आइतबार, असोज ६ गते २०८१    
images
images

आम्दानीको राम्रो स्रोत बन्दै दुनाटपरी

images
बिहीबार , साउन ३२ २०८०
images
images
आम्दानीको राम्रो स्रोत बन्दै दुनाटपरी

पातबाट निर्माण गरिएको दुनाटपरी स्थानीय बजारसँगै नारायणगढ, पोखरा, काठमाडौं, बुटवललगायतका सहरमा निर्यात हुने गरेको छ।

images
images

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका-९ वसन्तपुरका स्थानीयवासीले वनमा खेर जाने सालको पातबाट राम्रो आम्दानी गर्दै आएका छन्। नजिकैको वनबाट सालको पात टिपेर फुसर्दका समयमा घरमा नै बसेर दुनाटपरीका लागि पात तयार गर्ने गरेका छन्।

images
images
images

मध्यविन्दु -९ का वृद्ध गोरे कुमालले दुनाटपरी लगाएर जीविकोपार्जन गर्दै आएका छन्। उमेरले ७० काटिसकेका उनले भने, 'वनमा आफू जान सक्दिन, बुहारीहरुले ल्याएका पातबाट दुनाटपरी लगाएर यो उमेरमा आफूले सक्ने काम गर्दै आएको छु।'

दुनाटपरीको आम्दानीबाट घरखर्च चलाउन सहज भएको उनले बताए। 'आफूले जानेको सीपलाई घरमा नै बसेर पनि सदुपयोग गर्न सकिँदोरहेछ ,जाँगर र मन हुनुपर्‍यो', उनले भने, 'वृद्ध उमेर भए पनि घरखर्च चलाउन छोरा बुहारीलाई गुहार्न परेन। झन् उनीहरुले कमाएको बचत हुन्छ, आफ्नो औषधिमुलो गर्न खर्च पुगेको छ।'

यसरी तयार पारेको सामग्रीलाई व्यापारीले घरघरै लिन आउने हुँदा यहाँका स्थानीय यस कामलाई नै आम्दानीको स्रोत बनाएका छन्। यसबाट उनीहरुले आफ्नो घरका लागि आवश्यक सामानका खर्चसमेत टरेको स्थानीयवासी महिला अमृता मानन्धरले बताइन्। 'घर नजिकै वन रहेकाले टाढा जानु पनि नपर्ने र घरको काम सकेर पनि यो काम गर्न सकिने भएकाले महिलालाई सहज भएको छ', उनले भनिन्।

images

यस टोलका महिला वन खुलेको समयमा जाने र पात टिप्ने गर्छन्। एक सय टपरीको एक मुठा हुन्छ। एक मुठाको एक सय ५० रूपैयाँ प्राप्त हुने स्थानीयवासीको भनाइ छ।

सामुदायिक वनबाट पात टिपेरनै स्थानीयवासीलाई जीविकोपार्जन गर्न सहज भएपछि वनमा पात टिप्नका लागि छुट्टै समय छुट्याएको जनप्रतिभा सामुदायिक वनका अध्यक्ष लोकबहादुर कुमालले बताए। 'वनको संरक्षणलाई पनि ध्यानमा राखेर सालको पात टिप्नका लागि दैनिक समय निर्धाराण गरेका छौँ', उनले भने।

विभिन्न पूजा, विवाह, व्रतबन्धलगायतका शुभ कार्यमा शुद्ध मानिने भएकाले पनि सालको पातबाट बनेका टपरी, दुनाको माग बढ्दो छ । पातबाट निर्माण गरिएको दुनाटपरी स्थानीय बजारसँगै नारायणगढ, पोखरा, काठमाडौं, बुटवललगायतका सहरमा निर्यात हुने गरेको स्थानीयवासीले बताए। रासस


प्रकाशित : बिहीबार , साउन ३२ २०८००६:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend