आइतबार, असोज ६ गते २०८१    
images
images

बाढीले सडक र झोलुंगे पुल बगाउँदा मुस्ताङको यातायात सम्पर्कविच्छेद

images
मंगलबार, साउन ३० २०८०
images
images
बाढीले सडक र झोलुंगे पुल बगाउँदा मुस्ताङको यातायात सम्पर्कविच्छेद

जोमसोमदेखि थासाङ गाउँपालिकालाई जोड्ने सडक मार्फाखोलामा आउने बाढीका कारण दैनिकजसो अवरुद्ध हुने गरेको छ। प्रतिकूल मौसमका कारण जोमसोम-पोखरा हवाई उडान पनि बन्द भएको छ।

images
images

म्याग्दी- मुस्ताङको आन्तरिक र छिमेकी जिल्लाहरुसँग यातायात सम्पर्कविच्छेद भएको छ। बाढीले सडक र झोलुंगे पुल बगाएपछि मुस्ताङको एउटा पालिकादेखि अर्को पालिका तथा छिमेकी जिल्ला म्याग्दी हुँदै प्रदेश राजधानी पोखरा र संघीय राजधानी काठमाडौं जोड्ने सडक सम्बन्ध टुटेको हो।

images
images
images

प्रतिकूल मौसमका कारण जोमसोम-पोखरा हवाई उडान पनि बन्द भएको छ। मुस्ताङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने बेनी-जोमसोम सडक म्याग्दीको रघुगंगा गाउँपालिका २ र ३ को सिमानामा पर्ने बैसरी अधेरीखोला क्षेत्रको पहिरोका कारण साउन २० गतेदेखि बन्द छ।  

जोमसोमदेखि थासाङ गाउँपालिकालाई जोड्ने सडक मार्फाखोलामा आउने बाढीका कारण दैनिकजसो अवरुद्ध हुने गरेको छ। घरपझोङ गाउँपालिका-४ जोमसोममा कालीगण्डकीले कटान गरेर सडक भत्काएपछि जोमसोम-कागबेनी-मुक्तिनाथ सडक मंगलबार बिहानदेखि बन्द भएको छ। 

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा रहेको मोटरेबल र झोलुंगे पुल आइतबार राति कागखोलामा आएको बाढीले बगाएको थियो। मोटरेबल र झोलुंगे पुल बाढीले बगाएपछि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको साथै बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको छुसाङ, ताङ्वे गाउँसँग सडक सम्पर्कविच्छेद भएको हो। 

images

लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले चैलेमा कालीगण्डकी नदीको मोटरेबल पुलको पहुँचमार्ग बगाएको र चराङखोलाको काठको अस्थायी पुल बाढीले भत्काउँदा यातायात सम्पर्कविच्छेद भएको बताए।

'कागबेनी, छुसाङ र चराङखोलामा बाढीले सडक, पुल बगाएको र भत्काएको हुँदा उपल्लो मुस्ताङ आउने-जाने बाटो बन्द भएको छ', उनले भने, 'वर्षा रोकिएर बाढी आउन छाडेपछि सडक मर्मत र पुल बगाएको ठाउँमा डाइभर्सन बनाएर यातायात सञ्चालनको पहल गरेका छौँ।'

सडक अवरुद्ध हुँदा मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटक प्रभावित भएका छन्। खाद्यान्नलगायत दैनिक उपभोग्य सामान र निर्माण सामग्रीको ढुवानी हुन सकेको छैन। बाढी प्रभावित कागबेनीमा खानेपानी अभाव र विद्युत् आपूर्ति बन्द भएको छ। बाढीले विद्युत्का पोल र खानेपानीको पाइप बगाएको थियो। बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्ष रिनजिन गुरुङले खानेपानी र विद्युत् आपूर्ति सञ्चालन गराउन पहल भइरहेको बताए।

'क्षतिको मुचुल्का तयार पार्ने कार्यलाई पूर्णता दिएर आजदेखि बस्तीभित्र पसेको बाढी पन्छाउने, खानेपानी र विद्युत् मर्मत गर्ने केन्द्रित भएका छौँ', उनले भने, 'बाढी प्रभावितको राहत, व्यवस्थापन र पुनःनिर्माणको काम एकद्वार प्रणालीबाट गर्ने व्यवस्था मिलाएका छौँ।' रासस


प्रकाशित : मंगलबार, साउन ३० २०८०१२:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend