आइतबार, असोज ६ गते २०८१    
images
images

अव्यवस्थित मासु पसलले बजारै दुर्गन्धित 

images
सोमबार, भदौ ११ २०८०
images
images
अव्यवस्थित मासु पसलले बजारै दुर्गन्धित 
फाइल तस्बिर

अव्यवस्थित मासु पसलको दुर्गन्धले बजारलाई दूषित बनाएको छ। उपभाेक्ता नाक थुनेर हिँड्न बाध्य भएका छन्। मापदण्डविपरीत सञ्चालन भएका यस्ता मासु पसल बन्द गरिदिने नगरपालिकाको चेतावनी छ।

images
images

सिन्धुली- कमलामाई नगरपालिकाको कार्यालय भवन छेवैमा रहेको कृषिउपज बजारभित्र तीन मासु पसल छन्। कोठा नं ५ मा 
सुमित माछा पसल, कोठा नं ६ मा बराल मासु पसल र कोठा नं ८ मा खाँडादेवी मिट सप्लायर्स। यी मासु पसलका कारण कृषिउपज बजार नै दुर्गन्धित बनेको छ।

images
images
images

मासु पसलबाट आउने दुर्गन्धले वरपरका व्यापारी मात्रै होइनन्, तरकारी, फलफूल, दूध, दहीलगायत बजारभित्र पाइने अन्य सामान किन्न आउने उपभोक्ता पनि पीडित भएका छन्।

'कृषिउपज बजारभित्र पस्नै मन लाग्दैन। मासु पसलबाट आउने दुर्गन्धले नाक थुनेर हिँड्दा पनि टाउको दुख्छ। वाकवाकी लाग्छ। गर्मी महिनामा यहाँको दुर्गन्धले झनै सामान किन्न सक्ने अवस्था हुँदैन', उपभोक्ता मुना पौडेलले गुनासो गरिन्।

मासु पसल नजिकै रहेको सुुरेश फलफूल होलसेल पसलका एक कर्मचारी र तरकारी पसलकी सिखिला देवी चौधरीकाअनुसार मासु पसलमा हुने फोहर र दुर्गन्धका कारण यहाँ व्यापार गर्नै समस्या भइरहेको छ।

images

'उपभोक्ता नाक थुनेर आउँछन्, तरकारी किनेर फर्किन्छन्, यो समस्या धेरै वर्षदेखि भोग्दै आएका छौँ। हामी त सधैँ बिहानदेखि साँझसम्म यही बसेर व्यापार गर्नुपर्छ। छिमेकी हुन्, केही भन्यो भने रिसाइ हाल्छन्', व्यापारी चौधरीले दुखेसो पोखिन्।

बराल मासु पसलका सञ्चालक तालविक्रम बरालका अनुसार उनले २० वर्षदेखि यही ठाउँमा मासु पसल सञ्चालन गर्दै आएका छन्। आफ्नो पसलबाट स्वस्थ मासुमात्रै बिक्री हुने उनले दाबी गरे।

नगरपालिकाको कार्यालय भवन आसपासमा पसलबाट आउने दुर्गन्धका कारण बस्नसक्ने अवस्था हुँदैन। बिक्रीका लागि राखिएका मासु बाहिर पनि खुला, नछोपिएको अवस्थामा राखिएको स्थानीय बताउँछन्।

कमलामाई नगरपालिका-५ मधुटार, पुलचोकमा रहेको पृति माछा पसल, श्री रितु माछा पसल र पुलामी फ्रेस मिट हाउसको अवस्थामा पनि उस्तै छ। बसपार्कबाट मघुटार जाने पुल कट्नेबित्तिकै आउने साँघुरो सडकको छेवैमा यी पसल सञ्चालित छन्।

माछा र मासु पसलबाट आउने दुर्गन्धले स्थानीयवासीसँगै सडकमा गुड्ने सवारीसाधन र पैदल यात्रुलाई समेत असर परिरहेको स्थानीय समीक्षा बुढाथोकीले बताइन्। 'यहाँ राखिएका माछा र मासु पसलबाट केही किनेर खाऔँ झैँ लाग्दैन। बाटोको धुलो त्यही, झिँगा त्यस्तै भन्केको हुन्छ। फोहर उस्तै देखिन्छ', उनले भनिन्, 'यहाँको बाटो हिँड्ने यात्रु पनि नाक थुनेर हिँड्न बाध्य छन्। मासु पसल मापदण्डविपरीत चलेका छन्।'

सिन्धुलीमाडीमा अवस्थित शनिबारे हाटमा खुला स्थानमा सुँगुर, बुङ्गुर, राँगाको मासु र माछा बेच्न राखिएका देखिन्छन्। यहाँबाट निस्कने फोहर र दुर्गन्धले बजारलाई प्रदूषित बनाउने गरेको स्थानीय बताउँछन्।

कमलामाई नगर पशु शाखामा दर्ता भएका ३० मासु पसल छन् । कनपा-४ मा तीन, वडा नं ५ मा सात, वडा नं ६ मा १०, वडा नं ७ मा पाँच, वडा नं ८ मा दुई, वडा नं १० मा एक र वडा नं १२ मा दुई मासु पसल दर्ता भएर सञ्चालित छन्। यीबाहेकका धेरै मासु पसल दर्ताबिना नै सञ्चालन भइराखेका छन् भने दर्ता भएका मासु पसलले पनि न्यूनतम मापदण्डसमेत पूरा गरेका छैनन्। 

'माछामासुको पसल बोर्डमा अर्डरअनुसार जिउँदो ताजा माछा, मासु पाइने कुरा लेखिएको हुन्छ। तर मासु पसलेले मरेर सड्नै लागेको माछा र उपचार नलागेको बिरामी पशुकोसमेत बिक्री गर्ने गरेका छन्', स्थानीय मोहन ढकालले भने, 'कमलामाई नगरपालिकाभित्र मात्रै होइन, उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर मापदण्डको पूर्ण कार्यान्वय गरेर सञ्चालनमा भएका मासु पसल जिल्लामा शिला खोज्दा पनि भेट्न सक्ने अवस्था छैन।'

व्यापारी तथा व्यवसायीले विनापरीक्षण मासु वितरण गर्दा, बधशाला र मासु बिक्रीका लागि राखिने ठाउँसमेत व्यवस्थित नहुँदा यहाँका उपभोक्ता गुणस्तरहीन र अस्वस्थ्यकर मासु खान बाध्य भएका उनको भनाइ थियो।

१० वर्ष मासु व्यवसाय गरेर हालै छोडेका ढकालका अनुसार मासु व्यवसायीले न्यूनतम मापदण्डसमेत पूरा नगरी मासु बेचिरहेका छन्। उचित पशु बधशाला र व्यवस्थित मासु बजारको अभावमा जथाभावी बध गर्ने, खुलारुपमा सडक छेउमै मासु बेच्न राख्ने गर्नाले समस्या झन बढ्दै गएको उनले बताए।

यसरी मापदण्डविपरीतका मासु पसलका कारण गुणस्तरीय र स्वच्छ मासु उपभोक्ताले पाउन नसकेको ढकालले बताए। 'माछामासु पसल उपभोक्तको हितविपरीत सञ्चालनमा छन्। यसले सिधै मानव स्वास्थ्यमा असर परिरहेको छ', उनले भने, 'स्थानीय सरकारले बजार अनुगमनलाई तीव्रता दिनुका साथै माछामासु पसलका लागि व्यवस्थित बजार र पशुबधशालाको व्यवस्था गर्नुपर्छ।'

न्यूनतम मापदण्ड पूरा नगरी माछा तथा पशुपक्षीका मासु बिक्री हुने गरेको गुनासो आउन थालेपछि नगरपालिकाले अनुगमन गरेर सुधार गर्नका लागि सुझाव दिएको नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले बताए। 'अनुगमनका क्रममा कतिपय माछामासु पसलमा बिक्री वितरणका लागि राखिएको ठाउँमै किरा परेकोसमेत भेटेका थियौँ। उनीहरुलाई सम्झाइबुझाइ गर्नुका साथै जरिवाना तिराएका छौँ', उनले भने, 'कारबाहीस्वरुप जरिवाना तिराउँदा पनि अटेर गर्नेलाई मासु पसल बन्द गर्न नगरबाट पत्र पठाउने कार्य अगाडि बढाएका छौँ।'

नगरपालिकाले नियमित अनुगमन गरेर न्यून मापदण्ड पूरा नगर्ने मासु पसललाई कारबाही गर्न थालेपछि केहीमात्रामा सुधार भएको नगरप्रमुख पोखरेलले बताए। अस्वस्थकर मासु खुवाएर जनताको स्वास्थ्यमा खेलबाड गर्ने मासु व्यापारी तथा व्यवसायीको पसल गरिदिने उनले चेतावनी दिए।

माछामासु पसल र पशुबधशालालाई व्यवस्थित बनाइ उपभोक्तालाई गुणस्तरीय र स्वस्थकर माछामासु उपभोग गराउने कमलामाई नगरपालिकाको नीति कार्यान्वयन आउन सकेको छैन।

मुख्य बजार क्षेत्र तथा व्यस्त सडकको छेउमा अव्यवस्थित रुपमा माछामासु व्यवसाय सञ्चालनमा रोक लगाइ छुट्टै व्यवस्थित स्थान तोकिदिनुपर्ने स्थानीय शिक्षक रमेश देवकोटाको धारणा छ। रासस


प्रकाशित : सोमबार, भदौ ११ २०८०१०:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend