आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

दुई दिन उचालिएको सेयर बजार तेस्रो कारोबारमा पुन: राताम्य, देखिएन सुधारको आधार

बिहीबार , भदौ ७ २०८०
दुई दिन उचालिएको सेयर बजार तेस्रो कारोबारमा पुन: राताम्य, देखिएन सुधारको आधार

काठमाडौं- लगातार दुई दिनमा ४७.१६ अंकले बढेको सेयर बजारमा साताको अन्तिम कारोबार पुन: ओरालोतिर लागेको छ। निरन्तर उतारचढावमा रहँदै ओरालोतिर लागिरहेको सेयर बजारमा लगातार दुई दिन हरियाली देखिए पनि तेस्रो दिन फेरि राताम्य भएको हो। 

बिहीबार ३१.५२ अंकले घटेर बजार २०१३.९३ बिन्दुमा झरेको छ। जम्मा १७ कम्पनीको सेयर मूल्य बढेको बजारमा २०६ कम्पनीको मूल्यमा गिरावट आएको छ। ४६ लाख ५७ हजार १ सय ३७ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५५ करोड ५ लाख ८२ हजार रूपैयाँको कारोबार भएको छ। 

सुधारको संकेत गरेको बजार बजार लामो समयदेखि केही दिनको सामान्य वृद्धि र लगातार घट्ने भइरहेको छ। जसले बजारमा लगानीकर्ताहरू विश्वस्त हुन सकिरहेका छैनन्। साना लगानीकर्ता अतालिएको बजारमा केही ठूला लगानीकर्ताले चलखेल गरिरहँदा उतारचढावको स्थिति देखिएको विश्लेषकहरू बताउँछन्।

यो साता आइतबार २१.९९ अंकले घटेर बजार २०११.१४ बिन्दुमा झरेको थियो। सोमबार १२.९३ अंकले घटेर १९९८.२८ बिन्दुमा झरेको थियो। मंगलबार १७.६९ अंकले बढेर बजार २०१५.९८ बिन्दुमा पुगेको बजार बुधबार २९.४७ अंकले बढेर २०४५.४५ बिन्दुमा पुगेको थियो। 

निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढाव भइरहेको हो। बजारको अहिलेको उतारचढावपूर्ण अवस्थामा लगानीकर्ताहरू अझै पर्ख र हेरको सोचमा नै छन्। अहिलेसम्मको अवस्था पनि पुँजीबजारमा ढुक्क भएर लगानीगर्न सक्नेगरी लगानीकर्तामैत्री देखिएको छैन। 

पुँजी बजारको नियामक निकायले ध्यान नदिँदा र नीतिगत कुरामा साथ नमिल्दा बजार घट्न पुगेको विश्लेषण भइरहेका छन्। यसैले थामिने बिन्दु नभेटिएको बजार अझै चलखेलमा नै रहेको देखिएको विश्लेषकहरू बताउँछन्। गएको केही समययता उतारचढावबाट बजार बाहिर निस्किन खोजिरहे पनि स्थायी सुधारको आधार नभेटिएको विश्लेषकहरूको भनाइ छ। 


प्रकाशित : बिहीबार , भदौ ७ २०८००९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend