आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

बागलुङमा मात्रै लम्पी स्किनबाट तीन करोडको पशुधन क्षति

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ १० २०८०
images
बागलुङमा मात्रै लम्पी स्किनबाट तीन करोडको पशुधन क्षति

लम्पी स्किन रोगविरुद्धको खोप कार्यक्रमलाई तीव्रता दिएपछि रोग फैलिने क्रम कम भएको छ। जिल्लाको निसीखोला, ढोरपाटन र बडिगाडमा लम्पी स्किनबाट गाई तथा गोरु बढी प्रभावित बनेको तथ्यांक छ।

images
images

बागलुङ- ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट बागलुङमा झन्डै तीन करोड रुपैयाँभन्दा बढीको पशुधनमा क्षति पुगेको छ। यसबाट जिल्लामा पाँच हजार तीन सय ८६ गाईगोरु र भैँसी प्रभावित भएको र हालसम्म छ सय १७ पशुको मृत्यु भएको बताइएको छ। 

images
images
images

रोगबाट क्षति हुने मुख्य पशुमा गाईगोरु रहेको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङले जनाएको छ। केन्द्रका अनुसार मृत्युको दुई दशमलव ६३ प्रतिशतमात्रै भैँसी रहेको तथ्यांक छ भने अन्य क्षति गाईगोरुमा देखिएको हो। केन्द्रले संकलन गरेको तथ्यांक अनुसार स्थानीय गाईगोरु र भैँसीको करिब ३० देखि ४० हजार र उन्नत जातको एक लाखसम्मको मूल्य पर्ने भएकाले सरदरमा तीन करोडभन्दा बढीको पशुधनमा क्षति भएको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङका प्रमुख डा ऋषिराम सापकोटाले जानकारी दिए। 

images
images

उहाँका अनुसार अमेरिकन स्वाइन फिबरबाट समेत बागलुङका बङ्गुरपालन किसानले लाखौँ नोक्सानी ब्यहोरेको बताए। उनले एक सय २२ बङ्गुर मरेको तथ्यांक ल्याब परीक्षणबाट पुष्टि भए पनि किसानले चार सय बङ्गुर मरेको जनाउँदै आएको जानकारी दिए। बङ्गुरपालक किसानको नोक्सानी र पेसाबाट पलायन हुन थालेका प्रति विज्ञ केन्द्रले किसानलाई पुनःस्थापनका लागि चालु आर्थिक वर्षमा १६ लाख बजेट विनियोजन गरेको बताए। 

images
images

पाँच हजार पशुलाई लम्पी स्किनको खोप

जिल्लामा फैलँदो क्रममा रहेको लम्पी स्किन रोगबाट पशुलाई बचाउन खोप अभियानलाई प्रभावकारी बनाइएको छ। खोप लगाउने पशुको सङ्ख्या बढेपछि रोग नियन्त्रणउन्मुख भएको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङले जनाएको छ। जिल्लामा गोरुगाई र भैँसीमा फैलिरहेको लम्पी स्किन रोगबाट बचाउनका लागि निजी र स्थानीय तहले चालेको खोप अभियानमा भेटेरेनरी अस्पताल तथा विज्ञ केन्द्र बागलुङले समेत थप पाँच हजार खोप वितरण गरेको पशुप्राविधिक केशवप्रसाद शर्माले जानकारी दिए। 

'हालसम्म पाँच हजार पशुलाई खोप लगाइएको छ भने अझै एक हजार एक सय खोप लगाउने क्रम जारी रहेको छ, बडिगाड गाउँपालिका, काठेखोला गाउँपालिका, जैमिनी नगरपालिका र बागलुङ नगरपालिकाले आफैँ खरिद गरेर एक हजार एक सय खोप लगाइसकेका थिए, केही गाई फार्मले आफैँ खोप लगाएका थिए', उनले भने, 'भदौको मध्यतिर छ हजार पशुले खोप पाइसक्ने छन्, खोपका कारण अहिले लम्पी स्किन रोगको सङ्क्रमण र मृत्युदरसमेत घटेर गएको पाइएको छ। '

भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले ढोरपाटन नगरपालिकामा पाँच सय ५०, गलकोट नपामा पाँच सय, निसीखोला गाउँपालिकामा पाँच सय, तमानखोलामा पाँच सय, बडिगाडमा चार सय, ताराखोलामा तीन सय, बरेङमा दुई सय, काठेखोलामा पाँच सय, बागलुङ नपामा पाँच सय २५ र जैमिनी नपामा पाँच सय डोज खोप वितरण गरिएको जनाएको छ। जसमध्ये एक हजार एक सय खोप लगाउने क्रममा रहेको र अन्य खोप भने पशुलाई लगाइसकेको छ।
 
लम्पी स्किनको सुरुवाती चरणमा बडिगाडले एक सय २५, काठेखोलाले एक सय, बागलुङ नपाले चार सय २५ र जैमिनी नपाले चार सय ५० डोज खोप पालिकाकै खर्चले लगाइसकेका थिए। लम्पी स्किन रोगविरुद्धको खोप कार्यक्रमलाई तीव्रता दिएपछि रोग फैलिने क्रम कम भएको छ। जिल्लाको निसीखोला, ढोरपाटन र बडिगाडमा लम्पी स्किनबाट गाई तथा गोरु बढी प्रभावित बनेको तथ्यांक छ। रासस


प्रकाशित : आइतबार, भदौ १० २०८००३:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend