आइतबार, असोज ६ गते २०८१    
images
images

दक्षिण एसिया र चीनबीच समृद्धि पुलको रूपमा नेपालले महत्त्वपूर्ण भूमिका निभाउन सक्छ : अध्यक्ष ढकाल

images
बुधबार, साउन ३१ २०८०
images
images
दक्षिण एसिया र चीनबीच समृद्धि पुलको रूपमा नेपालले महत्त्वपूर्ण भूमिका निभाउन सक्छ : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीका लागि नयाँ क्षेत्र पहिचान गर्ने, पर्यटन प्रवर्द्धन, आपसी व्यापार अभिवृद्धि र औद्योगिक साझेदारीलाई थप सुदृढीकरणका लागि समेत आह्वान गरे।

images
images

चीन- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चीन र दक्षिण एसियाबीचको पुलको रूपमा रहेकाले यो क्षेत्रको समृद्धिमा नेपालले महत्त्वपूर्ण भूमिका निभाउन सक्ने बताएका छन्।

images
images
images

चीनको कुन्मिङमा आयोजित १६औँ चीन-दक्षिण एसिया व्यापार मञ्चको अध्यक्षको रूपमा समेत सम्बोधन गर्दै अध्यक्ष ढकालले चीन र दक्षिण एसियाली क्षेत्रबीच वृहत्तर सहयोगका लागि थप सहकार्य तथा साझेदारी सुदृढ गर्नुपर्ने बताएका हुन्।

सम्बोधनमा अध्यक्ष ढकालले विश्व परिदृश्यमा देखिएका जटिलतालाई सामना गर्दै अघि बढ्न क्षेत्रीय तथा उपक्षेत्रीय अन्तरनिर्भरतालाई थप बलियो बनाउनुपर्ने पनि उल्लेख गरे। साझा आर्थिक लाभ र आपसी लगानी वृद्धिमा आधारित सहकार्यले मात्र अहिलेका चुनौतीहरूलाई समाधान गर्न सकिनेमा अध्यक्ष ढकालले जोड दिए।

अध्यक्ष ढकालले लगानीका लागि नयाँ क्षेत्र पहिचान गर्ने, पर्यटन प्रवर्द्धन, आपसी व्यापार अभिवृद्धि र औद्योगिक साझेदारीलाई थप सुदृढीकरणका लागि समेत आह्वान गरे। विश्व अर्थतन्त्रमा देखिएका अनिश्चितताहरू कम गर्न, द्वन्द्व र जलवायु परिवर्तनले सृजना गरेको महामारी र आपूर्ति शृङ्खलामा देखा परेका अवरोधहरूबाट जोगाउन सक्ने बलियो रणनीति तयार गर्न आपसी सहकार्य बढाउनुपर्ने पनि अध्यक्ष ढकालले बताए।

images

दक्षिण एसियाली क्षेत्रमा बजारको पर्याप्त सम्भावना रहेपनि कमजोर यातायात तथा आपूर्ति पूर्वाधार र व्यापार सहजीकरण नहुँदा आर्थिक वृद्धि प्रभावित भएको अध्यक्ष ढकालको भनाइ थियो ।  

दक्षिण एसियाको जनसाङ्ख्यिक लाभांश उपयोग गर्ने तथा प्रचुर प्राकृतिक स्रोतको उपयोग गर्न पनि चीन र दक्षिण एसियाली क्षेत्रले ढिलाइ गर्न नहुने अध्यक्ष ढकालको धारणा थियो। यसबाट दक्षिण एसियाली मुलुकहरू र चीनबीचको अन्तर क्षेत्रीय लगानी प्रवाह र व्यापार बढाउन सकिने पनि अध्यक्ष ढकालले उल्लेख गरे। 

डिजिटल अर्थतन्त्रमा एकाकार हुने तथा आपूर्ति र औद्योगिक श्रृखलाहरुको साझेदारी, कृषि, पर्यटन, नवीकरणीय ऊर्जा, खानी, पूर्वाधार, आइसिटी, जडीबुटी र औषधि उत्पादन लगायतका महत्त्वपूर्ण क्षेत्रहरूमा चीनको विशेषज्ञतालाई  प्रविधि र लगानीको हस्तान्तरणबाट नेपाल सहित दक्षिण एसियाले लाभ लिन सक्ने अध्यक्ष ढकालले उल्लेख गरे।

दक्षिण एसिया र चीनबीचको आर्थिक साझेदारी बढाउन उद्योग वाणिज्य महासंघको प्रतिबद्धता दोहोर्‍याउँदै अध्यक्ष ढकालले नेपालमा रहेका लगानी अवसरहरूको उपयोग गर्न पनि लगानीकर्ताहरुलाई आग्रह गरे।

मध्यम वर्गीय जनसङ्ख्याको वृद्धि, बहुराष्ट्रिय कम्पनीहरूले गरेको उच्च नाफा र चीन तथा भारतका बजारसम्मको सहज पहुँचले लगानीकर्ताहरूका लागि नेपाल आकर्षक लगानी गन्तव्य रहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे।

सम्बोधनमा अध्यक्ष ढकालले चीन-दक्षिण एसिया व्यापार मञ्चले चीन, दक्षिण एसिया र नेपालबीचको आर्थिक सम्बन्धलाई प्रगाढ बनाउन, व्यावसायिक संस्था र सरकारी निकायहरूबीचको सम्बन्ध प्रगाढ बनाउन गतिशील माध्यमको रूपमा काम विश्वास समेत व्यक्त गरे।


प्रकाशित : बुधबार, साउन ३१ २०८०१२:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend