आइतबार, असोज ६ गते २०८१    
images
images

बढ्यो अण्डाको मूल्य, किसानले पाउन थाले उत्पादन लागत

images
बुधबार, भदौ १३ २०८०
images
images
बढ्यो अण्डाको मूल्य, किसानले पाउन थाले उत्पादन लागत

नेपाल लेयर्स कुखुरा पालक संघ संघका अध्यक्ष विनोद पोखरेल लागतभन्दा कममा अण्डा बिक्री गर्नुपरेपछि धेरै किसान विस्थापित भएको बताउँछन्। लागत मूल्य पाउन नसकेपछि ३० प्रतिशतभन्दा बढी किसान विस्थापित भइसकेको उनले बताए।

images
images

चितवन- लागत मूल्यभन्दा निकै सस्तोमा अण्डा बिक्री गर्न बाध्य भएका अण्डा उत्पादक किसानले लागत मूल्य पाउन थालेका छन्। अण्डाको बजार मूल्य बढेसँगै उनीहरुलाई केही राहत मिलेको हो। दुई महिनाअघि मूल्य बढेपनि गत साउन महिनामा खपत कम भएकाले तोकिएको मूल्य किसानले पाउन सकेका थिएनन्।

images
images
images

नेपाल लेयर्स कुखुरा पालक संघले आजबाट लागु हुने गरी ठूलो अण्डाको बिक्री मूल्य प्रतिक्रेट (३० वटा) चार सय ५५ र मिडियम चार सय २५ रूपैयाँ तोकेको छ। यसअघि अण्डाको मूल्य प्रतिक्रेट चार सय ५० रूपैयाँ तोकिएको भए पनि कार्यान्वयनमा आउन कठिन भएको थियो। विगतमा भएको नोक्सान र बैंक ऋण घटाउन भने यो मूल्यले अझै नधान्ने किसानको भनाइ छ।

संघका महासचिव शोभाकान्त ढकालका अनुसार सबै खर्च जोड्दा अहिले अण्डाको मूल्य प्रतिगोटा १७ रूपैयाँ हुन आउँछ। किसानले हाल १५ रूपैयाँ पाएका छन्। उनको भनाइमा अहिले चल्लाको मूल्य एक सय ५० रूपैयाँ पर्दछ। बीस हप्तामा कुखुराले अण्डा दिन थाल्दछ। सामान्यतया यो दानाको मूल्य प्रतिकिलो ७० रूपैयाँ पर्दछ। कुखुराले ८० हप्तासम्म अण्डा दिने गरेको उल्लेख गर्दै महासचिव ढकालले दानाको मूल्य प्रतिकिलो ६५ रूपैयाँसम्म पर्ने बताए।

सामान्यतया एउटा कुखुराका लागि औषधि, खोप र अन्य उपचारमा एक सय ६५ रूपैयाँ खर्च हुने उनको भनाइ छ। एउटा अण्डाको उत्पादन लागत १४ रूपैयाँ ८० पैसा पर्ने ढकालको दाबी छ। उनले भने, 'बैंकको लगानीको किस्ता तिर्दै एउटा अण्डाको लागत मूल्य १७ रूपैयाँ पर्न आउँछ।' पछिल्लो समय बढेको मूल्यमा किसानले बैंक ब्याज र किस्ता छाडेर लागत मूल्य पाउने उनको भनाइ छ।

images

संघका अध्यक्ष विनोद पोखरेल लागतभन्दा कममा अण्डा बिक्री गर्नुपरेपछि धेरै किसान विस्थापित भएको बताउँछन्। उनले भने, 'लागत मूल्य पाउन नसकेपछि ३० प्रतिशतभन्दा बढी किसान विस्थापित भइसकेका छन्।'

झण्डै एकवर्ष यता स्वयं व्यवसायीको अग्रसरतामा गरिएको बजारीकरणपछि अण्डाले मूल्य पाएको भन्दै उनले सरकारले लागत मूल्य निर्धारण गरेर सहजीकरण गर्नुपर्ने बताए। उनले भने, 'हामी देशैभर दौडाहा अभियानमा लागेर बजारीकरण गरेकै कारण लागत मूल्य नजिक पुगेका छौँ।'

धेरै किसान ऋण तिर्न सक्ने नरहेको जनाउँदै उनले केही ऋण थपेर उनीहरुलाई पुनः पेसामा फर्किन वातावरण तयार पार्नुपर्ने उनले बताए। नेपाल लेयर्स कुखुरापालक संघका सचिव मदन पोखरेलले अबका दिनमा लागत मूल्य पाउन नसके सबै किसान विस्थापित हुने बताए। उनले भने, 'दाना र औषधिको मूल्य दोबरभन्दा बढी हुँदा अण्डाको उस्तै छ।' दैनिक ५० लाख हाराहारी अण्डा उत्पादन हुने गरेकोमा अहिले यकिन तथ्यांक नभए पनि ३५ लाख रूपैयाँको हाराहारी मात्रै उत्पादन हुने गरेको छ। 

दाना, औषधि, मजदुर, बैंक ब्याज लगायतको खर्च अत्यधिक बढ्दासमेत अण्डाको मूल्य सोही अनुपातमा बढ्न नसकेपछि किसान विस्थापित हुँदै गएका हुन्। यसैबीच नेपाल लेयर्स कुखुरा पालक संघको पोखरामा मंगलबार सम्पन्न बैठकले आगामी असोज २६ गते विश्व अण्डा दिवसमा सप्ताहव्यापी कार्यक्रम गर्ने निर्णय गरेको छ। असोज २० गते काठमाडौंमा पत्रकार सम्मेलन गरेर सुरु गरिने सप्ताहव्यापी कार्यक्रको समापन पोखरामा गरिँदै छ।

संघका अध्यक्ष पोखरेलका अनुसार यस अवधिमा मानव स्वास्थ्यमा अण्डाको महत्वको बारेमा देशव्यापी रुपमा प्रचारात्मक कार्यक्रम गरिने छ। अनाथालय, वृद्धाश्रम, अस्पताल लगायतका क्षेत्रमा अण्डा वितरण गरिँदै छ।

जिल्ला जिल्लामा कार्यक्रम गरिने उनले जानकारी दिए। डा अशेष भट्टराईको संयोजकत्वमा सप्ताहव्यापी कार्यक्रम मनाउन लागिएको हो। अध्यक्ष पोखरेलले भने, 'अण्डाको प्रवर्द्धन र सामाजिक उत्तरदायित्व अन्तर्गतका काम हामीले गर्छौँ।'

अण्डा दिवसमा पहिलो पटक देशव्यापी रुपमा कार्यक्रम गर्न लागिएको पोखरेलको भनाइ छ। सरकारी निकायसँग सहकार्य गरेर सप्ताहव्यापी कार्यक्रम घोषणा गरिने उनले जानकारी दिए। रासस


प्रकाशित : बुधबार, भदौ १३ २०८००७:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend