काठमाडौं- लगानी बोर्डले डोल्मा हिमालयन इनर्जीलाई २६५ मेगावाट ब्याट्री क्षमताको सौर्य ऊर्जा परियोजना अध्ययन अनुमति दिएको छ।
आज बसेको बोर्डको ५५ औं बैठकले डोल्मा इम्प्याक्ट फन्डको सहाक कम्पनी डोल्मा हिमालयनलाई दाङको राजपुर गाउँपालिकामा २४५ मेगावाट र २० मेगावाट ब्याट्री क्षमताको सौर्य ऊर्जा परियोजनाको अध्ययन अनुमतिपत्र दिने निर्णय गरेको हो।
बोर्ड बैठकमा राइजेन इनर्जीको कपिलवस्तुको वाणगंगामा २५० मेगावाटको सौर्य ऊर्जा विकासको विस्तृत अध्ययन प्रतिवेदन पेस भएको छ।
आजको बैठकले चारवटा जलविद्युत आयोजनामा ३६ अर्ब ३७ करोड लगानी स्वीकृत गरेको छ। रोल्वालिङ्ग खोला (२२ मेगावाट), छुजुङ्ग खोला (६३ मेगावाट), दाना खोला (४९.९५ मेगावाट ) र सानीभेरी जलविद्युत् परियोजना (४४.५२ मेगावाट) का लागि कुल ३६ अर्ब ३७ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ।
लगानी बोर्डको कार्यालयमा सम्पन्न बैठकले तमोर जलाशययुक्त जलविद्युत् परियोजना कार्यान्वयन अघि बढाउने सम्बन्धमा हालसम्मको विकासक्रमको समीक्षा गर्दै परियोजनाको भावि कार्यदिशासम्बन्धी सुझाव पेश गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ।
बैठकले दमकस्थित चीन–नेपाल मैत्री औद्योगिक पार्कको सम्बन्धमा विकासकर्तासँग वार्ता गरी परियोजना विकास सम्झौता (पीडीए) को अन्तिम मस्यौदा तयार गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको छ।
माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको सम्बन्धमा सम्मानित सर्वोच्च अदालतबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयनका लागि मन्त्रिपरिषद् समक्ष प्रस्ताव पेश गर्ने निर्णय गरेको छ।
बोर्ड बैठकले ग्रिन क्याल्सियम एमोनियम नाइट्रेट मल कारखनाका लागि मलेसियाको कम्पनीसँग गरिने सम्झौताको मस्यौदा स्वीकृत गरेको छ।