आइतबार, असोज ६ गते २०८१    
images
images

सीपले फेरियो गृह श्रमिकका दैनिकी, पूजा सामग्री बनाएरै मासिक ४० हजारसम्म आम्दानी

images
शनिबार, भदौ ९ २०८०
images
images
सीपले फेरियो गृह श्रमिकका दैनिकी, पूजा सामग्री बनाएरै मासिक ४० हजारसम्म आम्दानी

आइएलओले सन् २०१९ मा गरेको अध्ययनअनुसार विश्वभर २६ करोडभन्दा बढी गृह श्रमिक छन्। जसमा तीन कारोड ५० लाखले विकसित देशको प्रतिनिधित्व गर्छन्। यो संख्या विश्वव्यापी श्रम शक्तिका श्रमिकमध्ये आठ प्रतिशत हो। तीमध्ये १४ करोड ७० लाख महिला छन्।

images
images

काठमाडौं- विगत १६ वर्षदेखि श्रीमाया तामाङले भगवानलाई चढाउन प्रयोग हुने पूजा सामग्री बनाउँदै आएकी छिन्। उक्त कार्यबाट उनले मासिक ४० हजार रूपैयाँसम्म आम्दानी गर्छिन्।

images
images
images

श्रीमायालाई मासिक ४० हजार रूपैयाँ कमाउनका लागि नत नियमित कार्यालय धाउन पर्छ नत कसैको नमिठो बचन नै सुन्नुपर्छ। उनी भान्साको काम सकेपछि बचेको समयमा घरमै बसेर भगवानलाई चढाउने पूजा सामग्री बनाउँदै राम्रो आम्दानी गर्छिन्।  श्रीमायाले दैनिक २५ वटासम्म पूजा सामग्री ‘चोप्पेन’ बनाउँछिन्। जसलाई उनले प्रतिगोटा ५० रूपैयाँमा बेच्दै आएकी छिन्। बौद्धमा बस्ने श्रीमाया उमेरले ५० कटिसकेकी छिन् तर उनमा चोप्पेन बनाउने जाँगर भने पहिलेजस्तै नै छ।

श्रीमाया गृह श्रमिक हुँ भन्दा आफूलाई आनन्द आउने बताउँछिन्। आफ्नो घरमा बसेर राम्रो आम्दानी भएकोमा उनी खुसी छिन्। श्रीमाया भन्छिन् - जति बेला कोरोनाको कारण मठ मन्दिर र पूजाआजा ठप्प थियो त्यस समयमा भने व्यापार कम थियो अहिले पुरानै लयमा व्यापर फर्किएको छ। काम गर्ने उत्साह उनमा प्रष्ट देखिन्छ।

श्रीमाया आफ्नो कामप्रति खुसी छिन्। 'शरीरले सक्दासम्म यही काम गर्छु, धर्म र पैसा दुवै कमाइने। सोह्र वर्ष पहिले काम सुरु गर्दा सबै परिवार यही पेसामा लागेका थियौँ। यसकै आम्दानीले छोराछोरी बढेर विदेश पलायन भए। अहिले म एक्लैले गर्छु तर यस पेसालाई मेरो उच्च सम्मान छ,' श्रीमायाले खुसी हुँदै विगत सुनाइन्।

images

त्यस्तै काठमाडौंको मूलपानीमा विगत ३० वर्षदेखि सिलाइकटाइको काम गर्दै आएकी मञ्जु गजुरेल पनि गृह श्रमिकको रुपमा काम गर्न पाउँदा दंग छिन्। उनले सुरुमा एक्लै काम थालिन्। अहिले ११ जना गृह श्रमिकको समूहको अगुवाइमा उक्त काम समाल्दै आएकी छिन्। एक्लैभन्दा समूहमा काम गर्दा सहज भएको उनको अनुभव छ।

नाम खुलेर भन्न नसक्ने महिला समूहमा आएका थिए। विस्तारै श्रम बेचेर आम्दानीको स्रोत पहिचान गर्न थालेपछि महिलामा आत्मविश्वास बढ्दै गएको गजुलेल बताउँछिन्। 'आफ्नो हातमा सीप नहुँदा आर्थिकरुपमा निकै खुम्चिन परेको थियो, अहिले भने आफ्ना लागि कसैसँग माग्नुपरेको छैन, उल्टै परिवारलाई सहयोग गर्दै आएको छु,' खुसीका साथ उनले भनिन्।

यद्यपी पछिल्लो समय उनलाई चिन्ता थपिएको छ। कोरोनापछि उत्पादन भएका सामग्रीले राम्रो बजार नपाउँदा उनीमा चिन्ता थपिएको हो। गजुरेलको समूहले गृह श्रमिकको रुपमा नेपाली दौरा सुरुवाल र साना बालबालिकाको लागि न्यानो कपडा सिलाउँदै आएको छ। उत्पादन गरेको सामग्री न्युरोडमा बिक्री वितरण हुने गरेको उनी बताउँछिन्।

'पहिलेजस्तो होइन अहिले बजारमा प्रतिस्पर्धा छ, उत्पादन भएका सामग्री कति बेला घरमा थन्कने र बजार नपाउने हो पत्तो छैन', उनले भनिन्। उनले स्थानीय सरकारसमक्ष अनुरोध गर्दै उत्पादन भएका सामग्री बिक्रीको सुनिश्चितता गरिदिए काम गर्ने वातावरण थप सहज हुने आशा व्यक्त गरिन्। गृह श्रमिकले ढुक्कका साथ सामग्री उत्पादन गर्न सक्ने गरी वातावरण बन्दिए सहज हुने उनी बताउँछिन्।

त्यसैगरी, जोरपाटीमा बस्ने शान्ता कोइरालाले पनि विगत दश वर्षदेखि गृह श्रमिकको रुपमा काम गर्दै आएकी छिन्। उनले स्वागतका लागि प्रयोग गर्ने खादा बनाउने काम गर्दै आएकी छिन्। कोइराला घरमा बसेरै राम्रो आम्दानी हुने भएपछि घरखर्च चलाउन सहज भएको बताउँछिन्। खादा बनाउनका लागि मेहनेत र लगानी धेरै छ तर त्यसको आधारमा सामग्रीको बजार नभएको उनले बताइन्। 'लामो समयदेखि गृह श्रमिकको रुपमा काम गरेकालाई  सरकारले केही दिन बिरामी भएर बस्दा पनि गाँस बासमा समस्या नहुने गरी थोरै केही आर्थिक व्यवस्था गरिदिए हुन्थ्यो,' उनले स्थानीय सरकारसँग आशा व्यक्त गरिन्।

गृह श्रमिककै रुपमा बूढानीलकण्ठमा विगत पाँच वर्षदेखि फाइबर माला बनाउने रञ्जु तामाङले भने अन्य गृह श्रमिकले भन्दा फरक कहानी सुनाइन्। प्रयोग भइसकेका फाइबरका झोलाबाट घर सजावटको माला बनाउँदै आएकी उनले आफूले उत्पादन गरेका फाइबर मालाले बजार नपाएकोप्रति दिनरात चिन्ता लागिरहेको बताइन्।

'झोलाबाट माला बनाउन सिक्दा आफूले ऋण खोजेर सिकेको र अहिले बनाउनको लागि पनि उत्तिकै मेहनत गर्नुपर्छ। जति मेहनत गरेर माला तयार गरे पनि किन्ने मान्छेको अभाव छ,' उनले भनिन्। तामाङका अनुसार विशेष गरी घर सजावटको लागि बढी प्रयोग हुने उक्त माला बनाउनका लागि कम्तीमा पनि दुई दिनको समय लाग्छ। यसरी तयार गरेको सामग्री सहज बिक्री हुन भने निकै कठिन छ।

एकल महिला उनलाई मेहनतका साथ तयार गरिएका माला समयमा नै बिक्री नहुँदा दैनिक घर खर्च चलाउन पनि समस्या पर्ने गरेको छ। तामाङ भन्छिन्, 'कहिले कहिले चिनजानको साथीभाइबाट मालाको माग हुने गरेको भए पनि व्यावसायिकरुपमा यसले बजार पाउन भने सकेको छैन।' गृह श्रमिकका सामग्रीको बजारीकरण सहज बनाइदिन उनले सरकारसँग आग्रह गरेकी छिन्। तयार गरेको लामो समयसम्म पनि माला बिक्री नहुँदा लागत मूल्यभन्दा कममा माला बेच्नुपरेको गुनासो उनले सुनाइन्। तामाङले बजार नपाउँदा १२ सय पर्ने माला पाँच सय रूपैयाँमा बेच्दै आएकी छिन्।

पछिल्लो समय गृह श्रमिक एक्लैएक्लै घरमा बसेरभन्दा पनि श्रमिककै अगुवाइ गर्ने विभिन्न संस्था सवा नेपाल, क्लास नेपाल, होमनेट नेपाल नामक संस्थामा आबद्ध भएर  काम गर्दै आएकी छिन्। यसरी काम गर्दा थप ऊर्जा थपिने गृह श्रमिक चन्द्रीका भट्टराईले अनुभव सुनाइन्। 

गृह श्रमिकको अवस्था

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएओ) महासन्धि, १७७ का अनुसार गृह श्रमिक भन्नाले रोजगारदाताको कार्यस्थलबाहेक कामदारको घर वा निजले छनोट गरेको स्थानमा बसेर पारिश्रमको लागि श्रम गर्ने व्यक्तिलाई बुझाउँछ। आइएलओले सन् २०१९ मा गरेको अध्ययनअनुसार विश्वभर २६ करोडभन्दा बढी गृह श्रमिक छन्। जसमा तीन कारोड ५० लाखले विकसित देशको प्रतिनिधित्व गर्छन्। यो संख्या विश्वव्यापी श्रम शक्तिका श्रमिकमध्ये आठ प्रतिशत हो। तीमध्ये १४ करोड ७० लाख महिला छन्।

नेपालको सन्दर्भमा केन्द्रीय तथ्यांक विभागका अनुसार जम्मा श्रम शक्तिको १९ दशमलव दुई प्रतिशत गृह श्रमिक रहेका छन्। जसमा ७० प्रतिशतभन्दा बढी हिस्सा महिला छन्। होमनेट दक्षिण एसियाको अनुमानअनुसार दक्षिण एसियाका भारत, बंगलादेश, पाकिस्तान र नेपालमा मात्र छ करोड ७० लाख गृह श्रमिक रहेका छन्।    

गत बैशाखमा होमनेट इन्टरनेस्नलको आयोजनामा काठमाडौंमा गृह श्रमिक सम्मेलन भएको थियो। जहाँ २९ देशका एक सय २७ जना गृह श्रमिक सहभागी थिए। होमनेट साउथ एसियाको क्षेत्रीय संयोजक सृष्टि जोशी मल्लले गृह श्रमिकको थप व्यवस्थापनको पाटो अझै चुनौती रहेको बताइन्।

श्रमिकले मेहनेतका साथ उत्पादन गरेका सामग्रीको उपयुक्त बजार व्यवस्थापनको पाटो मिलाउनको लागि सम्बन्ध भएका निकायले ध्यान दिनुपर्नेमा जोड दिइन्। तारकेश्वर नगरपालिकाको उपप्रमुख सृजना बुर्लाकोटीले आफूले नगरपालिकामा श्रम डेक्सको स्थापना गरेको जानकारी दिँदै यसका लागि काठमाडौं उपत्यकाको अन्य स्थानीय तहसँग पनि समन्वय गरेर गृह श्रमिकको हक हितमा काम गर्ने प्रतिबद्धता जनाइन्। रासस


प्रकाशित : शनिबार, भदौ ९ २०८००७:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend