आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

म्याग्दीमा हराउँदै कोदोखेती, सिरु र झारले ढाकिए बारी

images
बुधबार, साउन ३१ २०८०
images
म्याग्दीमा हराउँदै कोदोखेती, सिरु र झारले ढाकिए बारी

काम गर्ने जनशक्ति नहुनु, खेताला खोजेर काम लगाए पनि धानको जस्तो मूल्य कोदोले नपाउँदा कोदो हराउँदै जान थालेको कृषकहरू बताउँछन्।

images
images

म्याग्दी- जिल्लाका लेकाली क्षेत्रका खेतमा धानका गाभा भरिन थालेका छन्। यस वर्ष पर्याप्त वर्षा नभएकाले जेनतेन रोपाइँ गरेका किसान रोपो (खेत) को स्याहारमा व्यस्त भए पनि उनीहरूले बारीमा कोदो रोप्न भने चासो दिएका छैनन्। 

images
images
images

कोदो उत्पादन हुने बारी बाँझै छन्। नेपालमा बर्सेनि करोडौँ रूपैयाँका कोदो आयात भइरहेको भए पनि कोदो उत्पादन हुने गाउँका बारी वनमाराले ढाकिएका छन्। कसैकसैले बारीका कान्ला र गरामा फलफूल खेती गरेका भए पनि अधिकांशका बारीमा सिरु फुलेको छ। 

images
images

म्याग्दीका ग्रामीण भेगबाट समेत कोदोखेती हराउँदै गएको छ। कुनै समयको महत्त्वपूर्ण खाद्यान्न बाली कोदो अहिले सहरी क्षेत्रका बालबालिकाका लागि मात्रै होइन, ग्रामीण क्षेत्रका वयस्कहरूका लागि समेत दुर्लभजस्तै बन्दै गएको छ।

images
images

कोदो फल्ने बारी थलिएका छन्। वनमारा र बोकेझारले बारी ढाकेको बेनी नगरपालिका-२ ज्यामरुककोटका हरि शर्माले बताए।करिब १० वर्षअघिसम्म १० मुरी कोदो उत्पादन हुने बारीमा अहिले मुस्किलले १० पाथी उत्पादन हुने गरेको उनले बताए। 'कोदो रोप्नै छाडे, कोदो रोप्ने बारीमा झारैझार छ, अनि कहाँबाट फलोस् कोदो?', स्थानीय ५७ वर्षीय शर्माले भने। उनका अनुसार कोदो लगाउने जग्गा बाँझै भइसकेको छ।

काम गर्ने जनशक्ति नहुनु, खेताला खोजेर काम लगाए पनि धानको जस्तो मूल्य कोदोले नपाउँदा कोदो हराउँदै जान थालेको कृषकहरूले बताएका छन्। रघुगंगा गाउँपालिका-६ पाखापानीका बलबहादुर शेरपुजाको घरमा पनि खेती गर्ने मानिस छैनन्। उनको परिवारमा श्रीमती, एक छोरा र बुहारी छन्। छोराले बेनी बजारमा व्यापार गर्छन् भने बुहारीले घरमा नै पसल गर्छिन्। वर्षौँ पहिलेसम्म मुरीका मुरी कोदो फलाउने उनको घरमा पछिल्लो समय एक दाना पनि छैन।

कोदो फलाउने रहर भएर पनि बुढेसकालमा खेती गर्न नसकेको उनले बताए। 'कोदो खाँदा के फाइदा हुन्छ भन्ने कुरा अहिलेकालाई थाहा छैन, कोदोले दिने बल धानको भातले कहाँ दिन्छ र?', उनले सम्झिए, 'हामी साना हुँदा कोदोको ढिँडो र तरकारीसँग एक पेट भरेपछि ज्यान बन्थ्यो, दिनभर काम गर्न सकिन्थ्यो।' अहिलेका युवाहरूले कोदोको महत्व नबुझेका कारण उनीहरूमा पाको पुस्ताको जस्तो बल नभएको र निरोगी पनि हुन नसकेको उनको भनाइ छ।

औषधीय गुण भएको तागतिलो खाद्यान्न मानिने कोदोको खेती गाउँघरतिर निकै कम हुँदै गएको मालिका गाउँपालिकाको ओखरबोटका ६४ वर्षीय भवीराज विकले बताए। कोदोको खेती गर्ने चलन कम हुँदै गएपछि उत्पादन पनि ह्वात्तै घटेको छ। कोदोको उत्पादन घटेसँगै यसको उपभोग पनि गाउँघरतिर कम हुँदै गएको स्थानीयले बताएका छन्। भएको कोदो पनि रक्सी पार्न (घरेलु मदिरा उत्पादन गर्न) का लागि प्रयोग हुन थालेपछि रोटी, ढिँडो, पिठो बनाएर खाने चलन हराउँदै गएको अर्मनका कृषक श्यामलाल सापकोटाले बताए।

गाउँघरमा कोदोको प्रयोग कम हुँदै गएको भए पनि सहरका होटलले भने कोदोका परिकारलाई नै आकर्षणका रूपमा राख्न थालेका छन्। होटलमा आउने पाहुनाहरूले बजारमा बेच्न राखिएको चामलभन्दा गाउँमा उत्पादित कोदोको परिकार खोज्ने र मूल्य पनि बढी तिर्ने गरेका बेनीको होटल यतीकी सञ्चालिका विमला गौचनले बताइन्।

त्यसैगरी गाउँगाउँमा सञ्चालित होमस्टे (घरबास) मा पनि कोदोको परिकारलाई प्राथमिकतामा राख्ने गरेको पाइएको छ। कोदोलाई खानाका रूपमा प्रयोग गर्नुपर्ने ठाउँमा घरेलु मदिरा बनाउन प्रयोग हुने गरेको छ। जिल्ला प्रहरी कार्यालयले घरेलु मदिरा उत्पादनमा कोदोको प्रयोगलाई रोक लगाएको छ। 

चिकित्सा विज्ञानले खाद्यान्नका रूपमा कोदोको प्रयोग गर्नु राम्रो हुने बताएको छ। चिनी र प्रोटिनको मात्रा कम हुने भएकाले सबै खालका मानिस र बिरामीका लागि कोदो राम्रो मानिने चिकित्सकको भनाइ छ। कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायतका तत्व पाइने ज्यामरुककोट स्वास्थ्यचौकीका चिकित्सक खगराज निउरे बताउँछन्।

तौल घटाउन, मुटु सम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन, स्वस्थ पेट बनाउन पनि कोदोलाई राम्रो मानिने उनको भनाइ छ। म्याग्दीको २० हजार चार सय ८२ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमध्ये पाँच सय हेक्टरमा कोदोखेती हुने गरेको जनाइएको छ। रासस


प्रकाशित : बुधबार, साउन ३१ २०८००९:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend