आइतबार, असोज ६ गते २०८१    
images
images

फुर्केटारीको पानी सामुदायिक वनको आम्दानी

images
सोमबार, भदौ ११ २०८०
images
images
फुर्केटारीको पानी सामुदायिक वनको आम्दानी

पानी प्रशोधनका लागि समूहले प्रतिघण्टा तीन हजार लिटर पानी शुद्धीकरण गर्ने क्षमता भएको उद्योग स्थापना गरिएको छ। कुल दुई करोड ५० लाखको लगानीमा सञ्चालन गरिएको पानी उद्योगमा १४ जनाले प्रत्यक्षरुपमा रोजगारी प्राप्त गरेका छन्।

images
images

कास्की- सामुदायिक वनबाट रुख र जडीबुटी मात्र नभइ अन्य प्राकृतिक स्रोतको उपयोग गरी रोजगारी सिर्जना तथा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ, पोखरास्थित फुर्केटारी सामुदायिक वन उपभोक्ता समूह।

images
images
images

पोखरा महानगरपालिका-२५ हेम्जास्थित उक्त समूहले सामुदायिक वनको पानी बिक्रीबाट राम्रो आम्दानी गर्न सफल भएको छ। समूहले ‘फुर्केटारी एक्युफेर’ प्रशोधित पानी बिक्रीबाट गत आर्थिक वर्ष २०७९/८० मा एक करोड ३७ लाख ६६ हजार पाँच सय ४४ रूपैयाँ आम्दानी गरेको समूहका महभिरखोला प्राकृतिक खानेपानी प्रालिका अध्यक्ष मित्रलाल त्रिपाठीले जानकारी दिए।

सामुदायिक वनको बीच भागमा चट्टानलाई छिचोल्दै निस्केको पानीलाई प्रशोधन गरी कम्पनीले २० लिटरको जार, एक लिटर र आधा लिटरको बोतलमा बिक्री वितरण गर्दै आएको छ।

उक्त पानी स्थानीय बजारका साथै गण्डकी प्रदेश सरकारका सम्पूर्ण मन्त्रालयसहित ३५ वटा सरकारी कार्यालयमा समेत खपत हुँदै आएको अध्यक्ष त्रिपाठीले जानकारी दिए। सामुदायिक वनको मूलको पानी शुद्ध र स्वादिलो भएकाले पनि माग बढ्दो रहेको उनको भनाइ छ।

images

पानी प्रशोधनका लागि समूहले प्रतिघण्टा तीन हजार लिटर पानी शुद्धीकरण गर्ने क्षमता भएको उद्योग स्थापना गरेको छ। त्रिपाठीका अनुसार गत आवमा २० लिटर क्षमताका एक लाख ८३ हजार तीन सय ७५ वटा जार बिक्री गरिएको थियो। साथै एक लिटरको बोतल भरिएका ३१ हजार आठ सय ३४ कार्टुन र आधा लिटरका बोतलले भरिएका दुई हजार दुई सय १२ थान कार्टुन बिक्री गरिएको थियो।

कुल दुई करोड ५० लाखको लगानीमा सञ्चालन गरिएको पानी उद्योगमा १४ जनाले प्रत्यक्षरुपमा रोजगारी प्राप्त गरेका छन्। कम्पनीले तीन वटा गाडीमार्फत बजारमा पानी आपूर्ति गर्दै आएका छन्। गत आवमा पानी उद्योग सञ्चालनमा ६६ लाख ५१ हजार नौ सय १६ खर्च भएको थियो भने उद्योगको प्रशासनिक खर्चमा ५४ लाख ७१ हजार नौ सय ७५ रूपैयाँ खर्च भएको थियो। 

'उपभोक्ताको सक्रियतामा खानेपानीका लागि चार किलोमिटरको दूरीबाट दुई इञ्चको पाइपमार्फत ल्याइएको पानी यतिखेर उद्योगमा परिणत भएको छ', अध्यक्ष त्रिपाठीले भने, 'वनको संरक्षण, सम्बर्द्धनसँगै सम्भाव्यता अध्ययनका आधारमा प्राकृतिक स्रोतलाई उपयोग गर्ने हो भने रोजगारसहित आम्दानीका लागि युवा वर्गलाई विदेशिनु पर्दैन।'

फुर्केटारी सामुदायिक वन समूहका अध्यक्ष एवं व्यावसायिक पानी उद्योग सञ्चालक समितिका सल्लाहकार उमानाथ त्रिपाठीका अनुसार वन समूहको ५० हजार र ५९ जना उपभोक्ताबाट २५ हजार रूपैयाँदेखि पाँच लाख रूपैयाँसम्मको सेयर लगानीमा पानी उद्योग सञ्चालन गरिएको हो।

कम्पनीले जार ५० र एक लिटर बोतल भएको कार्टुन एक सय ५० र आधा लिटरको बोतलको कार्टुन दुई सय ४० रूपैयाँमा बिक्री गर्दै आएको वन समूहका सचिव रमा त्रिपाठीले बताए।

उनका अनुसार कूल २८ हेक्टर क्षेत्रफलमा फैलिएको वन क्षेत्रलाई व्यवस्थित गर्ने उद्देश्यका साथ पानी व्यवस्थापन, घुम्ती कोष परिचालन, वन गोडमेल, बेमौसमी तरकारी खेती, खानेपानी तथा मुहान संरक्षण र डिप बोरिङ सञ्चालन उपसमिति निर्माण गरिएको छ। तरकारी खेतीमा प्रयोग भएको पानी जार र बोतलमा राखेर बजारमा बिक्री गर्न सुरु गरेपछि सो वन समूहको सक्रियतामा सिँचाइका लागि डिप बोरिङको व्यवस्था गरिएको छ।

कुल ६५ लाखको लागतमा प्रतिसेकेण्ड १३ लिटर पानी आउने चार इञ्चको बोरिङमार्फत निकालिएको पानीबाट उपभोक्ताको एक सय ६६ रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको फुर्केटारी एक्युफेयर प्रालिका कोषाध्यक्ष कमलमणि त्रिपाठीले जानकारी दिए।

सामुदायिक वनको संरक्षणसँगै उत्पादिन वन पैदावार र प्राकृतिक स्रोतको उपयोगमा कतिपय कानूनी अड्चनका कारण प्रचुर सम्भावना रहेर पनि वन समूहले वन उद्यम सञ्चालन गर्न अलमलिएको सामुदायिक वन उपभोक्ता महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेको बुझाइ छ।

'सामुदायिक वनको आम्दानीमा तीनै तहका सरकारले थोपारेको करका कारण वन पैदावारमा आधारित उद्योग धराशायी हुने र नयाँ उद्यम सञ्चालनमा समेत बाधक बन्ने परिस्थिति सिर्जना भएको सरोकारवालाको बुझाइ छ', उनले भने। रासस


प्रकाशित : सोमबार, भदौ ११ २०८००९:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend