बुधबार, कात्तिक १४ गते २०८१    
images
images

४३ रोपनी जग्गामा ड्रागन र कागतीखेती, वार्षिक १५ लाखभन्दा बढी आम्दानी

images
सोमबार, भदौ ११ २०८०
images
images
४३ रोपनी जग्गामा ड्रागन र कागतीखेती, वार्षिक १५ लाखभन्दा बढी आम्दानी

धान फलिरहेको खेतीयोग्य जमिन मासेर उनले कागतीखेती थालेका हुन्। ड्रागन खेतीबाट पनि उनले राम्रो आम्दानी लिइरहेका छन्।

images
images

भोजपुर- बसाइँ गइसकेका अवस्थामा जिल्लामै पुनःकृषि कर्मका लागि फर्किएका शम्भुप्रसाद नेपाल अहिले जिल्लामा सफल किसानका रुपमा चिनिन्छन्। विसं २०४७ मा विराटनगर बसाइँ गएका नेपालले गाउँमा नै केही गर्ने सोच बनाएर २०७० सालमा पुन: भोजपुर फर्किएका थिए।

images
images
images

भोजपुरको टेम्केमैयुङ गाउँपालिका-८ गोगनेका नेपाल अहिले कृषि कर्ममा लागि परेको बताउँछन्। दानाबोटे फलफूल तथा कृषि फर्म दर्ता गराएर नेपालले अहिले कागती, ड्रागन फलको खेती गर्दै आएका छन्। ती खेतीबाट नेपालले वार्षिक लाखौँ रूपैयाँ आम्दानी पनि गरिरहेका छन्। किसान नेपाल अहिले कागती खेतीको विस्तारमा जुटेका छन्।

images

कागतीको बजार पनि राम्रो हुने भएकाले आफू कागती खेतीको विस्तारमा लागेको नेपालले बताए। उनले लगाएको एक बोट कागतीको बोटमा एक हजारसम्म कागती उत्पादन हुने गरेको छ। कागतीसहित किसान नेपालले ड्रागन खेतीसमेत गर्दै आएका छन्। उनले गरेको ड्रागन खेती देखेर अहिले भोजपुरमा यसतर्फ किसानको आर्कषणसमेत बढ्दै गएको छ।

images

धान फलिरहेको खेतीयोग्य जमिन मासेर आफूले कागतीखेती थालेको नेपालको भनाइ रहेको छ। करिब ४३ रोपनी जग्गामा किसान नेपालले अहिले कृषि कर्म गर्दै आइरहेका छन्। करिब हजार बोटले कागतीको फल समेत दिन थालिसकेका छन्। 

'बजारमा कागतीको माग राम्रो छ। यसका लागि भोजपुरको हावापानी पनि राम्रो छ, कागतीको बिरुवाको समेत माग हुँदै आएकाले अबका दिनमा कागतीको बिरुवासमेत उत्पादन गर्ने मेरो योजना छ', सफल किसान नेपालले भने। उनले कागतीसँगै ड्रागन फलको बिक्रीबाट समेत राम्रो आम्दानी लिँदै आएका छन्। किसान नेपालले वार्षिक १५ लाख रूपैयाँभन्दा बढी आम्दानी गरिरहेको अनुभाव सुनाए।

बसाइँ गइसकेकाले गाउँमा फर्किएर पुनः व्यवसाय सुरु गर्दा धैरेले विश्वास नगरेको बताउने नेपालकै प्रेरणाले अहिले अरु किसान पनि पनि ड्रागन फलको खेतीतिर आकर्षित भएका रामप्रसाद राई गाउँपालिकाका घमचन्द्र दाहालले बताए। दाहालले भने, 'यस्ता किसानलाई प्रोत्साहन गर्न सकिएमा नयाँ किसानलाई पनि हौसला मिल्छ, यसका लागि स्थानीय सरकार, प्रदेश र संघीय सरकारले पनि विशेष कार्यक्रम ल्याउन जरुरी देखिन्छ।'

लगाएको बालीसमेत बाँदरका कारण भित्र्याउन समस्या भइरहेको अवस्थामा अहिले किसानले त्यसको विकल्पका रुपमा टिमुर, कागती, ड्रागनजस्ता बाली लगाउन सुरु गरेका छन्। खाली खेतीयोग्य जग्गामा किसानले बाँदरले दुःख नदिने प्रजातिका फलफूल खेती गरेर मनग्य आम्दानी लिन थालेका हुन्।

कागती र ड्रागन खेतीसँगै दूध संकलन केन्द्रको विस्तार गर्ने अभियानमा पनि आफू लागेको किसान नेपालले बताए। जिल्लाका विभिन्न ठाउँमा दूध संकलन केन्द्र स्थापना गरी गाडीमार्फत दूधलाई सहर पठाउने सोच रहेको नेपालले बताए।

'गाउँगाउँका किसानले उत्पादन गर्ने दूध सहर पठाउने सोच राखेको छु, यसका लागि टेम्केमैयुङ गाउँपालिका, भोजपुर नगरपालिका, पौवादुङमा गाउँपालिका र अरुण गाउँपालिकामा संकलन केन्द्र राखेर यसबाट दैनिक संकलन भएको दूध गाडीमार्फत सहर पठाउने योजना बनाएको छु', नेपालले भने।

किसान नेपालको प्रेरणाले युवा पुस्तामा पनि कृषि पेसातर्फ मोह बढेको र ड्रागन फलको खेती पनि विस्तार हुँदै गएको युवा व्यवसायी एक्सन राईको भनाइ छ। रासस


प्रकाशित : सोमबार, भदौ ११ २०८००९:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend