काठमाडौं- भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको छ। जसको असर नेपालमा समेत पर्न थालेको छ। तत्काल नै ठूलो असर नपर्ने भएपनि व्यवसायीले चामल अभाव भएको बताउँदै मूल्य बढाइरहेका छन्।
भारत सरकारले यही जुलाई २० मा गैरबासमती सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो। आन्तरिक बजारमा चामलको मूल्यमा वृद्धि भएपछि भारतीय सरकारले चामलको निर्यातमा रोक लगाउने निर्णय गरेको हो। यो वर्षको मनसुनमा पर्याप्त पानी नपरेपछि आगामी वर्ष उत्पादन घट्ने र चामलको मूल्यमा उछाल आउने खतरा देखेर नै भारतले प्रतिबन्ध लगाएको हो।
पछिल्लो केही समयदेखि नै भारतले चामल निर्यातलाई निरुत्साहित गरिरहेको थियो। जसका लागि भारतले २० प्रतिशत निर्यात कर लगाएको थियो। भारतीय बजारमा पछिल्लो समय चामलको मूल्य ११ प्रतिशतभन्दा बढीले बढेको छ। पछिल्लो दुई वर्षमा कयौँ उपभोग्य वस्तुको मूल्य वृद्धि हुँदा पनि मत्थर रहेको चामल पछिल्लो समय उकालो लागेको थियो।
नेपालमा भारतबाट चामल आयात हुँदै आएको छ। भारतले प्रतिबन्ध लगाएकाले आन्तरिक बजारमा अझै थप मूल्यवृद्धि तथा अभाव हुनसक्ने जोखिम रहेको छ।
नेपालमा समेत व्यवसायीले अहिले चामल प्रतिबोरा दुई सय रुपैयाँसम्म बढाएका छन्। चामलसँगै चिनीको मूल्य पनि बढ्दो छ। दसैँ तथा तिहारजस्ता पर्वमा नै चामल अभाव हुन सक्ने आँकलनसहित सरकारले भारतसँग चामल, धान तथा चिनी माग्दै पत्राचार गरेको हो।
उद्योग मन्त्रालयमार्फत परराष्ट्र मन्त्रालय हुँदै धान, चामल र चिनी माग गरिएको हो। मन्त्रालयका अनुसार १० लाख टन धान, १ लाख टन चामल र ५० हजार टन चिनी माग गरिएको छ। चामल निर्यातमा भारतको प्रतिबन्धसँगै बजारमा जुनसुकै दिन चामल अभाव हुनसक्ने भन्दै समयमा नै सचेत भएको मन्त्रालयको दाबी छ।
'एक त नेपालीहरूको ठूलो पर्व दसैँ तथा तिहार र छठहरू आउँदै छ। यो बेला चामल तथा चिनीको खपत बढी हुने हुन्छ। बजारमा महँगी बढ्नसक्ने हुँदा जनतालाई सहुलियत दरमा यी वस्तु उपलब्ध गराउन पनि भारतसँग चामल, धान तथा चिनी माग गरिएको हो,' मन्त्रालयका एक सहसचिवले भने, 'भारतले चामल निर्यातमा लगाएको प्रतिबन्धको असर तत्काल नै नपर्नु पर्ने हो। प्रतिबन्धको असर २/३ महिनापछि मात्रै देखिने हुँदा बेलैमा यी वस्तु माग गरिएको हो।'
यता सरकारी गोदाममा अन्न अभाव भइसकेको छ। भारतले लगाएको प्रतिबन्ध लामो समय जाने र यो वर्ष धान उत्पादन पनि घट्ने अनुमानसँगै धान तथा चामल माग्दै पत्राचार भएको हो।