आइतबार, असोज ६ गते २०८१    
images
images

पोखरामा तार भूमिगतको काम सुस्त

images
बुधबार, भदौ १३ २०८०
images
images
पोखरामा तार भूमिगतको काम सुस्त

पोखरामा तार भूमिगत र वितरण प्रणाली सुदृढीकरणमा एक अर्ब ३० करोड खर्च हुने प्राधिकरणले जनाएको छ। पोखरा सहरभरिको तारलाई भूमिगत गर्न पाँच अर्ब बढी बजेट चाहिने आयोजना प्रमुख आनन्द सुवेदीले बताए।

images
images

गण्डकी- ठेक्का अवधि सकिन लाग्दा पनि पोखरामा विद्युतीय तार भूमिगत गर्ने कामले गति लिन सकेको छैन। गत बैशाखदेखि तार बिछ्याउन सुरु गरिए पनि आयोजनाको प्रगति भने निराशाजनक छ। दुई वर्षमा सक्ने गरी भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले विसं २०७८ माघमा निर्माणको जिम्मा पाएको थियो।

images
images
images

ठेक्का सम्झौता भएको १५ महिनामा गत बैशाख तेस्रो सातादेखि काम सुरु भएकामा हालसम्मको भौतिक प्रगति पाँच प्रतिशतभन्दा न्यून छ। नेपाल विद्युत् प्राधिकरणको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीले जमिनको बनावटका कारण काममा ढिलाइ भएको बताए।

'पोखरामा भूगर्भको अवस्थिति प्रक्षेपण गरेभन्दा फरक पाइयो, बढी चट्टानी जमिन भएकाले उपकरणले नै काम गरेन', उनले भने, 'उपकरणदेखि कामको पूर्वयोजना र डिजाइन नै परिमार्जन गर्नुपर्ने अवस्था आयो।'

अहिले उच्च क्षमताको उपकरण ल्याएपछि कामले केही गति लिएको प्रमुख सुवेदीले बताए। 'प्राविधिक कारणले भौतिकतर्फको काममा ढिलाइ भएको हो, यही बीचमा वर्षातको बेला पनि भयो, अब आयोजनाले गति लिन्छ', उनले भने, 'पोखरा-१० कुँडहर र पोखरा-६ लेकसाइड क्षेत्रमा तार बिछ्याउने काम भइरहेको छ, निर्धारित समयमा निर्माण पूरा हुन नसके पनि छिटोभन्दा छिटो काम सक्ने गरी हामी खटिएका छौँ।'

images

इन्जिनियरिङ डिजाइन, उपकरण खरिदलगायतमा समय लागेकाले आयोजनाको काम सुरुदेखि नै धकेलिँदै आएको थियो। आयोजनालाई चाहिने तारसहित महत्वपूर्ण उपकरण भारतबाट ल्याइएको हो। पोखरा-मुग्लिन सडक आयोजनाले अनुमति नदिएका कारण पनि मुख्य राजमार्ग क्षेत्रमा तार भूमिगत गर्न समस्या भएको थियो। सडक आयोजनाले १५ दिनअघि अनुमति दिएकाले अब काम प्रभावित नहुने प्रमुख सुवेदीले बताए।

सुरुमा कुँडहरमा रहेको प्राधिकरणको सबस्टेसन क्षेत्रको तार भूमिगत गर्न थालिएको उनले उल्लेख गरे। सो ठाउँमा अहिले सडक खन्ने र पाइप बिछ्याउने काम भइरहेको प्रमुख सुवेदीको भनाइ छ। आयोजनाअन्तर्गत पोखरा-१० कुँडहरदेखि जिरो किमिसम्मको मुख्य राजमार्ग, सिर्जना चोक, राष्ट्रबैँक चोक, लेकसाइड, सभागृह चोक, न्यूरोड, चिप्लेढुंगागायतका क्षेत्रमा तार भूमिगत गरिने भएको हो। मुख्यदेखि सहायक सडकसम्मै तार बिछ्याइने आयोजनाले जनाएको छ। विद्युत् लाइनसँगै टेलिफोन, केबल र इन्टरनेटका तारका लागि अप्टिकल फाइबर पनि बिच्याइने छ। 'विद्युतसँगै केबल र दूरसञ्चार सेवा प्रदायक संस्थाका तार पनि एकैसाथ भूमिगत गरिन्छ, अहिले भएको ओभरहेड प्रणालीका सबै तार हट्छन्', आयोजना प्रमुख सुवेदीले भने, 'पोखराका मुख्य सहरी क्षेत्र र पर्यटकको बढी आउजाउ हुने ठाउँको तारलाई जमिनमुनि बिछ्याउन लागिएको हो।'

पोखरामा तार भूमिगत र वितरण प्रणाली सुदृढीकरणमा एक अर्ब ३० करोड खर्च हुने प्राधिकरणले जनाएको छ। पोखरा सहरभरिको तारलाई भूमिगत गर्न पाँच अर्ब बढी बजेट चाहिने आयोजना प्रमुख सुवेदीले बताए। पोखरा र भरतपुरमा तार बिछ्याउन दुई अर्ब ५० करोड ३३ लाख रूपैयाँमा ठेक्का लगाइएको थियो। दुवै सहरमा एकै प्याकेजमा काम भइरहेको आयोजना प्रमुख सुवेदीले बताए। तार बिछ्याएपछि ग्राहकको घरघरमा बिजुली पुर्‍याउने काम पनि प्राधिकरण नै गर्नेछ।

प्राधिकरणले सडकमा न्यून क्षति हुनेगरी तार बिछ्याउने प्रविधि प्रयोग गर्दै आएको छ। ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिबाट सडक खनेर तार भूमिगत गरिने आयोजना प्रमुख सुवेदीले बताए। यात्रु र यातायातका साधनको आउजाउमा बाधा नपुग्ने गरी निर्माणका काम भइरहेको उनको भनाइ छ। तार भूमिगत गरेपछि ठाउँ-ठाउँमा ट्रान्सफर्मर राखेर ग्राहकका घर-घरमा बिजुली पुर्‍याइने प्राधिकरणले जनाएको छ। प्राधिकरणको पोखरा वितरण केन्द्रका अनुसार तार भूमिगत आयोजनाले ओगटेको क्षेत्रभन्दा बाहिरका अव्यवस्थित र जीर्ण विद्युत् पोल हटाउन छुट्टै ठेक्का प्रक्रिया अगाडि छ।

विद्युत् लाइन जमिनमुनि बिछ्याउँदा अव्यवस्थित तार, पोलबाट पोखराले मुक्ति पाउनेछ। तार भूमिगत गर्दा सहरी सौन्दर्य बढ्नुका साथै विद्युतीय दुर्घटनासमेत न्यूनीकरण हुने बताइएको छ। भूमिगत तार बढी क्षमतायुक्त र भरपर्दो हुने प्राविधिक बताउँछन्। तार बिछ्याउँदा ठूलो बजेट लाग्ने भए पनि ग्राहकको बढ्दो माग र बिजुलीको चाप थेग्न भूमिगत प्रणाली उपयुक्त हुने उनीहिरुको भनाइ छ।

पोखरा वितरण केन्द्रअन्तर्गत विद्युतका ९४ हजार एक सय ६५ ग्राहक छन्। वितरण केन्द्रका आधारमा यो देशकै सबैभन्दा धेरै ग्राहक संख्या हो। प्राधिकरणले सहरी सौन्दर्य बढाउन ‘उज्यालो र सहर सफाइ अभियान’ चलाइरहेको छ। सडक छेउछाउका जीर्ण र प्रयोगविहीन पोल हटाउन सुरु गरिएको छ।

भूमिगत प्रणालीलाई अन्य सहरमा विस्तार गर्दै जाने योजनामा प्राधिकरण छ। काठमाडौं उपत्यकापछि भरतपुर र पोखरामा सो परियोजना अघि बढेको हो। तारैतारले जेलिएको पोखराको सौन्दर्य फर्काउन पनि आयोजना सहयोगी बन्ने ठानिएको छ। प्रभाव र उपयोगिता हेरेर पोखराका अन्य ठाउँमा पनि तार भूमिगत गरिने प्राधिकरणले जनाएको छ।

पोखरा-६ का वडाध्यक्ष विष्णुप्रसाद भट्टराईले लेकसाइडको भित्रि सडकमा तार बिछ्याउन सुरु गरिएको बताए। '१७ नं गल्लीबाट तार भूमिगतको काम सुरु भएको छ, अब कुनै पनि बहानामा काम रोकिनुहुन्न', उनले भने, 'पर्यटकीय सहर पोखराको सौन्दर्यीकरणका लागि यो योजना दीर्घकालीन महत्वको छ।' रासस


प्रकाशित : बुधबार, भदौ १३ २०८०१०:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend