आइतबार, असोज ६ गते २०८१    
images
images

हनुमानढोका क्षेत्रको नौतले दरबार पुनःनिर्माण अन्तिम चरणमा

images
बुधबार, भदौ ६ २०८०
images
images
हनुमानढोका क्षेत्रको नौतले दरबार पुनःनिर्माण अन्तिम चरणमा

विश्व सम्पदा क्षेत्र भएकाले दरबारको पुरानो स्वरुपलाई नबिगारी क्षतिग्रस्त भागको प्रबलीकरण एवं संरक्षणको काम भएको छ। हाल पुरानै स्वरुपमा नौतले दरबार ठडिएको देखिन्छ।

images
images

काठमाडौं- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रको नौतले दरबारको पुनःनिर्माण अन्तिम चरणमा पुगेको  छ। चीनले भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्ने क्रममा नौतले दरबारका लागि सहयोग उपलब्ध गराएको थियो।

images
images
images

सन् २०२२ मा सक्ने गरी सम्झौता भएको नौतले दरबार पुनःनिर्माण कोरोना सुरु हुनुअघि नै ८० प्रतिशत काम सकिएको थियो। विसं २०७६ चैतपछि कोरोनाका कारण काममा समस्या आएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दिप खनालले जानकारी दिए।

पुरातत्व विभागले पुनःनिर्माणमा प्राविधिक सहयोग गरेको थियो। पुनःनिर्माणका क्रममा परम्परागत सामग्री उपलब्ध गराउने तथा सुपरिवेक्षणको भूमिका पनि विभागलाई नै दिइएको थियो। विसं २०७६ चैतअघि नै ८० प्रतिशत काम सकिएकामा कोरोना महामारीका कारण बाँकी काम सकेर संरचनाका काम हालै सम्पन्न गरी भित्री साजसजावट र ग्यालरीको काम भइरहेको उनले जानकारी दिए। करिब एक वर्षमा भित्री सजावट र ग्यालरीका काम पनि सम्पन्न गरी संग्रहालयकै रुपमा नौतले दरबार सर्वसाधाराणको अवलोकनका लागि खुला गरिने हनुमानढोका दरबार संग्रहालय विकास समितिले जनाएको छ।

विभागका पूर्व महानिर्देशक दामोदर गौतमले कोरोना महामारी सुरु हुनुअघि दातृ राष्ट्रले गरिरहेका काममध्येमा उत्कृष्ट काम छिटो गतिमा भएको बताए। विश्व सम्पदा क्षेत्र भएकाले दरबारको पुरानो स्वरुपलाई नबिगारी क्षतिग्रस्त भागको प्रबलीकरण एवं संरक्षणको काम भएको हो। हाल पुरानै स्वरुपमा नौतले दरबार ठडिएको देखिन्छ।

images

करिब १६ करोड रूपैयाँ लागतमा दरबार पुनःनिर्माण भएको जनाइएको छ। दरबार पुनर्निर्माणका लागि विसं २०७४ साउन ३२ गते शिलान्यास भएको थियो। नेपाल भ्रमणमा रहेका तत्कालीन चिनियाँ उपप्रधानमन्त्री वाङ याङ र नेपालका तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले संयुक्त रूपमा दरबार पुनर्निर्माणको शिलान्यास गरेका थिए। दरबार विसं १८२६ मा तत्कालीन राजा पृथ्वीनारायण शाहले निर्माण गराएका हुन्।

सम्झौताअनुसार सन् २०२२ को नोभेम्बरसम्म नौतले दरबार पुनःनिर्माणको म्याद रहेको थियो। समयमा काम नसकेपछि पुनःनिर्माणका लागि म्याद थप गरिएको हो। वसन्तपुर दरबार क्षेत्रमा भूकम्पले क्षति गरेका संरचनाको पुनःनिर्माण अझै सकिएको छैन। यस क्षेत्रका ९५ सम्पदामध्ये ७५ वटामा भूकम्पले क्षति गरेको इन्जिनियर रेणु महर्जनले जानकारी दिइन्।

हालसम्म ४२ सम्पदा पुनःनिर्माणको काम सकिएको छ। हाल ११ सम्पदा पुनःनिर्माणको काम भइरहेको छ। २२ सम्पदाको भने अझै पुनःनिर्माण सुरु हुन सकेको छैन। बजेट अभावमा २२ सम्पदा पुनःनिर्माण गर्न नसकिएको इन्जिनियर महर्जनले बताइन्। रासस


प्रकाशित : बुधबार, भदौ ६ २०८००७:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend