काठमाडौं- भारतले कार सुरक्षा परीक्षणमा आफ्नै मापदण्ड कार्यान्वयन गरेको छ। मंगलबारबाट भारतले आफ्नै ‘भारत एनसीएपी’ सुरु गर्दैछ। भारतको राजमार्ग तथा यातायात मन्त्री नितिन गडकरीले भारत एनसीएपी परीक्षण सुरु गर्दै छन्।
कार कति सुरक्षित छ भनेर परीक्षण गर्न संसारभर विभिन्न विधिहरू प्रयोगमा रहेका छन्। विभिन्न देशहरूले आफ्नो देशमा उत्पादन भएका तथा आयातित कारको सुरक्षा परीक्षण गर्न आ-आफ्नो स्ट्यान्डर्ड तय गरेका छन्।
यस्तैमा भारतमा पनि आफ्नै ‘भारत एनसीएपी’ तय गरेको हो। भारत एनसीएपी अक्टोबर १ मा परीक्षण गरि सार्वजनिक हुने योजना रहेपनि केही ढिलोगरि मंगलबारबाट हुँदैछ।
योसँगै भारतीय कार निर्माताहरूले भारत एनसीएपीमै आधारित रहेर कारको सुरक्षा रेटिङ गराउनु पर्नेछ। उनीहरूले यसका अलावा ग्लोबल एनसीएपीमा समेत परीक्षण गराउन सक्नेछन्।
भारत एनसीएपी सार्वजनिक हुने तय भएसँगै यहाँका मुख्य कार निर्माताहरूले नयाँ प्रणालीको स्वागत गरेका छन्। भारतीय कार निर्माताहरू मारुती सुजुकी, टोयोटा मोटर, टाटा मोटर्स, महिन्द्रा, स्कोडा तथा कियाले ‘भारत एनसीएपी’को यसअघि नै स्वागत गरेका थिए।
भारत एनसीएपीले भारतमा बनेका र भारतीय सडकमा कुद्ने कारको सुरक्षा परीक्षण गर्नेछ। भारतमा बनेका र अन्यत्रबाट आयात गरिएका कारहरूले स्वेच्छिक रुपमा सुरक्षा परीक्षण गराउन सक्नेछन्। भारत एनसीएपी अटोमोबाइल इन्डस्ट्री स्ट्यान्डर्ड (एआईएस)-१९७ मा आधारित रहेर तय गरिएको हो।
भारत एनसीएपी कार्यान्वयनमा आएसँगै भारतमा बनेका कारको सुरक्षा सुधारमा सहयोग पुग्न विश्वास कार उत्पादकहरूले गरेका छन्। महिन्द्रा र टाटा मोटर्सले भारत एनसीएपी तय भएर लागु हुनु उत्कृष्ट कदम भएको बताएका छन्। टाटा मोटर्स र महिन्द्राका भारतमै उत्पादित अधिकांश कारले यसअघि ग्लोबल एनसीएपीमा फाइभ स्टार रेटिङ पाएका छन्।
भारत एनसीएपी अन्तर्गत सुरक्षा परीक्षण विभिन्न सिनारियोका आधारमा हुने र त्यसको रेटिङ एकदेखि पाँचसम्ममा तय हुनेछ। क्रास टेस्ट फ्रन्टल, साइड र पोल-साइडको परीक्षण ६० किलोमिटर प्रतिघण्टाको गतिमा हुनेछ। अन्य एनसीएपीमा जस्तै भारत एनसीएपीमा पनि सवारी, एडल्ट तथा चाइल्ड सेफ्ट सूचकांकहरूको अलग अलग परीक्षण हुनेछ।
के हो एनसीएपी?
एनसीएपी अर्थात् न्यू कार असिस्मेन्ट प्रोग्राम सर्वप्रथम अमेरिकाबाट सुरुवात भएको हो। सुरुमा कारको सुरक्षा सम्बन्धमा अमेरिकाको ‘नेसनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसन’ परीक्षण गरेको थियो।
हाल एनसीएपी प्रोग्रामका रुपमा विश्वभर परीक्षण हुँदै आएको छ। एनसीएपी एएसईएएन, युरो, ग्लोबल, एएनसीएपी, ल्याटिनलगायत विभिन्न नाममा मापदण्ड बनेर कारको सुरक्षा परीक्षण हुँदै आएका छ। एनसीएपीमा सम्बन्धित देशको सरकार वा गैरनाफामुलक संस्थाले लगानी गर्दै आएका छन्।
पछिल्लो पटक संसारभर करिब सर्वस्वीकार्य रहेको ग्लोबल एनसीएपी गैरनाफामूलक संस्था हो, जुन २०११ मा स्थापना भएको हो। ग्लोबल एनसीएपी संसारभर प्रचलनमा रहेका एनसीएपी नियमहरूलाई आधार बनाएर तयार गरिएकाले यसलाई तुलनात्मक रुपमा विकसित मानिन्छ।
यता युरो एनसीएपी भने १९९७ मै यूके डिपार्टमेन्ट फर ट्रान्सपोर्टअन्तर्गतको ट्रान्सपोर्ट रिसर्च ल्याब्रोटोरीले स्थापना गरेको थियो। यो नियमलाई केही युरोपेली देशका सरकार तथा युरोपियन युनियनले समर्थन गरेका थिए।