काठमाडौं- एमसीए नेपालले प्रसारण लाइन निर्माणको पूर्व तयारीलाई तीव्र बनाएको छ। अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत बन्ने प्रसारण लाइनका लागि आवश्यक जग्गा अधिग्रहणको प्रक्रिया अघि बढेको हो।
प्रसारण लाइन पर्ने क्षेत्रमा जग्गा अधिकग्रहणको सूचना प्रकाशित भइरहेको छ। पाल्पा, नवपरासीसँगै शुक्रबार मकवानपुर जिल्लामा पर्ने जग्गा अधिग्रहणको सूचना प्रकाशित भएको छ।
एमसीसीअन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल) द्वारा सञ्चालित विद्युत प्रसारण लाइन निर्माणका लागि मकवानपुरमा जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको हो।
४०० केभी विद्युत प्रसारण आयोजनाअन्तर्गत रातामाटे सबस्टेसनदेखि नयाँ हेटौंडा सबस्टेसन खण्डमा पर्ने जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएको छ। त्यसका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबार सूचना जारी गर्दै अधिग्रहण गरिने जग्गाको विवरण सार्वजनिक गरेको छ।
प्रशासनको सूचनाअनुसार थाहा नगरपालिका, कैलाश गाउँपालिका, राक्सिङ गाउँपालिका तथा हेटौंडा उपमहानगरपालिकामा पर्ने जग्गा, घरटहरासहित रुखविरुवा समेतको स्वामित्व फरक परेको भए वा छुटेको भए सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दाबी गर्न सकिने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ।
साथै जग्गा अधिग्रहण गर्नु नपर्ने भए पनि कारणसहित ७ दिनभित्र जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयमा उजुरी गर्न सकिने सूचनामा उल्लेख छ।
तोकिएको म्याद भित्र निवेदन नदिइ म्याद गुजारेमा कानून बमोजिम हुने सूचनामा उल्लेख छ। अमेरिकी अनुदान आयोजना अन्तर्गतको एमसीसी सम्झौतामा नेपालले २०७४ सालमा हस्ताक्षर गरेको थियो।
एमसीसीअन्तर्गत ३ सय १५ किलोमिटर लामो ४०० केभी क्षमताको विद्युत् प्रसारण लाइन, तीनवटा सबस्टेसन तथा पूर्वपश्चिम राजमार्गको ७७ किलोमिटर स्तरोन्नति हुनेछ। त्यसका लागि जग्गा प्राप्ति, रूख कटान तथा निर्माण क्षेत्रमा पहुँचका व्यवस्थाहरू सम्बन्धी काम भइरहेका छन्।
२०२३ को अगस्टमा एमसीसीका निर्माण काम सुरु गरेर पाँच वर्ष (सन् २०२८ को अगस्ट महिना) भित्र ती सबै सम्पन्न गर्ने लक्ष्य छ।