आइतबार, असोज ६ गते २०८१    
images
images

कालीमाटी बजारमा दुई दिनदेखि प्याज आएन, कालोबजारी गर्ने १७ जना कारबाहीमा

images
बुधबार, भदौ ६ २०८०
images
images
कालीमाटी बजारमा दुई दिनदेखि प्याज आएन, कालोबजारी गर्ने १७ जना कारबाहीमा

भारतले प्याजको निर्यातमा भन्सार बढाएको भोलिपल्टै नेपाली बजारमा प्याजमा कालोबजारी र चर्को मूल्यवृद्धि देखिन थालेको थियो। भारतले प्याज निर्यातमा कडाइ गर्दै भन्सार कर बढाउनुअगावै नेपाल भित्रिसकेको र मौज्दात रहेको प्याजमासमेत चर्को मूल्यवृद्धि भइरहेको छ।

images
images

काठमाडौं- भारतले प्याजमा भन्सार शुल्क बढाएपछि नेपाली बजारमा यसको अभाव देखिन थालेको छ। काठमाडौंको मुख्य बजारमध्ये एक कालीमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीले दुई दिनदेखि प्याज ल्याएका छैनन्।

images
images
images

कालीमाटी बजारमा दैनिक एक सय मेट्रिकटनसम्म प्याज आउने गरेकामा सोमबार र मंगलबार कत्ति पनि प्याज नआएको सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए।

'दैनिक औसत ९० देखि सय मेट्रिनटनसम्म प्याज आउने गरेकामा दुई दिनदेखि ठप्प छ। गत आइतबार ४७ मेट्रिकटन आएको र भएको मौज्दातसकिए पछि अहिले कालीमाटी तरकारी बजारमा प्याज छैन', उनले भने।

यहाँ आउने सबैजसो प्याज भारतबाट आयात हुने गरेकामा भारत सरकारले गत शनिबारदेखि ४० प्रतिशत भन्सार शुल्क बढाएपछि अहिले आउन छोडेको सूचना अधिकारी श्रेष्ठको भनाइ थियो। बेच्नका लागि नै नभएपछि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दैनिक मूल्यसूची तालिकाबाटै प्याजलाई हटाएको छ।

images

'भएको मौज्दात सकियो। व्यापारीले ल्याउने कुरा हो, उतै (भारत) बाट पठाएका छैनन् भन्ने सुनेको छ,' उनले भने, 'बेच्नलाई प्याज नै नभएपछि मूल्यसूचीमा नराखिएको हो।'

भारतबाट व्यापारीले प्याज नल्याएपछि एकातिर बजारमा यसको अभाव देखिएको छ भने अर्कोतिर कालोबजारी र मूल्यवृद्धिसमेत देखिएको छ। पछिल्लो दुई दिनमा मात्र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ तरकारी व्यापारीलाई कारबाही गरेको छ भने थप केही व्यापारी माथि अनुसन्धान चलिरहेको छ। कालोबजारी र मूल्यवृद्धि भएको गुनासो उपभोक्ताबाट आएपछि विभागले प्याजलक्षित बजार अनुगमन थालेको हो।

विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले पछिल्लो तीन दिनदेखि प्याजको बजारमूल्य केन्द्रित अनुगमन भइरहेको बताए। 'हामीले उपत्यकामा सबैतिर पुगेर अनुगमन गरिरहेका छौँ। आज पनि कीर्तिपुर, चोभार, बनेपालगायत क्षेत्रमा अनुगमन भइरहेको छ', उनले भने, 'अहिले हामीले मुख्यगरी प्याजका आयातकर्ता र गोदाममा अनुगमन गरिरहेका छौँ। व्यापारीले प्रतिकिलो ४८ रूपैयाँमा किनेको प्याज ६८/७० रूपैयाँसम्ममा बेच्ने गरेको अनुगमनबाट देखिएको छ।'

यसरी मूल्यवृद्धि र कालोबजारी गर्ने व्यापारीलाई विभागले तत्काल अधिकतम तीन लाख रूपैयाँसम्म जरिवाना गर्ने गरेको महानिर्देशक ठाकुरले जानकारी दिए। विभागले बजार अनुगमनका क्रममा सोमबार तीनवटा व्यापारीलाई जनही २० हजार, दुईवटा व्यापारीलाई जनही ५० हजार रूपैयाँका दरले जरिवाना गरेको थियो भने चारवटा आयातकर्ता र व्यापारीलाई थप अनुसन्धानका लागि कागजात माग गरेको थियो। त्यस्तै मंगलबार अनुगमनका क्रममा १२ तरकारी व्यापारीलाई जरिवाना गरिएको थियो भने पाँच व्यापारीसँग थप अनुसन्धानका लागि कागजात माग गरिएकोे थियो।

भारतले प्याजको निर्यातमा भन्सार बढाएको भोलिपल्टै नेपाली बजारमा प्याजमा कालोबजारी र चर्को मूल्यवृद्धि देखिन थालेको थियो। भारतले प्याज निर्यातमा कडाइ गर्दै भन्सार कर बढाउनुअगावै नेपाल भित्रिसकेको र मौज्दात रहेको प्याजमासमेत चर्को मूल्यवृद्धि र कालोबजारी भइरहेको विभागले जनाएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजारमा गत आइतबार प्रतिकिलो ६० रूपैयाँका दरले बिक्री भइरहेको प्याज सोमबार प्रतिकिलो २० सम्म बढेर ८० रूपैयाँ पुगेको थियो तर विभागले अनुगमन गरेपछि कालीमाटी तरकारी बजारमा प्याजको मूल्य प्रतिकिलो १० रूपैयाँसम्मले घटेपनि सोमबारयता भने त्यहाँ प्याज कारोबार भएको छैन। भारतको वित्त मन्त्रालयले शनिबार प्याजको निर्यातमा ४० प्रतिशतसम्म भन्सार कर बढाउने निर्णय गरेको थियो। त्यहाँको आन्तरिक बजारमा प्याजको मूल्य बढेपछि भन्सार कर बढाइएको उक्त मन्त्रालयले जनाएको थियो। आगामी डिसेम्बर ३१ सम्म यस्तो कर लाग्नेछ। रासस


प्रकाशित : बुधबार, भदौ ६ २०८००९:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend