शुक्रबार, जेठ ४ गते २०८१    
images
images

धारापानीमा एक करोड ११ लाख लागतमा खानेपानी आयोजना निर्माण

images
आइतबार, भदौ ३ २०८०
images
images
धारापानीमा एक करोड ११ लाख लागतमा खानेपानी आयोजना निर्माण

यसअघि सार्वजनिक धारामार्फत खानेपानी वितरण हुने आयोजनाको संरचना जीर्ण हुदाँ नियमित खानेपानी आपूर्ति नहुने समस्या थियो। धारापानीका बासिन्दा खानेपानी लिन, स्नान र कपडा धुन पँधेरा भन्ने ठाउँमा पुग्ने गर्दथे।

images
images

म्याग्दी- जिल्लाको धवलागिरि गाउँपालिका-७ धारापानीमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ। खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले धारापानीमा निजी धारा जडित खानेपानी आयोजना निर्माण भएको हो। एक करोड रूपैयाँभन्दा बढीको लागतमा निर्माण भएको आयोजनाबाट दुई सय १४ घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको धारापानी खानेपानी आयोजनाको उपभोक्ता समितिका अध्यक्ष फतबहादुर खत्रीले जानकारी दिए।

images
images
images

'आर्थिक वर्ष २०७३/७४ मा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भएकामा २०७७/७८ देखि निर्माण सुरु भएको थियो', उनले भने, 'यो आयोजनाको काफलडाँडा र बगरको स्किम यसअघि नै निर्माण सकिएको थियो। धारापानीमा सबै घरमा धारा जडान गरेर खानेपानी वितरण भएको छ।'

images

धारापानीकी मञ्जु थापाले घरमै जडान भएको धारामा नियमित खानेपानी आपूर्ति हुन थालेपछि समयको बचत र झन्झट हटेको बताइन्। 'पहिले सार्वजनिक धाराबाट पानी ल्याउन पालो कुर्नुपर्ने थियो', उनले भनिन्, 'घरमै धारा बनेपछि खानेपानीका कारणले विवाद हुन छाडेको छ।'

images
images

यसअघि सार्वजनिक धारामार्फत खानेपानी वितरण हुने आयोजनाको संरचना जीर्ण हुदाँ नियमित खानेपानी आपूर्ति नहुने समस्या थियो। धारापानीका बासिन्दा खानेपानी लिन, स्नान र कपडा धुन पँधेरा भन्ने ठाउँमा पुग्ने गर्दथे। उपभोक्ताको श्रमदानबाहेक एक करोड ११ लाख ९८ हजार दुई सय ४२ रूपैयाँको लागतमा आयोजना निर्माण भएको खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले जनाएको छ। कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले अनुमानित लागतभन्दा कम खर्चमा आयोजना निर्माण सकिएको जानकारी दिए।

images
images

'एक करोड ६५ लाख रूपैयाँ लागत अनुमान गरिएको थियो', उनले भने, 'ठेक्कामार्फत काम गर्ने हिसाबले तयार पारिएको लागत अनुमानमा उपभोक्ताले काम गर्दा कर, फिजिकल, आर्थिक प्रशासनिक परामर्श शीर्षकको खर्च घटेको छ।' कुल लागतको २० प्रतिशत बराबर उपभोक्ताले श्रमदान गरेका छन्।

कोतखोलाको उत्तिसिनेमा मुहान रहेको आयोजनाको मुख्य पाइप लाइनमा ७५ एमएमको नौ हजार चार सय ९० मिटर पोलिथिन र एक हजार तीन सय आठ मिटर जिआइ पाइप जडान भएको छ। बीस हजार एक सय ३५ मिटर शाखा पाइप लाइन बनाइएको छ। मुख्य र शाखा पाइप लाइन खन्ने र पुर्ने काममा २९ लाख ७४ हजार आठ सय ९५ रूपैयाँ, पाइप र फिटिङका सामान खरिदमा २४ लाख ३२ हजार चार सय ६० रूपैयाँ खर्च भएको छ।

एक सय र २० घनमिटर क्षमताको रिजर्भ ट्यांकी, सामग्री भण्डारगृह, एकवटा डिसी र एकवटा विपिटीसहितका संरचना बनाउन ५७ लाख ९० हजार आठ सय ८६ रूपैयाँ खर्च भएको कार्यालयले जनाएको छ। रासस


प्रकाशित : आइतबार, भदौ ३ २०८००४:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend