आइतबार, असोज ६ गते २०८१    
images
images

बाढीले विद्युतका पोल बगाउँदा तीन दिनदेखि अन्धकारमा कागबेनी

images
बुधबार, साउन ३१ २०८०
images
images
बाढीले विद्युतका पोल बगाउँदा तीन दिनदेखि अन्धकारमा कागबेनी

बाढीले पोल र तारमा क्षति पुर्‍याएकाले मर्मतका लागि अझै केही दिन लाग्ने प्रजिअ अनुप केसीले जानकारी दिए।

images
images

ढोरपाटन- मुस्ताङको बाढीग्रस्त क्षेत्र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा तीन दिनदेखि विद्युत् अवरुद्ध भएको छ। विद्युत् अवरुद्ध हुँदा स्थानीय अन्धकारमा रात बिताउन बाध्य भएका छन्।

images
images
images

आइतबार राति आएको बाढीले खोला किनारमा रहेका दर्जन बढी पोल बगाउँदा विद्युत् अवरुद्ध भएको हो। बाढीले विद्युतका पोलसँगै तार पनि बगाएकाले विद्युत् सञ्चालनका लागि पोल र तार मर्मतको काम भइरहेको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए। बाढीले पोल र तारमा क्षति पुर्‍याएकाले मर्मतका लागि अझै केही दिन लाग्ने उनले बताए। उनका अनुसार यस क्षेत्रमा विद्युत् वितरणको काम निलगिरी उपभोक्त सहकारीले गर्दै आएको छ।

'अहिले विद्युत् पूर्णरुपमा अवरुद्ध छ। सञ्चालनका लागि सहकारीले कामदार खटाएर मर्मतको काम गरिरहेको छ', प्रजिअ केसीले भने, 'उपभोक्ता सहकारीलाई भोलिका दिनमा कुनै दुर्घटना नहुने गरी प्रभावकारी रुपमा काम गर्न निर्देशन दिएका छौँ। उहाँहरुले अस्तीदेखि नै पोल र तार मर्मतको काम गरिरहनुभएको हो।' 

विद्युत् अवरुद्ध हुँदा कागबेनीका सयौँ नागरिक अन्धकारमा बस्न बाध्य भएको धावा दोर्जे गुरुङले बताए। 'अहिले बाढीपीडित कोही आफन्तकोमा आश्रय लिएर त कोही सुरक्षित स्थानमा अस्थायी गाँठ बनाएर बसेका छन्', उनले भने, 'फोन सम्पर्क गर्न पनि समस्या भइरहेको छ।'

images

खानेपानी सञ्चालनको तयारी

बाढीले खानेपानीका पाइपलाइन तथा धारा बगाउँदा अवरुद्ध बनेको खानेपानी आजदेखि सञ्चालनमा आउने गरी काम सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए। मंगलबारदेखि पारिको गाउँमा खानेपानी सञ्चालनमा ल्याइएको जानकारी दिँदै उहाँले आज साँझसम्म सबै ठाउँमा खानेपानी सञ्चालनमा आउने बताए।

प्रजिअ केसीका अनुसार अहिले स्थानीयले मूल र नजिकैको खोलाबाट पानी भरेर उपभोग गर्दै आएका छन्। बाढीले कागबेनीका २९ घर बगाएको छ भने १३ घरमा आंशिक क्षति भएको उनले जानकारी दिए। उनका अनुसार बाढीले चारपांग्रे सवारी दुई, मोटरसाइकल ३०, पशुचौपाया २५, एउटा पक्की मोटरेबल पुल, तीन काठेपुल, प्रभु बैंकको घर बगाएको थियो भने जनशान्ति माध्यमिक विद्यालयमा आंक्षिक क्षति पुर्‍याएको छ। रासस


प्रकाशित : बुधबार, साउन ३१ २०८००७:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend