आइतबार, असोज ६ गते २०८१    
images
images

सरकार विद्युतबाटै आत्मनिर्भर अर्थतन्त्र बनाउन लागेको छ : प्रधानमन्त्री दाहाल

images
मंगलबार, भदौ ५ २०८०
images
images
सरकार विद्युतबाटै आत्मनिर्भर अर्थतन्त्र बनाउन लागेको छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले बंगलादेशसँग विद्युत् व्यापारको ढोका खुलेको बताउँदै आसन्न चीन भ्रमणमा पनि विद्युत् व्यापारको सम्भावनाबारे छलफल हुने बताए।

images
images

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार विद्युत् उत्पादनबाटै आत्मनिर्भर अर्थतन्त्र बनाउने बाटोमा लागेको बताएका छन्। भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको आज उद्‌घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यसका लागि सरकारले निजी लगानीकर्तालाई विद्युत उत्पादनमा प्रोत्साहन गरेको स्पष्ट पारे।

images
images
images

उनले अन्तरदेशीय प्रसारण लाइन विस्तार गरी विद्युत् व्यापारलाई प्राथमिकता दिएको उल्लेख गरे। उनले भने, 'हालैको भारत भ्रमणमा भारत सरकारसँग विद्युत् खरिदमा भएको समझदारीले यसका लागि सकारात्मक पहल भएको छ।'

बंगलादेशसँग विद्युत् व्यापारको ढोका खुलेको बताउँदै उनले आसन्न चीन भ्रमणमा पनि विद्युत् व्यापारको सम्भावनाबारे छलफल हुने बताए। प्रधानमन्त्री प्रचण्डले आफूहरुको जोड धेरैभन्दा धेरै विद्युत् स्वदेशमा खपत गरी जनताको जीवनस्तर उकास्नेतर्फ सरकारको जोड दिएको स्पष्ट पारे। उनले विद्युत् क्षेत्रको विकासमा उत्पादन, प्रसारण र वितरणको नीति लिइनुपर्ने भन्दै विगतको तुलनामा विद्युत् उत्पादन बढेको बताए।

नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र युरोपेली लगानी बैंक (ईआईबी)को सहुलितपूर्ण ऋणमा सबस्टेसन र नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा हेटौँडा-भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण गरिएको हो।

images

सबस्टेसन २०७७ साल असारमा ठेक्का लागेर २०८० को साउनमा निर्माण सम्पन्न भएको थियो। यसको कुल लागत एक अर्ब ५२ करोड रूपैयाँ छ। हेटौँडा-भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइनको लम्बाइ करिब १४७ किलोमिटर छ। सात अर्ब ९४ करोड रूपैयाँ कुल लागतमा निर्माण भएको यो प्रसारण लाइनबाट एक हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्ने क्षमता छ।

हेटौँडा-भरतपुर र भरतपुर-बर्दघाट दुई खण्डमा विभाजन गरी यसको निर्माण गरिएको हो। मकवानपुरको हेटौँडा उपमहानगरपालिका चौकीटोलस्थित पुरानो हेटौँडा सबस्टेसनबाट नयाँ भरतपुर सबस्टेसनसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको एउटा सर्किटलाई १३२ केभीमा चार्ज गरिएको छ।

दोस्रो खण्डअन्तर्गत नयाँ भरतपुर सबस्टेसनबाट सुरु भई बर्दघाट सबस्टेसनमा अन्त्य हुने ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनलाई हाल १३२ केभीमा सञ्चालनमा ल्याइएको छ।

प्रसारण लाइनको क्षमता सुदृढीकरण, नेपालको एकीकृत विद्युत् प्रणाली विश्वसनीय बनाउन पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि हेटौँडा-भरतपुर-बर्दघाट प्रसारण लाइन निर्माण गरिएको हो। नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा आयोजना सुरु गरिएको थियो। रासस


प्रकाशित : मंगलबार, भदौ ५ २०८००९:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend