आइतबार, असोज ६ गते २०८१    
images
images

नदी कटानले सीमामा बग्दैछ नेपाली भूमि, दीर्घकालनी समाधानमा छैन सरकारको चासो

images
बुधबार, साउन ३१ २०८०
images
images
नदी कटानले सीमामा बग्दैछ नेपाली भूमि, दीर्घकालनी समाधानमा छैन सरकारको चासो

लगातार नदी कटानले गाउँ नै जोखिममा रहेपनि सरोकारवाला निकाय भने सीमाको माटो जोगाउने र बस्ती बचाउने सघन उपायमा लागेको छैन। एक सय ४५ परिवारको बसोबास रहेको कुतियाकवरमा नदी कटानकै कारण अहिले ४२ परिवारमा समेटिएको छ।

images
images

महेन्द्रनगर- ४२ परिवारको बसाइँ रहेको कुतियाकवर दोधारा चादँनी नगरपालिकाको विकटसँगै नेपाल-भारतको सीमासित जोडिएको बस्ती हो। पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसित जोडिएको छ। बीसको दशकमा बस्ती बसेको कुतियाकवर लगातार नदी कटानले गाउँ नै जोखिममा रहेपनि सरोकारवाला निकाय भने सीमाको माटो जोगाउने र बस्ती बचाउने सघन उपायमा लागेको छैन।

images
images
images

विसं २०७४ मा जोगबुढा नदीमा झोलुंगे पुल बनेपछि नगरसित जोडिएको कुतियाकवरमा बर्सेनि जोगबुढा र महाकाली नदीले जमिन कटान गरिरहँदा तटबन्ध निर्माणका लागि पहल भएको देखिँदैन। 'पुरानो र सानो संख्यामा हामी दशकौँदेखि बसिरहेको भए पनि सुविधाका नाममा सरकारले आफ्नो भूमि बचाउन सक्ने हैसियत देखाएन।' स्थानीय टेकबहादुर सुनारले भने, 'दुई नदीको कटानले कुतिकवर मात्रै बग्ने होइन, दक्षिणतर्फ यहाँ जोगबुढा नदी सीमा नदी बन्ने चुनौती थपिएको छ।'

दोधारा चादँनी नगरपालिका-१० का वडाध्यक्ष चन्द्रबहादुर सिंहले कुतियाकवर सीमा बस्ती करिब ५० बिघा क्षेत्रफलमा फैलिएको बताए। 'दुवैतर्फ कटान हुँदा बर्सेनि बस्ती साँघुरिदै गएको छ', उनले भने, 'हिजोआज पनि बस्तीको पश्चिमतर्फ महाकाली नदीले नियमित कटान गरिरहेको छ।' सो क्षेत्रको नदी कटान नियन्त्रणका लागि नगरपालिका र दातृ निकायको आर्थिक सहयोगमा अस्थायी तटबन्ध निर्माणका लागि पहल भइरहेको अध्यक्ष सिंहको भनाइ थियो।

'अस्थायी तटबन्धले कटान न्यूनीकरण हुन्छ की भन्ने आशा हो,' उनले भने, 'वर्षामा हरेक वर्ष कुतियाकवर डुबानको चपेटामा पनि पर्छ।' वडाध्यक्ष सिंहले नदी कटानकै कारण सीमा स्तम्भ नं २२ लामो समयदेखि हराइरहेको बताए। 'कुतियाकवरमा अहिले २१ नम्बर पिल्लर छ', उनले भने, 'नदी कटानकै कारण २२ नम्बर पिल्लर भएको ठाउँमा अहिले महाकाली बग्छ।'

images

कुतियाकवर बस्ती पारी सीमामा भारतको बंगाली कलौनी पर्छ। बस्तीमा नेपाल-भारत सीमा स्तम्भ भए पनि दशगजा क्षेत्र भने खाली छैन। कुनै बेला सीमा र राष्ट्रियताको विषयमा यहाँको कुतियाकवरदेखि कालानीसम्म अभियानसमेत सञ्चालन गरिए पनि अहिले कुतियाकवर बगेर सीमा सर्ने अवस्थामा आउनलाग्दा पनि कोही नबोलेको स्थानीयवासीको गुनासो थियो।

'यसअघि त यहाँ जनप्रतिनिधिले नगरको रिङरोड नै बनाउने आश्वासन दिए।' स्थानीयवासी भीम सुनारले भने, 'विकासका नाउँमा बस्तीको कच्ची सडकमा ग्राइभेलसम्म हालिएको छैन।' विसं २०२९देखि नै बस्ती कटान र डुबानको चपेटामा पर्दै आएको बताउँदै उनले बस्तीसँग सीमा जोगाउन सरकार सचेत हुनुपर्ने बताए।

'एक सय ४५ परिवारको बसोबास रहेको कुतियाकवरमा नदी कटानकै कारण अहिले ४२ परिवारमा समेटिएको छ,' वडाध्यक्ष सुनारले भने, '२१ नम्बर पिल्लरबाट जोगबुढा नदीबीचको गाउँ सधैँ अभावका बीच सीमा कुरेर बसिरह्यो।'

बस्तीमा कुतियाकवर सामुदायिक विपद् व्यवस्थापन समिति पनि छ वर्षअघि बनेको र त्यसको नेतृत्व गाउँका टेकबहादुर सुनारले गर्दै आएका छन्। 'दुईदिन अघिको बाढीले पनि बस्ती डुबानमा पर्दा जोखिम मोलेरै पनि स्कूल गएका बालबालिका घर फर्किएँ', टेकबहादुरले भने, 'यसअघि बस्ती डुब्दा ज्यान जोगाउन अम्बिका मावि परिसरमा पुगेका थियौँ।'

दातृ निकाय र दोधारा चादँनी नगरपालिकाको सहयोगमा कुतियाकवरमा ‘सेफ हाउस’ निर्माण हुँदैछ भने विपद् व्यवस्थापन समितिलाई लाइफ ज्याकेट, बोटलगायत उद्धार सामग्रीसमेत उपलब्ध गराइएको समितिका अध्यक्ष सुनारको भनाइ थियो।

'बाढी आउँदा हुने क्षति कम गर्न र तत्काल उद्धार तथा व्यवस्थापनमा स्थानीय प्रशासन सक्रिय भए पनि दीर्घकालीन रुपमा बस्ती जोगाउने गरी योजना बनाउन पहल भएको देखिँदैन', उनले भने, 'कटानले बस्ती जोखिम मात्रै होइन सीमाको माटो पनि दिनदिनै नदीले बगाउँदैछ।' रासस


प्रकाशित : बुधबार, साउन ३१ २०८००९:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend