काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले धनुषा जनकनन्दनी गाउँपालिकाको खजुरीमा रेल म्यूजियम बनाउने भएको छ।
विसं १९९४ मा तत्कालिन इस्ट इन्डिया कम्पनीले पहिलो पटक जयनगरदेखि विजुलापुरासम्म कार्गाे रेल सञ्चालन गरेको थियो। नेपालमा पहिलो पटक रेल आएकै ठाउँमा म्यूजियम बनाउन लागिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए।
‘जनकनन्दनीको खजुरीमा अहिलेपनि ब्रिटिस सरकारले छोडेका १० रेल इन्जिन छन्। ति रेलहरु राखेर म्यूजियम बनाउने तयारी छौ’ मन्त्री ज्वालाले भने ‘१० कठ्ठा क्षेत्रफलभित्र म्यूजियम बन्दैछ।’ यसै वर्ष काम सक्नेगरी मन्त्री ज्वालाले निर्देशन पनि दिएका छन्।
केही समयअघि मन्त्री ज्वालाले म्यूजियम बनाउने क्षेत्रको स्थलगत भ्रमण पनि गरेका थिए। भ्रमणलगतै रेल विभाग र रेल्वे कम्पनीसँग छलफल गरेका थिए। छलफलपछि म्यूजियम बनाउने निर्णयमा पुगेको कम्पनीका जिएम निरन्जन झाले बताए।
इस्ट इन्डिया कम्पनीले ग्यारेज बनाउन र नेपालको काठ लैजान पहिलो पटक बिजुलापुरामा रेल ल्याएको थियो। फर्किदा स्टिम इन्जिन र डिजेल इन्जिनका १० रेल छोडेको थियो। ती इन्जिनहरुको नेपाली नामकरण पनि गरिएको छ। गोरखनाथ, पशुपति, महावीर, चन्द्र, गुहेश्वरी नामकरण गरिएको छ।
मन्त्रालयले एक प्राविधिक टोली पठाउने भएको छ। रेल्वेको जमिन छुट्याउन, पर्खाल निर्माण गर्न र अन्य सम्पतिको संरक्षण गर्न टोली पठाउन लागिएको मन्त्री ज्वालाले बताए।