शुक्रबार, माघ ११ गते २०८१    
शुक्रबार, माघ ११ २०८१
images
images

६ दशकदेखि आरनमा फलाम पिटिरहेका पदमलाल

images
शनिबार, भदौ ९ २०८०
images
images
६ दशकदेखि आरनमा फलाम पिटिरहेका पदमलाल

आरनबाट दैनिकीसमेत चल्न गाह्रो पर्न थालेपछि युवा पुस्ताले यो पेसा गर्न नरुचाएको पदमलाल विश्वकर्मा बताउँछन्।

images
images

मकवानपुर- खरको छानो र काठका बाकलले घेरिएको छ पदमलाल विश्वकर्माको आरन। टाढाबाट हेर्दै झट्ट देखिन्छ आरन। उनको आरनमा छरपस्ट फलामका टुक्रा छन् भने बनाउन ल्याइएका गाउँलेका हँसिया, कोदालो र अन्य फलामका सामग्री रहेका छन्। बिहानको खाजानास्तापछिको उनको दिनाचार्य हुन्छ फलामसँग जुध्ने।

images
images
images

मकवानपुरको बकैया गाउँपालिका-५ निवासी पदललाल ७७ वर्षका भए। तेह्र वर्षको उमेरदेखि पुर्ख्यौली पेसालाई अँगाल्दै आएका पदमलालको ६ दशकभन्दा बढी समय आरनमा फलाम पिटेर बितेको छ। 

images

गाउँघरमा खेतीपाती गर्नेको संख्या घट्दै गएपछि आरन पेसा संकटमा पर्न थालेको पदमलालले बताए। तेह्र वर्षको कलिलो उमेरदेखि आरन पिट्ने काम गरेको अनुभव सुनाउँदै उनले पछिल्ला केही वर्षयता फलाम पिट्ने काम कम हुँदै गएको बताए। पछिल्लो समय प्रविधिको विकासले फड्को मारेर खेतबारीमा ट्र्याक्टरको प्रयोग हुन थालेपछि हलो, चाँदे, कोदालीको प्रयोगमा कमी हुँदै जाँदा आरन पेसा संकटमा पुग्न थालेको पदमलालको भनाइ थियो।

images
images
images

'आरनबाट दैनिकीसमेत चल्न गाह्रो पर्न थालेपछि युवा पुस्ताले यो पेसा गर्न रुचाउँदैनन्। पढाइ तथा रोजगारीका लागि अन्यत्र जानेको जमात बढी छ', उनले भने, 'अहिलेसम्म आरनबाटै चार जनाको परिवारको जीविकोपार्जन भइरहेको छ। पुर्ख्यौली पेसा भएकाले पनि छाड्न मन लाग्दैन।' आफूले अरु काम नजानेको र बाबुबाजेले पनि यही काम गर्दै आएकाले यसलाई नै निरन्तरता दिएको उनको भनाइ थियो।

पदमलालले फलाम ल्याएर हँसिया, कुटो, कोदालो, खुकुरी, दाउलगायत सामग्री परम्परागत रुपमा बनाउने गर्छन्। पछिल्लो समय कोइला नपाउने, पाए पनि महँगोमा पाइने हुँदा काममा अप्ठ्यारो भएको उनले बताए। पहिलेपहिले काम गरेबापत मकै, चामल भाग लिने चलन रहेको बताउँदै अहिले त्यो चलन हराउँदै गएपछि नगद लिने गरेको पदमलालले सुनाए।

'आँखाले देखुञ्जेल फलाम पिट्छु र जीविकोपार्जन गर्छु भन्ने लाग्छ। गाउँ विकास भयो, मेसिनबाट खेतीपाती लगाउन थाले। तैपनि केही चिज आरनमै बनाउन आउँछन्, खुसी लाग्छ', उनले भने, 'बजारमा फलामका काम गर्ने ग्रील उद्योग खुलेका छन्। त्यसैले पनि आरन आउन छाडेका हुन्।' प्रविधिको विकाससँगै पेसालाई बदल्न नसक्दा गाउँका कतिपयले आरन पेसा बन्द गरेर अन्य पेसा गरिरहेका उनले बताए। रासस


प्रकाशित : शनिबार, भदौ ९ २०८००८:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend