाई बनाएको भन्दै ढुंगा उद्योग दर्ताका लागि स्थानीयलाई प्रोत्साहन गरिरहेको ताराखोला गाउँपालिकाका राजस्व शाखा प्रमुख देविलाल सापकोटाले बताए। पालिकाको आर्थिक कार्यविधिअनुसार प्रतिवर्गफिट दुई रूपैयाँका दरले कर तथा ठेक्कामार्फत निकासी कर संकलन गर्दै आइरहेको सापकोटाको भनाइ छ। 

पालिकाले ढुंगा उद्योग दर्ता गर्न ३० हजार रूपैयाँ र नवीकरण गर्न २५ हजार रूपैयाँ शुल्क तोकेको छ। पालिकामा स्लेट ढुंगाको खानी  प्रशस्त रहेकाले आन्दानीको स्रोत वर्षेनी बढाउने पालिकाको नीति रहेको सापकोटाले जानकारी दिए।

ताराखोला गाउँपालिकाको राष्ट्रिय वन र सामुदायिक वनमा भएको उद्योग कानून अभावमा क्रमशः बन्द हुँदै गए पनि व्यक्तिगत जग्गामा रहेका ढुंगाखानीहरु पालिकाको कानूनभित्र रहेर सञ्चालनमा आएका हुन्।

घर निर्माणका लागि विदेशबाट आयातित मार्वल तथा टायलको यहाँको स्थानीय ढुंगा (स्लेट) विकल्प समेत बन्दै गएको स्थानीयको भनाइ छ। हेर्दा आकर्षक देखिने विदेशी मार्वलभन्दा स्थानीय खानीबाट उत्पादित ढुंगा धेरै टिकाउ र परम्परागत देखिने भएकाले पछिल्लो समय यसको माग बढिरहेको हो।


प्रकाशित : शनिबार, भदौ १६ २०८००५:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend