आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

सुनसान छन् बागलुङका घरबास

images
मंगलबार, भदौ १२ २०८०
images
सुनसान छन् बागलुङका घरबास

गत साउनदेखि घरबासमा पुग्ने पर्यटकको संख्या ह्वात्तै घटेको छ। अहिले घरबासमात्रै होइन, जिल्लाका पर्यटकीयस्थल पनि सुनसानजस्तै छन्।

images
images

ढोरपाटन- बागलुङको ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका घरबास (होमस्टे) बर्खा सुरु भएदेखि पाहुना नआउँदा सुनसान बनेका छन्। गत असारदेखि नै जिल्लामा पर्यटकको आगमनमा कमी आएको बताइएको छ।

images
images
images

घरबास सञ्चालकका अनुसार गत साउनदेखि घरबासमा पुग्ने पर्यटकको संख्या ह्वात्तै घटेको हो। घरबासमा पाहुना आउन छाडेपछि सञ्चालकसमेत खेतबारीको काममा व्यस्त भएका छन्।

images
images

पर्यटकीयस्थल वरपर सञ्चालनमा आएका घरबासले आगन्तुकलाई सहज हुनुका साथै स्थानीयलाई रोजगारको अवसर पनि मिलेको छ। अहिले घरबासमात्रै होइन, जिल्लाका पर्यटकीयस्थल पनि सुनसानजस्तै छन्।

images
images

जिल्लाको चर्चित घरबासमध्येको काठेखोला गाउँपालिका-३ धम्जास्थित बेलढुंगा सामुदायिक घरबास, अतिथि सत्कार घरबास भकुण्डेलगायतमा पाहुना कम पुग्ने गरेका छन्। बागलुङ बजार आसपासको बागलुङ कालिका मन्दिर, बागलुङ-पर्वत जोड्ने नेपालकै लामो झोलुंगे पुल, पञ्चकोट र शालिग्राम संग्रहालयबाहेक अन्य स्थलमा कम आगन्तुक पुगेको पाइन्छ।

पश्चिम बागलुङको ढोरपाटन र पातीहाल्नेमा पुग्ने पर्यटकको संख्यामा पनि कमी आएको छ। बेलढुंगा सामुदायिक घरबासका सञ्चालक गोपाल श्रीसले असोज लागेपछि मात्रै घरबासमा पर्यटकको आगमन बढ्ने बताए। उनले भने, 'असारदेखि हालसम्मका हरेक महिना फाट्टफुट्ट पाहुना आएको छन्।'

बर्खाका कारण बेलढुंगासम्म पुग्ने सडकको विभिन्न स्थानमा पहिरो गएको र बाटोमा घाँस पलाउँदा पाहुना कम आएको उनको भनाइ छ। गाउँसम्म पुग्ने सडक व्यवस्थित बनाउन नसक्दासम्म बर्खामा घरबास र पर्यटकीयस्थलमा पर्यटक भित्र्याउन नसकिने उनले बताए। 'अहिले त घरबास बन्दजस्तै छ, पाहुना आएपछि त खाना खुवाउनुपर्यो, खुवाइन्छ, बास पनि दिइन्छ, तर हिउँदमा जसरी भरिभराउ हुन्थ्यो, अहिले त्यसको तुलनामा निकै न्यून छ, घरबासलाई व्यवस्थित बनाउने र पाहुनमैत्री बनाउने विषयलाई बढी ध्यान दिएका छौँ', श्रीसले भने, 'अहिले मकै पाक्ने बेला भयो, मकै भित्र्याउने, आलु खन्ने, बारीमा काम गर्नेबाहेक अरु केही गर्न सकिएको छैन, पाहुना नआउने भएपछि अरु काममै व्यस्त हुने गरेका छौँ।'

घरबासमा आउने पाहुनालाई पूरै अर्गानिक उत्पादन खुवाउने उनको भनाइ छ। यहाँ विशेषगरी कोदोको ढिँडो, स्थानीय कुखुरा, खसी, बोकाको मासु, बाँकोको गुन्द्रुक र आलुका परिकार खुवाइने गरेको उनको भनाइ छ। 

बागलुङ नगरपालिका-१० भकुण्डेस्थित अतिथि सत्कार सामुदायिक घरबासको सञ्चालक मुना थापामगर अहिले पाहुनाको आगमन निकै कम भएको बताइन्। बर्खामा बादल लाग्ने र दृश्यावलोकन गर्न नपाइने हुँदा पर्यटक कम पुग्ने उनको भनाइ छ। बागलुङ बजारबाट यहाँ पुग्न करिब डेढ घण्टा लाग्छ। कहिलेकाहीँ मात्रै पाहुना घरबासमा बस्न आएको उनको भनाइ छ। तीज सुरु भयो भने पर्यटक बजारबाट भकुण्डे उक्लिन थाल्ने उनले बताइन्।

'बजारबाट दुरीका हिसाबले टाढा होइन, जिल्लामा बागलुङ बजारबाट सबैभन्दा नजिकको घरबास अतिथि सत्कार हो, नजिक भएर के गर्नु यहाँसम्म आउने सडकको अवस्था निकै खराब छ, त्यसले गर्दा पाहुना आउन कम भएको छ', उनले भनिन्, 'पाहुना नआएपछि घरको काम कम भएको छ, त्यही भएर घरबास सञ्चालक कोदो गोड्ने र मकै भित्र्याउने काममा व्यस्त हुनुहुन्छ, हिउँदमा धेरै पाहुना हुनुहुन्छ, त्यसबेलाका लागि चाहिने गुन्द्रुक, आलु जोहो गरेर राख्ने काम भएको छ।'

प्राकृतिक सुन्दरताले भरिएको भकुण्डेमा ताल, र दर्जनौँ हिमश्रृंखला अवलोकनका लागि पर्यटक यहाँ पुग्ने गर्छन्। हिउँदमा राम्रो चल्ने हुँदा स्थानीयको आयआर्जनको स्रोत घरबास बनेको छ। घरबासले ग्रामीण क्षेत्रका महिलालाई सक्रिय भइ पाहुनासँग बोल्न, सत्कार गर्न र स्थानीय कला संस्कृति प्रदर्शन गर्न सक्ने भएका छन्। जिल्लाको विभिन्न स्थानमा घरबास सञ्चालनमा आएपछि मौलिक कला, संस्कृतिको जगेर्नासमेत हुन थालेको छ। रासस


प्रकाशित : मंगलबार, भदौ १२ २०८००५:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend