आइतबार, असोज ६ गते २०८१    
images
images

नारायणगढ-बुटवल सडकखण्ड : हिलाम्य सडकमा सकसपूर्ण यात्रा

images
मंगलबार, भदौ १२ २०८०
images
images
नारायणगढ-बुटवल सडकखण्ड : हिलाम्य सडकमा सकसपूर्ण यात्रा

बिग्रिएको सडकका कारण साना सवारीसाधन तथा चालकसहित ठूला सवारीसाधनलाई समेत उस्तै सास्ती खेप्नुपरेको छ।

images
images

नवलपुर- विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ-बुटवल सडकखण्डको यात्रा बर्खाको समयमा निकै सकसपूर्ण हुँदै आएको छ। यसखण्डको सडकमा बनेका ठूला-ठूला खाल्डाका कारण गन्तव्यसम्म पुग्दा ढिलो तथा यात्रा निकै नै कठिन हुने गरेको नियमित हिँड्डुल गर्ने यात्रुहरु बताउँछन्।

images
images
images

कावासोतीको थकालीचोकमा व्यवसायी माधव सुवेदी यहाँबाट नारायणगढ पुग्न करिब दुई घण्टा लाग्ने गरेको गुनासो गर्छन्। 'दुरीको हिसाबले जम्मा ३० किलोमिटर छ, कावासोतीबाट मोटरसाइकल लिएर नारायणगढ पुग्दा दुई घण्टा लाग्छ', उनी भन्छन्, 'सडकमा ठूल्ठूला खाल्डा बनेका छन्, पानी परेको बेलामा खाल्डा नदेख्दा बाइक ती  खाल्डोमा पर्छ।'

बर्खाको समयमा सडकमा बनेका खाल्डाखुल्डी नपुरिदिँदा साना सवारीसाधनलाई यस सडकमा आवतजावत गर्नै समस्या हुने गरेको व्यवसायी सुवेदी बताउँछन्। 'पसलको सामान लिन नारायणगढ पुग्यो, उहाँ पुग्दा पूरै हिलैहिलो भइन्छ', उनी भन्छन्, 'आफ्नै सवारीसाधनमा जाँदा त दुई घण्टा लाग्छ, यस मार्गमा चल्ने बसमा नारायणगढ पुगेर आउँदा पूरै दिन लाग्छ।'

बिग्रिएको सडकका कारण साना सवारीसाधन तथा चालकसहित ठूला सवारीसाधनलाई समेत उस्तै सास्ती खेप्नुपरेको छ। नारायणगढ-नेपालगञ्ज मार्गमा चल्ने यात्रुवाहक बसका सञ्चालक यदुनाथ खरेल यो बाटोमा नयाँ गाडी हालेको एक वर्षमै पुरानो भएको गुनासो गर्छन्। 'सडकको अवस्था खराब छ, यात्रुलाई समयमै गन्तव्यमा पुर्‍याउन नसक्नु अर्को पीडा छ', उनी अगाडि थप्छन्, 'त्यसमाथि एक-दुईपटक अपनडाउन गरेपछि बस पत्रु हुन्छ र सर्भिसिङ गर्नुपर्ने अवस्था आउँछ।'

images

सडकका खाल्डाखुल्डीका कारण पार्टपुर्जा बिग्रिने र भाँचिने समस्या समेत आउने गरेको सञ्चालक खरेलको भनाइ छ। 'सडकमा जमेको पानीका कारण खाल्डोमा गाडी पर्दा बडी (बसको तल्लो भाग) ठोक्किन्छ, त्यो बेलामा मनै चसक्क हुन्छ', उनी भन्छन्, 'लाखौँ रुपैयाँ खर्चेर किनेको गाडी ढुंगामा ठोक्किँदा असाध्यै पीडा हुन्छ। गाडी नचलाएर पनि भएन।'

'नारायणगढबाट बुटवलसम्मको एक सय १३ किलोमिटर सडक पार गर्न बर्खाको समयमा सात घण्टासम्म लाग्छ। सडक निर्माण गर्नुपर्ने अवस्थामा पुगे पनि खाल्डाखुल्डी पुरिदिए मात्र हामीलाई धेरै सहज हुने थियो', सञ्चालक खरेल भन्छन्, 'यो सडकमा केही किलोमिटर मात्रै कालोपत्र देख्न सकिन्छ, बाँकी सबै खाल्डाखुल्डीमा यात्रा गर्नुपर्छ। सडक निर्माणमा ढिलाइ भएका कारण बस व्यवसायी तथा यात्रुहरुले निकै सास्ती भोग्नु परेको छ।'

सडक विस्तारको काम सुरु गर्नुअघिसम्म नारायणगढबाट बुटवल पुग्न जम्मा दुई घण्टा लाग्ने गरेको बस चालकहरु बताउँछन्। पछिल्लो दस वर्षदेखि यस सडकमा गाडी चलाउँदै आएका वीरबहादुर महतोले पहिले दैनिक तीन पटकसम्म गाडी चलाउने गरेकामा अहिले एकपटक आउन र जान पनि ढिला हुने गरेको बताउँछन्। पाँच वर्ष अगाडिदेखि सुरु भएको सडकको दुरावस्था अझै समाधान नभएको उनको भनाइ छ। रासस


प्रकाशित : मंगलबार, भदौ १२ २०८००८:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend