आइतबार, असोज ६ गते २०८१    
images
images

दाबगरावासीले २२ वर्षपछि फिर्ता पाउने भए बसपार्क निर्माणका लागि नगरपालिकालाई दिएको जग्गा

images
मंगलबार, भदौ ५ २०८०
images
images
दाबगरावासीले २२ वर्षपछि फिर्ता पाउने भए बसपार्क निर्माणका लागि नगरपालिकालाई दिएको जग्गा
फाइल तस्बिर

स्थानीयले दिएको जग्गामा १७ वर्षपछि मात्रै बसपार्क निर्माण गर्न थालिएको थियो। नौ करोड रूपैयाँ लागतमा आधुनिक बसपार्क निर्माण भए पनि बाँकी जग्गा व्यवस्थापन गरेर स्थानीयलाई फिर्ता गर्न नसक्दा बसपार्कसमेत सञ्चालनमा आउन सकेको थिएन।

images
images

बागलुङ- बागलुङ बसपार्क निर्माण र जग्गा व्यवस्थापनका लागि बागलुङ नगरपालिकालाई दिएको जग्गा स्थानीयले २२ वर्षपछि फिर्ता पाउने भएका छन्। बागलुङ-४ दाबगरामा रहेको ५९ रोपनी जग्गा स्थानीयले नगरपालिकालाई बसपार्क निर्माण गर्न निःशुल्क प्रदान गरेका थिए।

images
images
images

नौ करोड रूपैयाँ लागतमा आधुनिक बसपार्क निर्माण भए पनि बाँकी जग्गा व्यवस्थापन गरेर स्थानीयलाई फिर्ता गर्न नसक्दा बसपार्कसमेत सञ्चालनमा आउन सकेको थिएन। अब भने बसपार्क सञ्चानमा आउने भएको छ।

नगरपालिकाले अहिले जग्गा व्यवस्थापनसँगै फिर्ताका लागि आवश्यक पूर्वाधार निर्माण सुरु गरेपछि जग्गादाताले २२ वर्षपछि बसपार्क निर्माण गरेर बाँकी रहेको जग्गा घडेरीका रूपमा फिर्ता पाउने भएका छन्। नगरपालिकाले साढे १७ रोपनी जग्गामा बसपार्क निर्माण गरेर बाँकी रहेको ४१ रोपनी जग्गा घडेरीका रूपमा फिर्ता गर्न थालेको छ।

स्थानीयले दिएको जग्गामा १७ वर्षपछि मात्रै बसपार्क निर्माण गर्न थालिएको थियो। स्थानीय र नगरपालिकाबीच भएको समझदारीअनुसार जग्गा फिर्ता नहुँदा निर्माण सम्पन्न भएको बसपार्कसमेत सञ्चालनमा आउन सकेको छैन। विसं २०७५ असोजमा ठेक्कामार्फत काम थालिएको  बसपार्क २०७८ को सुरुतिर सम्पन्न भए पनि दुई वर्ष बित्दासमेत बसपार्क सञ्चालनमा आउन सकेको थिएन।

images

बागलुङ नगरपालिकाले बसपार्क निर्माण गरेर बाँकी रहेको जग्गा प्लटिङ गरेर स्थानीय जग्गादातालाई फिर्ता गर्ने प्रक्रिया सुरु गरेको बागलुङ नगरपालिकाले जनाएको छ। विसं २०५८ मै स्थानीयले नगरपालिकाको नाममा जग्गा दिने सहमति जनाएर बसपार्क निर्माण गर्ने भने पनि दुई दशकपछि मात्रै बसपार्क निर्माण सम्पन्न भएको थियो।

स्थानीयले पाउनुपर्ने जग्गालाई नगरपालिकाले सहमतिअनुसार व्यवस्थापन गरेर स्थानीयलाई फिर्ता गर्नुपर्ने प्रावधानअनुसार जग्गा व्यवस्थापनको काम भइरहेको बागलुङ नगरपालिका-४ का वडाध्यक्ष तथा बसपार्क सञ्चालन समितिका संयोजक कुमारविक्रम क्षेत्रीले जानकारी दिए।

'बसपार्कको इतिहास लामो भयो, यही वर्षमा वसपार्कको सबै काम टुङ्ग्याउने गरी अगाडि बढेका छौँ, स्थानीयलाई बसपार्क निर्माणपछि बाँकी रहेको जग्गा फिर्ता दिनका लागि जग्गा व्यवस्थापनको काम सकिएको छ, अब उक्त जग्गामा सडक, पानी, विद्युत् र ढलको कामका लागि रु ७० लाखमा ठेक्कामार्फत काम हुन्छ', उनले भने, 'हामीले बसपार्क निर्माण सम्पन्न गरेकै दुई वर्ष बितिसक्यो, धेरै समस्या आए, अहिले नगरपालिकाले जग्गा व्यवस्थापनका लागि ४१ रोपनी जग्गा सम्याइसकेको छ, अब सडक ग्राभेल गर्ने, पानी, विद्युत् र ढलको काम गरेर जग्गा व्यवस्थापन समितिलाई बुझाउँछौँ, समितिले एक सय २७ वटा घडेरी स्थानीयलाई फिर्ता गर्ने छ।'

बसपार्क सञ्चालनका लागि पहुँचमार्ग र स्थानीय जग्गादाताको सहमतिअनुसारको जग्गा फिर्ता गर्न नसक्दा हालसम्म सञ्चालनमा आउन नसकेको बसपार्क एक वर्षभित्रै सञ्चालनमा आउने क्षेत्रीको भनाइ छ। बसपार्क निर्माण गरेर बाँकी रहेको ४१ रोपनी जग्गामा सडक विस्तारका लागि नापजाँचको काम भइरहेको नगरपालिकाका इन्जिनियर गौरव शर्माले जानकारी दिए। शर्माका अनुसार बसपार्कबाहेकको जग्गा प्लटिङ गर्नका लागि नक्सांकन गरिसकेको जनाउँदै सोहीअनुसार जग्गा कित्ताकाट गरिने इन्जिनियर शर्माको भनाइ छ।

'तीनतर्फबाट बसपार्कको पहुँचमार्ग निर्माण गर्न थालेका छौँ, बाँकी रहेको सबै जग्गा समानन्तररूपमा घडेरीजस्तो बनाएर नगरपालिकाले जग्गा व्यवस्थापन समितिलाई दिन्छ', इन्जिनियर शर्माले भने, 'स्थानीयले निःशुल्क दिएर बसपार्क निर्माणमा सहयोग गरेवापत उनीहरूको जग्गा नगरपालिकाले घडेरीका रूपमा फिर्ता गर्ने हो।'

अहिले ५९ रोपनी जग्गामध्ये साढे १७ रोपनी जग्गा बागलुङ नगरपालिकाको नाममा पास भएर बसपार्क निर्माण भएको छ भने बाँकी ४१ रोपनी जग्गा बसपार्क व्यवस्थापन समितिको नाममा रहेको जग्गा व्यवस्थापन समितिका अध्यक्ष तथा जग्गादाता सुवास राजभण्डारीले जानकारी दिए।

'ढिलै भएपनि नगरपालिकाले बसपार्क सञ्चालन र जग्गा फिर्ताका लागि आवश्यक काम थालेको छ, अब स्थानीयले जग्गा घडेरीका रूपमा पाउनेछन्', उनले भने। लहलह धान झुल्ने खेत बसपार्क बनाउन स्थानीयले दिएको २३ वर्षपछि बसपार्क सञ्चालनको चरणमा पुगेको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए।

नगर विकास कोषको ऋण लगानीमा नौ करोड रूपैयाँ खर्चेर निर्माण गरिएको व्यवस्थित आधुनिक बागलुङ बसपार्कमा ६० ठूला बस, १० माइक्रोबस एकैसाथ अटाउन सक्नेछन्। टर्मिनल भवनको भुइँतलामा कार तथा मोटरसाइकल पार्किङ गर्न सकिने छ भने २० वटाभन्दा बढी व्यावसायिक सटरबाट नगरपालिकाले आम्दानी गर्न सक्नेछ। नौ करोड रूपैयाँमा आशिस फेवा जेभीले बसपार्क निर्माण गरेको हो। रासस


प्रकाशित : मंगलबार, भदौ ५ २०८००४:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend