शुक्रबार, जेठ ४ गते २०८१    
images
images

सकियो फिर्के खोलाको सीमांकन, घरसहितका १४७ अतिक्रमित संरचना हटाएर करिडोरका रूपमा विकास गरिने

images
सोमबार, भदौ ४ २०८०
images
images
सकियो फिर्के खोलाको सीमांकन, घरसहितका १४७ अतिक्रमित संरचना हटाएर करिडोरका रूपमा विकास गरिने

फिर्के खोलामाथि निर्माण गरिएका अतिक्रमित संरचना हटाउनका लागि दोस्रो चरणमा ३५ दिने सूचना जारी गरिने पोखरा महानगरले जनाएको छ। अतिक्रमित संरचना हटाएर महानगरले यसलाई फिर्के करिडोरको रूपमा विकास गर्ने योजना ल्याएको छ।

images
images

कास्की- पर्यटकीय सहर पोखरास्थित बजारको मध्य भाग भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउने गरी सुरु गरिएको सीमांकनको काम सकिएको छ।

images
images
images

पोखरा महानगरपालिकाले खोलाको प्राकृतिक बहाव पत्ता लगाउने उद्देश्यले गत साउन ३ गतेदेखि खोलाको सीमांकन गर्न सुरु गरेको थियो। महानगरले एक महिना लगाएर काम गरेको हो। यही भदौ ३ गते सीमांकनको सबै काम सम्पन्न भएको हो।

images

पोखरा-१७ बैदामस्थित गाईघाटबाट सुरु गरिएको सीमांकन कार्य पोखरा-१८ को अधेँरीकुनामा दुईवटा खोल्सी जोडिएको ठाउँभन्दा माथिसम्म पुगेर सकिएको सीमांकन कार्यको नेतृत्व गरेका महानगरपालिकाका सर्वेक्षक वासुदेव पौडेलले बताए।

images
images

पोखराको मध्यभाग भएर बग्ने फिर्केमा मानवीय अतिक्रमण बढेको छ। खोलाको मापदण्डभित्र व्यक्तिगत तथा सार्वजनिक भवन बनाइएका छन्। सीमांकनका क्रममा खोलामाथि घरघरै बनेको पाइएको पौडेलले बताए।

images
images

नापजाँचका क्रममा खोलामाथि अविश्वासिलो ढंगले अतिक्रमण गरिएको, स्थायी संरचना निर्माण गरिएको र प्रदूषणलगायतका अवस्था भेटिएको उनले बताए। 'महानगरले हामीलाई फिर्केको सीमांकनको जिम्मेवारी दिएको थियो। सो जिम्मेवारी सबैको साथ र सहयोगबाट सम्पन्न गरेका छौँ। फिर्के अतिक्रमण गरी खोलामाथि सामाजिक संघसंस्था, विद्यालय तथा व्यक्तिगत घर तथा संरचना बनाएको पाइयो', उनले भने।

पौडेलले सीमांकन भएको क्षेत्रमा पाँच सय ८४ पिल्लर तथा दुई सय ३९ चिह्न खोलाको दायाँबायाँ गाडिएको बताए। खोलाको नापजाँचका क्रममा एक सय ४७ भवन मापदण्ड बाहिर निर्माण गरिएको पाइएको बताइन्छ। फिर्केको अतिक्रमण गरी २५ वटा सामाजिक संघ संस्थाका भवन, ८७ कच्ची र ३५ व्यक्तिगत पक्की घर निर्माण गरिएको पाइएको सर्वेक्षक पौडेलले बताए। अतिक्रमण गरेर निर्माण गरिएको संरचनामध्ये केहीको आधा भाग नै परेको बताइन्छ।

बर्खाको समयमा फिर्के खोलामा सीमांकनको काम धेरैनै जटिल भएको बताइन्छ। कतिपय स्थानमा चिह्न लगाउनै गाह्रो भएकाले थप वास्तविक सीमांकनका लागि डीजीपीएस (सेटलाइट) प्रविधि राम्रो हुने बताइन्छ। 'हामीले अहिले टेपबाट नाप जाँच गरेका छौँ। डीजीपीएस प्रविधिले मापन गर्नसकेको खण्डमा एक इनच पनि दायाँबायाँ हुँदैन। अझ सही डाटा प्राप्त हुन्छ, यसबारेमा महानगर प्रमुखसँग छलफल गर्नेछौँ', पौडेलले भने।

महानगरले पहिलो चरणमा खोला भागको यकिन गरिसकेपछि दिगो पर्यटन विकास परियोजनाअन्तर्गत फिर्के खोलाको संरक्षण, सम्बर्द्धन र विशेष सौन्दर्यीकरणको कार्यक्रम सुरु गर्ने महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए। उनका अनुसार फिर्के खोलामाथि निर्माण गरिएका अतिक्रमित संरचना हटाउनका लागि दोस्रो चरणमा ३५ दिने सूचना जारी गरिने छ। महानगरले यसलाई फिर्के करिडोरको रूपमा विकास गर्ने र दुवैतर्फ साइकल लेनसहितको पूर्वाधार निर्माण गरिने जनाएको छ।

'दिगो पर्यटन विकासको अवधारणामा फिर्के खोलाको दुवैतर्फ साइकल लेनसहितको फुट ट्रयाक बनाइने छ। यो पोखराको पर्यटन गन्तव्य बन्नेछ, यसको संरक्षण, विकास र सौन्दर्यीकरण एक साथ गरिनेछ', प्रमुख आचार्यले भने।

महानगरका अनुसार फिर्केमा अतिक्रमित संरचना हटाइसकेपछि मात्र पर्यटन विकास परियोजना लागु हुनेछ। फिर्के खोलाको सीमांकन टोलीमा इन्जिनियर, सर्वेक्षक र अमिनसहित ४० जना परिचालित भएका थिए। पोखरा-१८ स्थित सराङकोटको फेदी अँधेरीकुनाबाट सुरु भएर प्रस्याङ, मालेपाटन, बुलौँदी हुँदै फिर्केखोला फेवातालमा गएर मिसिन्छ। रासस


प्रकाशित : सोमबार, भदौ ४ २०८००५:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend