आइतबार, असोज ६ गते २०८१    
images
images

भन्सार कार्यालय सहयोगीको भरमा, राजस्व संकलनमा बर्सेनि ह्रास

images
सोमबार, भदौ ४ २०८०
images
images
भन्सार कार्यालय सहयोगीको भरमा, राजस्व संकलनमा बर्सेनि ह्रास

जिल्लाभर अन्य सात छोटी भन्सार कार्यालय भए पनि कर्मचारी अभावका कारण सातमध्ये पाँच छोटी भन्सार कार्यालय वर्षौँदेखि ठप्प छन्।

images
images

सप्तरी- नेपाल-भारत अन्तर्राष्ट्रिय सीमानाकामा राजस्व उठाउने बलान बिहुल-४ बेल्हीस्थित छोटी भन्सार कार्यालय दुई कार्यालय सहयोगीका भरमा सञ्चालन हुँदै आइरहेको छ ।  

images
images
images

सो कार्यालयमा कार्यालय सहयोगी जोगिन्द्र यादव र खडकबहादुर कार्की कार्यरत छन् भने जिल्लाकै डाक्नेश्वरी नगरपालिकामा रहेको पातो छोटी भन्सार कार्यालय पनि कार्यालय सहयोगीका भरमा सञ्चालन भइरहेको छ। उक्त दुवै भन्सार कार्यालय राजविराज भन्सार कार्यालय मातहतमा छन्।

बेल्ही छोटी भन्सार कार्यालयले आर्थिक वर्ष २०७/०८० मा १६ लाख २६ हजार एकसय ८३ रूपैयाँ राजस्व संकलन गरेको छ। उक्त कार्यालयमा नायब सुब्बाको दरबन्दी भए पनि दरबन्दीका कर्मचारी नबस्ने भएपछि राजस्व संकलनमा कमी आएको छ।

कर्मचारी अभावमा राजस्व संकलनमा ह्रास

images

वार्षिक करोडौँ राजस्व संकलन हुने सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-१ तिलाठीस्थित राजविराज भन्सार कार्यालयमा पनि लामो समयदेखि कर्मचारीको अभाव हुँदै आएको छ। कर्मचारी अभावका कारण उक्त कार्यालयले आफ्नो वार्षिक लक्ष्य पूरा गर्न सकेको छैन। राजस्व संकलनमा बर्सेनि ह्रास हुँदै आएको छ। तिलाठी सप्तरीको एकमात्र ठूलो भन्सार नाका हो। विसं २०१३ मा उक्त नाकामा भन्सार कार्यालय स्थापना भएको थियो। यसका साथै जिल्लाभर अन्य सात छोटी भन्सार कार्यालय भए पनि कर्मचारी अभावका कारण सातमध्ये पाँच छोटी भन्सार कार्यालय वर्षौँदेखि ठप्प छन्।

राजविराज भन्सार कार्यालयका सूचना अधिकारी अजयप्रकाश भगतले अहिले दुई वटा छोटी भन्सार कार्यालय रहेको बताए। ती छोटी भन्सारमा नायब सुब्बा पठाउनुपर्नेमा कर्मचारी अभावका कारण सहयोगीका भरमा सञ्चालन हुँदै आएको जानकारी गराउँदै उनले दुई महनाअघि कार्यालय प्रमुख र थप दुई जना नायब सुब्बा आएको र योभन्दा पहिला जेनतेन म निमित्त कार्यालय प्रमुख भएर थप एक सुब्बा, कम्प्युटर अपरेटर, कार्यालय सहयोगीका भरमा सञ्चालन हुँदै आएको उल्लेख गरे।

सो कार्यालमा भन्सार अधिकृत एक, नासु आठ, कम्प्युटर अपरेटर एक, हलुका सवारी चालक एक र कार्यालय सहयोगी १० जनाको दरबन्दी रहेको छ। राजविराज भन्सार कार्यालयलाई भन्सार विभागले आव २०७९/०८० मा पाँच करोड ९९ लाख ३० हजार रूपैयाँ उठाउने लक्ष्य तोके पनि ८४ प्रतिशत (पाँच करोड नौ लाख) मात्र राजस्व संकलन भएको थियो।

उक्त कार्यालयले भन्सार छली र चोरीपैठारीका सामान पक्राउ गरी ५० वटा मुद्दा चलाएको सूचना अधिकारी भगतले बताए। उनले चालु आवमा भने छ करोड ३० लाख रूपैयाँ राजस्व उठाउने लक्ष्य रहेको उल्लेख गरे।

घट्दै राजस्व

आव २०७८/७९ मा उक्त कार्यालयले राजस्व संकलनतर्फ आफ्नो निर्धारित लक्ष्य पूरा गर्न सकेन। छ करोड ८४ लाख २० हजार रूपैयाँ उठाउनुपर्ने लक्ष्य निर्धारण गरिएकामा कार्यालयले चार करोड १७ लाख ६४ हजार रूपैयाँ राजस्व संकलन गरेको थियो। उक्त रकम  लक्ष्यभन्दा ३९ प्रतिशतले कम हो। जिल्लाकै पातो छोटी भन्सार र बेल्ही छोटी भन्सार कार्यालय भाडाको घरमा सञ्चालनमा रहेको छ।

माओवादी जनयुद्धका समयमा विस्थापित भन्सार कार्यालय पुनःस्थापना भएन

माओवादी जनयुद्धका समयमा विस्थापित भएका  रामनगर कोदरकट्टी, हनुमानगर, बनिनयाँ र सुभरनपट्टीका छोटी भन्सार कार्यालय अहिलेसम्म पुनःस्थापना हुन सकेका छैनन्। छोटी भन्सार पुनःस्थापित नभएपछि खुला सिमानाको फाइदा उठाउँदै तस्करी पनि बढेको छ। यस्तै  जिल्लाकै  भारतीय सिमानासँग नजिकै रहेका व्यापारिक केन्द्रका रुपमा रहेका बोदे बर्साईन बजारस्थित सुभरनपट्टी छोटी भन्सार कार्यालय पनि सञ्चालन नहुँदा राज्यले भन्सारबाट उठ्ने लाखौँ राजस्व गुमाइरहेको स्थानीयवासी दिपक यादवले बताए।

सो नाकाबाट सार्वजनिक भाडामा प्रयोग हुने टेम्पु, बस र निजी मोटरसाइकल, साइकल प्रयोग गरी भारतबाट ल्याइएका कपडा, चिनी, दाल, रजनिगन्धा, सुर्ती, बिडी, मेदा, बेसन र (प्रतिबन्धित मुगरी माछा) लगायत समान स्तकरले बोदे बर्साईन बजारसम्म पु¥याउने गरेका छन्। सीमानाकामा दुईतर्फी रहेका सुरक्षाकर्मी सशस्त्र प्रहरी, नेपाल प्रहरीको आँखा छलेर गाडीका गाडी समान भित्रिरहँदा पनि छानबिन हुन सकेको पाइँदैन। सो स्थानमा सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट सुभरनपट्टी, सोनापुर र सशस्त्र प्रहरी बल सीमासुरक्षा बेसक्याम्प रहनाका साथै इलाका प्रहरी कार्यालय प्रहरीचौकी पनि रहेको छ। उक्त नाकामा नेपाल-भारतको सहयोगमा पक्की सडकसमेत बनिसकेको छ। 

बेल्ही भन्सारबाट भन्सार छलीका सामान

छोटी भन्सार कार्यालयमा जनशक्ति अभावले गर्दा तस्करी नियन्त्रणमा समस्या भइरहेको त्यहाँ कार्यरत कार्यालय सहयोगीहरूले बताए। 'हामी श्रेणीविहीन राष्ट्रसेवक हामी कसैलाई रोक्न सक्दैनौँ। आफै भन्सार शुक्ल बुझाउन आउनेलाई हामी रसिद काटी दिन्छौँ। दुई जनामात्र छौँ, थुप्रै चोरबाटा छन्। हामीले कार्यालय चलाउने कि? बाहिर हेर्ने?', उनीहरूको भनाइ थियो।

विसं २०७९ भदौ ७ गते सप्तरीको बलान बिहुल गाउँपालिका-४ बेल्हीमा भारतबाट तस्करी गरी ल्याएको कपडा प्रहीले नियन्त्रणमा लिन खोज्दा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप भएको थियो।

सो क्रममा प्रहरीले तीन राउण्ड हवाई फायर गरेको थियो भने तस्करले प्रहार गरेको ढुंगा लागेर तीन प्रहरी घाइते भएका थिए। भारतबाट सामान तस्करी गरेर स्थानीय घुरन साहको घरमा राखिएको सूचना पाएपछि तस्करी गरी ल्याइएको सामान प्रहीले नियन्त्रणमा लिन खोज्दा प्रहरी र तस्कर समूहबीच झडप भएको थियो।

त्यसैगरी विसं २०८० जेठ ३ गते बलान बिहुल-४ बेल्हीस्थित सन्तोष यादवको घरमा सटरभित्र भन्सार छली भारततर्फ पठाउन तयारी अवस्थामा स्याउ राखिएको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले तीन सय ८५ कार्टुन स्याउ बरामद गरेको थियो।

सो स्याउ १५ लाख ४० हजार रूपैयाँ बराबरकोे थियो। बरामद गरिएका स्याउ आवश्यक कारबाहीका लागि प्रहरीले राजविराज भन्सार कार्यालय पठाएको थियो। विसं २०८० जेठ ९ गते अवैधरुपमा भित्रिएका प्रतिबन्धित करिब दुई क्विन्टल मुगरी माछा प्रहरीले नियन्त्रणमा लिएर बेल्ही प्रहरीचौकी परिसरमा खाल्डो खनी पुरेको थियो। सो नाकामा नेपालबाट बालुवा तथा गिट्टी तस्करी गरी भारततर्फ निकासी हुने गरेको स्थानीयवासीले बताएका छन्। रासस


प्रकाशित : सोमबार, भदौ ४ २०८०११:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend